खुल्यो गड्डाचौकी नाका‚ अब विदेशी पर्यटक निर्वाध भारततर्फ जान पाउने

gadaachauki naka kanchanpur

कञ्चनपुर / नेपालको पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारततर्फ तेस्रो मुलुकका विदेशी पर्यटक निर्वाध जान पाउने भएका छन्।

भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि भनेर बन्द गरेको आगमन पुनः खुला गरेपछि उनीहरु भारततर्फ निर्वाध जान पाउने भएका हुन्।

Advertisement:gadaachauki naka kanchanpur

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गते विदेशी पर्यटकको आगमनका लागि प्रस्थान (डिपार्चर) खुला गरेको हो।

१० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती वनबासा अध्यागमन (इमिग्रेसन) कार्यालयले विदेशी पर्यटकको आगमन निषेध गरेको थियो।

भारतले कोरोना महामारीका वेला नेपालका केही सीमानाकामात्रै भारततर्फ जाने पर्यटकका लागि खुला गरेको थियो। गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भने भारतले रोक लगाएको थियो।

केन्द्रबाटै केही सीमानाकामात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला गर्ने निर्णयअनुसार त्यस वेलादेखि रोकिएको उनले बताए।

विदेशी पर्यटकका लागि सीमानाका खुला गरिएकाले पर्यटकलाई पठाउनका लागि भारतीय अध्यागमन कार्यालयले जानकारी दिएको कार्यालय प्रमुख भट्टले बताए।

“भारतीय अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या ३ वर्षदेखि ठप्प रहेको थियो”, कार्यालय प्रमुख भट्टले भने, “सीमानाका भारतले खुला गरेपछि पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा गरेका छौँ।”

भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि भने सीमानाका खुला रहेको थियो। भारतीय अध्यागमन कार्यालयबाट विदेशी पर्यटकलाई प्रवेश दिएसँगै पर्यटकलाई प्रस्थान अनुमति दिन शुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस् :