संस्कृति र पर्यटन नेपाली अर्थतन्त्रको खम्बा

डा. भरतप्रसाद बडाल, सदस्य : श्री पशुपति विकास कोष, सञ्चालक परिषद्
संस्कृति र पर्यटन नै नेपालको एकीकृत आर्थिक विकासको अग्रगामी रुपान्तरणको प्रमुख माध्यम मानेर यसको सफल कार्यान्यवनमा लागि परेका नेपालका एक विद्वान हुन् डा. भरतप्रसाद बडाल । श्रीपशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्यसमेत रहेका डा. बडाल नेपाली लेखन क्षेत्रका एउटा चम्किलो नक्षत्रका रुपमा पनि चिनिन्छन् ।
विक्रम सम्बत २०३३ साल भाद्र ३० गते काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वार्ड न. ८ बडालगाउँमा जन्मिएका उनी ललितपुरको लामाटारमा स्थायी बसोबास गर्दै आएका छन् भने डा. बडालले त्रिभुवन विश्वविद्यालयबाट २०७३ सालमा “नेपालको ग्रामीण विकासमा समाज कल्याणकारी संघ–संस्थाका आयामहरु (Dimensions of social Welfare Organizations in Rural Development of Nepal )” विषयमा विद्यावारिधि सम्मान हासिल गरेका हुन् ।
बाल्यकालमा आफूले अध्ययन गरेको काभ्रेको श्रीसरस्वती प्राथमिक विद्यालयलाई कहिल्यै नबिर्सने डा. बडालले आफ्नो परिवार बसाई सरेर ललितपुरमा आएपछि त्यहिँको श्रीमहेन्द्र भृकुटी माध्यमिक विद्यालय, श्रीसिस्नेरी माध्यमिक विद्यालय, काठमाडौंको श्रीरत्नराज्य माध्यमिक विद्यालयका साथै.एसएलसी परीक्षा पार गरेको ललितपुरकै श्रीटीकाविद्याश्रम माध्यमिक.विद्यालयहरुलाई आफ्नो शिक्षा आर्जनको आधारको रुपमा लिने गरेका छन् ।
त्यस्तै प्रविणता प्रमाणपत्र तह पुरा गरेको पिपुल्स क्याम्पस र व्यवस्थापन सङ्कायमा स्नातक तह पुरा गरेको पाटन क्याम्पसलाई आफ्नो शिक्षाको बलियो खम्बा नै मान्ने उनले ग्रामीण विकासका विषयमा स्नातकोत्तर तह त्रिभुवन विश्वविद्यालयबाट र समाज शास्त्रका विषयमा पाटन क्याम्पस र व्यवस्थापनतर्फ एम. बि. एस. त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट पुरा गरेका हुन् ।
नेपालको स्थानीय पर्यटन विकासमा विशेष दख्खल राख्ने डा. बडालसँग विद्यालय, बाल अधिकार, मानव अधिकार र सुशासनको क्षेत्रमा सक्रीय रुपमा काम गरेको लामो अनुभव छ । हाल विभिन्न विश्वविद्यालयहरुमा पर्यटन विकास र अनुसन्धान विधि प्राध्यापन गर्दै आएका उनी संस्कृत विश्वविद्यालयमार्फत पूर्वीय दर्शनमा आधारित “श्रीमद्भागवाद्गीतामा दिगो विकास (Sustainable Development in Shreemadbhagavadgeeta)” शीर्षकमा पुनःअध्ययन अनुसन्धान गर्दै आएका छन् ।
“Research Nepal Journal of Development Studies” नामक रिसर्च जर्नलको प्रमुख सम्पादक डा. भरतप्रसाद बडालका नेपालको ग्रामीण पर्यटन विकासमा झण्डै दुई दर्जनभन्दा बढि अनुसन्धनात्मक पुस्तकहरुका साथै बर्लिनबार, मनको-भाषा, मयुरी-महल र वृद्धाश्रम-जेस्ठनागरिक गरी अरु ४ पुस्तकहरु प्रकाशित भइसकेका छन् भने उनले लेखेका झण्डै २ सय जति लेख रचनाहरु विभिन्न आमसञ्चार माध्यमहरुबाट प्रकाशित छन् । स्थानीय पर्यटन-विकास-योजना निर्माण गर्ने शिलशिलामा नेपालका सतहत्तरै जिल्लाहरुको भ्रमण गरेका उनी डा. बी.पी.बडालका नामले समेत चिनिदै आएका छन् ।
महालक्ष्मी नगरपालिका, पोखरा महानगरपालिका, रौतामाई गाउँपालिका, हरिहरपुरगढी नगरपालिका, आरुघाट नगरपालिका, भक्तपुर नगरपालिका, गोदावरी नगरपालिका, मध्यपुरथिमी नगरपालिका, जिरी नगरपालिका, गल्छी गाउँपालिका, खप्तड पर्यटन विकास तथा रारा क्षेत्रको पर्यटन विकास तथा गुरु योजना निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका डा. भरतप्रसाद बडालसँग तातोखबर डटकमले उनको विद्वताका विषयमा केहि जिज्ञाषा राखेको छ । प्रस्तुत छ डा. बडालसँग तातोखबरका समाचार संयोजक राजन घिमिरेले गरेको कुराकानी :
यहाँ पशुपति क्षेत्र विकास कोषको संचालक परिषद सदस्य हुनुहुन्छ, कोषको पछिल्लो अवस्थाका बारेमा अधिकांश सर्वसाधारणको चासो रहेको छ, यस विषयमा छोटकरीमा बताईदिनु हुन्छ की ?
आराध्यदेव भगवान श्रीपशुपतिनाथको असिम् अनुकम्पाले यो समयको कोषको सञ्चालक परिषद अत्यन्तै सक्रिय छ । त्यसैगरी यो परिषद् अन्तर्राष्ट्रियस्तरको सर-सफाई, शान्ति-सुरक्षा, सम्पदा-संरक्षण, संस्कृति-सञ्चालन, गुरुयोजना-सञ्चालन, कर्मचारी-व्यवस्थापन, श्रोत-परिचालन तथा व्यवस्थापनसहित यी सात बुँदामा आधारित रहेर समग्र श्री पशुपतिनाथको सेवा र आराधनामा निरन्तर लागिरहेको छ ।
पछिल्लो समयमा कोषको व्यवस्थापन अत्यन्त राम्रो छ । दैनिक दक्षिणा–भेटिमा उल्लेखनीय वृद्धि भएको छ । औसतमा दैनिक १५ / २० हजार दर्शनार्थीले तीर्थाटन गर्ने गरेका छन् । पशुपतिनाथको दर्शनमा सामान्यतया नेपाली तथा भारतीय तीर्थयात्रीहरुको ३०-७० हजारको सङ्ख्यामा भक्तजनहरुको आवागमन हुने गरेको छ भने पशुपति मन्दिर आसपासमा पूजा व्यवस्थापन सामाग्री किनबेचबाट स्वरोजगारको अवसर, घर–टहरा बहालबाट कोषको आम्दानी वृद्धिका विकल्पहरु विकास गरिदै आएको छ ।
निरन्तर रुपमा कर्मचारी नियमावली निर्माण तथा सञ्चालन प्रक्रियामा नेतृत्व विकासलाई समेत कोषले महत्व दिदै आएको छ । कोषका आवश्यक काम कारवाहीका लागि कर्मचारीहरुको आवश्यकता पूर्ति गर्न केहि असहज अवस्था देखा परेको छ । यसको कारण चाहिँ राज्य तथा लोकसेवा आयोगको उदासिनताले नीति निर्माण बन्न नसक्नु हो भन्ने भन्ने मलाई लागेको छ । यस विषयमा जनताको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पनि ध्यान केन्द्रित छ ।
राज्य, मन्त्रालय, सुरक्षा निकाय तथा आयोगहरु अलि सशक्त र परिणाममुखी भएर उपस्थित हुन सकेमा, भ्रस्टाचार र अनियमितताका लागि निर्मम तथा कठोर निर्णय लिन सकेमा देखिएका यस्ता सामान्य समस्याहरु तुरुन्तै समाधान गर्न सकिन्छ ।
शान्ति सुरक्षाको जिम्मा प्रहरी प्रशासन गृह मन्त्रालयको हो भने भ्रष्टाचार अनियमितता नियन्त्रण गर्ने संस्था भनेका सिआइबी तथा अख्तियार अनुसन्धान आयोग हो नि । राज्यले यस्ता महत्वपूर्ण निकायहरुलाई सशक्त रुपमा परिचालन गर्नु सक्नुपर्छ । यस्ता निकायले आफ्नो स्वधर्म खुद निभाउनु पर्दछ ।
पछिल्लो समयमा सामाजिक विकासका नाममो नेपालको संस्कृति र सभ्यता प्रभावित पार्ने किसिमका अभियान चलाउन थालिएको छ र यसै सन्दर्भमा अगुवा नागरिकहरु देशको मौलिक संस्कृति मासिने हो की भनेर चिन्तित देखिन थालेका छन्, संस्कृति विज्ञको नाताले यहाँको भनाई के छ ?
सामाजिक विकास भनेको नै पश्चिमी सामाजिक विकासको कपि पेष्ट हो भन्ने बुझाई आम आधुनिक प्रोफेसर, लेखक, बिद्यार्थी तथा युवाहरुको विचलित मानसिकता र भ्रम हो । पश्चिमतिरको समाज सामाजिक विकास होइन, समाज विनाशको व्यक्तिवादी मार्गमा लागेको छ । सामाजिक सम्बन्ध तथा सामाजिक संस्थाहरु भत्किँदै गएका छन् । पश्चिमतिर परिवार नै छैन । नशा र मासुबिना जीवन सम्भव नै देखिंदैन । स्वच्छ र स्वस्थ मानिसले नशा र अर्काको ज्यान लिंदैन । पछिल्लो अवस्थामा मानिस ‘मानिस’ बन्न सकेको छैन । त्यसैले पश्चिम अत्यन्त पीडित र दुखी छ । पश्चिमको आफ्नो सांस्कृतिक पहिचान नै छैन । यस्तो सामाजिक विकृतिलाई विकास मान्ने बुद्धिजीवी नै हाम्रो समाजका भाइरस हुन् । उनीहरुमा हाम्रो बैज्ञानिक संस्कृति, सभ्यता, इतिहास, भूगोल तथा साहित्यको ज्ञानको अभाव देखिन्छ ।
जब सत्यको अनुभूति हुन्छ, आफुले आफुलाई चिन्न कोशिस गर्छ अनि देश, समाज र सभ्यताको खोजि सुरु हुन्छ । अवश्य नयाँ विहानीको सुरुवात हुन्छ । सत्य स्थायी हुन्छ । पूर्वीय संस्कृति, सभ्यता, दर्शन, वेद, पुराण तथा उपनिषद्को सार सृष्टि, स्थिति र प्रलय केवल एक मात्रै सत्य हो ।
सृष्टि र सिर्जनासम्बन्धी सम्पूर्ण सङ्केतवाद (Symbolism) ब्रह्मा-सरस्वती हुन् भने वृद्धि विकास स्थितिको सङ्केतवाद विष्णु-लक्ष्मी र प्रलय तथा अन्त्यको सङ्केतवाद नै शिव शक्ति हो भन्ने सत्यानुभूति हामी सबैको आवश्यकता हो । त्यसैले पूर्वीय सभ्यतामा आधारित हिमालयदेखि गङ्गासम्मको मौलिक भूमिमा उत्पन्न दर्शन नै विश्वब्यापी सत्य हो । विश्वब्यापी सत्यको अन्त्य हुनै सक्दैन । केहि प्रदुषण भएतापनि यो सभ्यता र संस्कृतिको अन्त्य हुनै सक्दैन । त्यसैले सम्पूर्ण बुद्धिजीवि पहिले मानव अनि राष्ट्रवादी नेपाली हुनु पर्यो ।
नेपालको मौलिक संस्कृति र सभ्यतामाथि विदेशी संस्कृतिको हस्तक्षेप न्युनीकरणका लागि के कस्ता कदम चाल्न जरुरी देख्नुहुन्छ ?
पूर्वीय सनातन सभ्यता विश्वको सबैभन्दा उत्कृष्ट बैज्ञानिक परम्परा हो । पूर्वीय सभ्यता विज्ञान तथा विज्ञानको श्रोत हो । जे सोच्यो त्यहि पुग्ने विश्वको एक मात्र सभ्यता नै सनातन सभ्यता हो । खुद आफूलाई नै आफ्नो जीवनको मालिक बनाउने सभ्यता हो ।
वेद नै ब्यास नगर तनहुँ नेपालमा निर्माण गरिएकोले सत्य सनातन धर्म नै नेपालको मौलिक संस्कृति तथा सभ्यता हो । सबै शैव, वैष्णव, प्रणामी, हिन्दु, बौद्ध, जैन, शिख आदि धर्म सम्प्रदाय तथा आष्तिक-नाष्तिक सबैको एकताको प्रतिक नै पशुपति दर्शन हो । नेपालको राष्ट्रिय एकताको आधार, विश्वका आध्यात्मिक व्यक्तिहरुको एकताको केन्द्र नै श्रीपशुपतिनाथ हो । त्यसैले नेपालको मौलिक संस्कृति र सभ्यता नै पशुपतिनाथ प्रतिको असिम श्रद्धा र भक्ति हो । नेपालको राष्ट्रियता नै आराध्यदेव श्रीपशुपतिनाथ हुनुहुन्छ ।
शिक्षामा सत्य नखोज्नु, अध्ययन अनुसन्धानमा विदेशी मोडेल तथा सिद्धान्तको प्रयोग गर्नु, आफ्नो राष्ट्रिय पहिचान टुक्रा टुक्रा पारेर जातीयतालाई अङ्गीकार गर्नु, धर्म (सत्य) लाई नै अफिम (असत्य) मान्नु, जातभात छुवाछुतलाई बढावा दिनु आदि नै वास्तवमा हाम्रा समस्या हुन् । यस्ता समस्या समाधानका लागि हालको नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्नुपर्छ । आधुनिकतावाद, अनिर्णित समाजवाद, पूँजीवाद र साम्राज्यवादमा आधारित मिति पुगिसकेका सम्पूर्ण दर्शन सिद्धान्त विनिर्माण गर्नु पर्दछ । लेक्चरर प्रोफेसरहरु पुँजीवाद र समाजवाद भनेर राजनैतिक कार्यकर्ता बन्न रोक्नु पर्दछ । “यो युग आधुनिक होइन, उत्तर आधुनिक युग हो” । आधुनिक राजनैतिक नेताहरु हार्ने तर उत्तर आधुनिक स्वतन्त्र युवाहरु चुनाव जित्ने परिपाटी आइसकेको छ । आधुनिकतावादको अन्त्य भइसकेको प्रमाण हो । हामी सबैले आफ्नो स्थानीय ज्ञान स्वीकार गर्नु र विदेशी विचार त्याग्नु जरुरी छ । आयातित विदेशी विचार त्याग्ने बितिक्कै विदेशी संस्कृतिको हस्तक्षेप न्युनीकरण भइहाल्छ ।
यहाँहरु जस्ता पर्यटन विद्हरुले नेपालमा धार्मिक पर्यटनको सम्भावना उच्च देख्नु हुन्छ र देखाउनु हुन्छ, सरकारीस्तरबाट यसलाई कुरामा महत्व देखाईन्छ, बहस पनि हुन्छ तर नीति एवं रणनीति समयानुकुल बन्न नसकेको अवस्थामा संस्कृति तथा पर्यटन विज्ञको नाताले हाम्रो आमसञ्चार माध्यममार्फत सम्बन्धित पक्षलाई के सुझाव दिनु हुन्छ ?
पर्यटन भनेको पर्यावरणको दर्शन गर्नु हो । दर्शन गर्नु भनेको ज्ञान आर्जन गर्नु हो । असिम आनन्द अनुभूत गर्नु हो । प्रकृतिको शक्ति र प्रवाह आफूतिर आकर्षण गर्नु हो । आफूलाई प्रकृति (जमिन, जल, तेज, वायु र आकाशमा) समाहित गराएर पूर्ण आनन्द ग्रहण गर्नु नै पर्यटन हो । प्रकृति र प्रकृतिको उपहार-सबैसँगको प्रेम नै पर्यटन हो । तीर्थाटन तिर्थस्थलको पर्यटन नै हो । पशुपतिनाथ सबैको साझा दर्शन हो, मानवीय एकताको प्रतिक हो ।
मानव जीवनको अर्थ नै पर्यटन हो । सत, चित, आनन्द नै पर्यटन हो । त्यसैले त भनिन्छ, ‘अतिथि देवो भवः’ – अतिथि नै भगवान हुन् । पर्यटन सेवा “नर रुपी नारायण” को सेवा हो । भगवानको सेवा हो । बुद्धको शान्ति र प्रेम हो । हरेक आत्मामा परमात्माको बास हुन्छ । परमात्माको सेवाले नै अझ भनौं शुद्ध कर्म गर्नाले पुण्य प्राप्ति हुन्छ । मन वचन र कर्मले पर्यटक (अतिथि-देवता) को सेवा गरौँ, पर्यटन उद्योग तथा सेवामा लागौं-सोचेको फल प्राप्त हुन्छ । नेपालको उत्तरी छिमेकी देश चीनको औद्योगिक उत्पादन तथा दक्षिणी भारतको कृषि उत्पादनसँग नेपाल प्रतिष्पर्धामा उत्रिन सक्दैन-जति दुःख गरेपनि कृषक तथा व्यवसायीको जीवनमा उल्लेख्य परिवर्तन ल्याउन सकिंदैन ।
नेपालको कृषिमा लगानी गर्नु भनेको मलखाद, विउबिजन, औंजार र विषादी खरिद गरी भारतीय उत्पादनको वृद्धि गराउनु हो । विश्वमा नेपालको कम्जोर उपस्थितिले गर्दा विषादीयुक्त फलफुल/तरकारीको आयात समेत रोक्न नसक्ने अवस्थामा अझै बिदेशीहरुकै उत्पादनलाई प्रशय दिनु नै नेपालको कृषिको अभिशाप हो । आजैदेखि नेपाली कृषि प्रणाली अग्र्यानिक मोडमा रुपान्तरित हुनु पर्दछ । आजैदेखि नेपाली औद्योगिक उत्पादन नमूना सुभेनियर उत्पादनमा रुपान्तरित हुनु पर्दछ ।
हिमाल, पहाड र तराईमा भएका सम्पूर्ण सनातनीहरुको आराध्यदेव भगवान श्रीपशुपतिनाथ विराजमान भएको, भगवान बुद्धको जन्म भएको स्वर्ग झैँ सुन्दर र पवित्र देश नेपाल सम्पूर्ण मानव जातिको उत्कृष्ट पर्यटकीय गन्तव्य हुनु पर्दछ । त्यसैले नेपालको विकासको मोडेल नै पर्यटन विकासको मोडेलमा रुपान्तरण गर्नु पर्दछ । नेपालका हरेक घरहरुलाई अतिथि गृहको रुपमा विकास गर्नु पर्दछ । सोहि अनुरुप सबै नीति नियम पर्यटनमैत्री बनाउनु पर्दछ । नेपाललाई पर्यटकीय राष्ट्र घोषणा गर्नु पर्दछ । पर्यटनवाद हाम्रो मार्ग निर्देशक सिद्धान्त हुनु पर्दछ ।
देश राजनैतिक अस्थिरतामा रुमल्लिईरहेको अवस्थामा सांस्कृतिक समुदायमार्फत केहि निकास ल्याउन सकिने सम्भावना छ त ? साथै नेपाली संस्कृतिमाथि राजनीतिक दाउपेच हावी हुनुलाई कसरी लिनुहुन्छ ?
राजनीति सधैं बक्र रेखामा चल्नु हुँदैन, नीति नियम र पद्धतिमा चल्नु पर्दछ । सबै राजनैतिक दलहरु विदेशी विचारबाट मुक्त हुनु पर्दछ । विदेशी दर्शन सिद्धान्त छोडेर आफ्नो नेपाली सभ्यता संस्कृति र दर्शनमा अगाडी बढ्नु पर्दछ । यो उत्तर आधुनिक युग हो-पुराना मिति पुगेका विचार त्यागेर, औपनिवेषिक सोच त्यागेर, स्वतन्त्र नेपाली मानव बन्नु पर्दछ । नेपालको पर्यटनवाद नै सम्पूर्ण राजनैतिक दलहरुको निर्देशनात्मक शिद्धान्त हुनु पर्दछ । त्यसैले हाम्रो प्रकृति र संस्कृतिमा आधारित पर्यटनवादको मार्गमा हामी चल्न सक्यौं भने राजनैतिक अन्योल र अस्थिरताको अन्त्य हुन्छ । देशले प्रगतिको सहि मार्ग लिन्छ । धर्म संस्कृतिको नाममा गरिने भोटको राजनीति होइन नेपालको धर्म संस्कृति समेटिने सभ्य राजनीति आजको आवश्यकता हो ।
काठमाडौँ जस्तो शहरमा स्वतन्त्र उत्तर आधुनिक सोच बोकेका युवा वालेन शाहले जित्नु पुराना दुषित राजनैतिक सोचको अन्त्य हो । त्यसैले पुराना राजनैतिक दलहरु सहिमार्गमा (उत्तर आधुनिक मार्ग) चल्नु पर्दछ । राप्रपा र रास्वपा जस्ता राजनैतिक दलहरुले आफ्नो धर्म संस्कृतिलाई व्यवहारमा नल्याई, सत्य नबुझी, केवल भोटको लागि मात्र अगाडी बढेकाले उल्लेख्य प्रगति गर्न सकेका छैनन् । धर्म नै सत्य हो सत्य नै मूल मार्ग हो । मूलमार्गलाई नै दाउपेच बनाएपछि सत्य कता पुग्छ ? सत्य र सहि लक्ष्यमा पुग्न सत्य र सहि नै मार्ग हिंड्नु पर्दछ । कार्यकर्ताका लागि होइन देश र जनताका लागि राजनीति गर्नु पर्दछ ।
नेपालमा विभिन्न विषयमा विज्ञता हासिल गरेका थुप्रै विद्वानहरु हुनुहुन्छ, मुलुकका लागि आवश्यक पर्ने यहाँहरु जस्ता विद्वान समुदायको ‘थिङ्कट्याङ्क’ निर्माण गरेर नेपाल सरकार र सरोकारवालाहरुले परिचालन गर्न नसक्नुको कारण के हुन सक्ला ?
मुख्यकुरा मान्छे मानव बन्नु पर्छ । मानवको दृष्टिकोणमा सबैप्रति समभाव हुन्छ-ठुलो सानो, आफ्नो पराइ, तेरो मेरो केहि हुँदैन । सबै प्रकृतिको देन हो र अन्त्यमा सबै मिल्ने पनि यहि प्रकृतिमै हो । दुई चार दिन बाँचुञ्जेलको रमिता मात्रै हो । यो रमिता आनन्ददायी हुनुपर्दछ । जीवनमा हरपल सत, चित र आनन्दको अनुभूति हुनु पर्दछ । तर मानिस यसको उल्टो ‘मासु, मदिरा, लोभ, मोह, धन–सम्पत्ति र आफ्नो पराई’ भन्ने साँघुरो घेरामा बाँधिएको छ । हाम्रा नेताहरु नराम्रोसँग माया मोहको यस्तो जालझेलमा परेका छन् । खुद आफुलाई नचिनेका नेता आफ्नो र पराइ भन्ने सीमारेखा कोर्दैमा यिनीहरुको जीवन वितेको छ । घमण्डले आकाश छोएको छ । संसारका कसैले पनि सबै कुरा पनि थाहा पाएका हुँदैन, तर हाम्रा नेताका भाषण सुन्दा ‘यिनीहरुलाई सबै थाहा छ’ जस्तो लाग्छ । त्यसैले नेताहरु मानव बन्न सकेका छैनन् । मानवको आकृतिले मानवको कार्य गर्न सक्दैन । उनीहरुले यसको महत्व र आवश्यकता नै महशुस गर्न सकेका छैनन् । माया-मोहको घेरा तोडेर मान्छे मानव बन्नु पर्छ । नेताहरुलाई धेरै जसो विद्वान कहलिएका व्यपारीहरुले घेरेर पनि राखेका छन् ।
वास्तवमा सहि थिंकट्यांक चिन्न पनि मुस्किल छ नेपालमा । त्यसैले सहि मानिस सहि समयमा सहि स्थानमा पुग्न सकेका छैनन् । यसरी गलत मान्छे सहि स्थानमा पुगे पनि परिणाम सहि निस्किन सक्दैन । नेपालमा क्याबिनेट मन्त्रीले सडक कब्जा गरेको पसल पनि हटाउन सक्दैन-हटाउन खोज्यो कि-सत्ता गठबन्धन हल्लिन्छ । असल काम गर्न नसकेपछि निरास भएर ऊ गलत काम गर्न थाल्दछ । सहि मान्छे, सहि समयमा सहि स्थानमा राख्ने कानून, नियम, तरिका केहि पनि छैन । पढेलेखेका विद्वान वर्गलाई एक छाक पेट पाल्न पनि धौ धौ छ । तैपनि विद्वाहरु यस्तो पदको अपेक्षा नै गर्दैनन् । योग ध्यान साधना र तपस्यामा निर्धक्क लागेका हुन्छन् । राजनैतिक नेतृत्व र विद्वत बर्ग दुवै पक्षको लक्ष्य नेपाल हुनुपर्छ । देशलाई हृदयमा राखेर अघि बढ्नु पर्छ । विद्वान भोकै पर्ने देशको कहिल्यै भलो हुँदैन ।
अब अलिकति फरक प्रसङ्गमा कुरा गरौं, नेपालमा पराय विचार र आदर्शले राजनीति संघर्ष चलाईदै आएको छ, नेपालको भूगोल, प्रकृति, संस्कृति, समाज र श्रोतमा आधारित राजनीतिक सिद्धान्त बनाएर देश र जनताको उन्नति हुन सक्ला, यहाँलाई के लाग्छ ?
हो, अवश्य पनि सकिन्छ । अबको नेपालको भविष्यको मार्ग निर्देश यहि हुनुपर्दछ । नेपालको भूगोल, प्रकृति, संस्कृति, समाज र श्रोतमा आधारित राजनीतिक सिद्धान्त भनेकै नेपालको पर्यटनवाद हो । टुर अर्थात् यात्रा र इजम अर्थात् वाद / सिद्धान्त मिलेर नै टुरिजम बनेको छ । त्यसैले यात्रा अथवा भ्रमण (टुर) सम्बन्धी एकीकृत क्रियाकलापहरुको सैद्धान्तिक विश्लेषण नै टुरिजम हो । त्यसैले टुरिजम पर्यटन मात्र नभएर “पर्यटनवाद” हो । पर्यटन भन्नाले केवल यात्रा अथवा भ्रमण अथवा घुमफिर मात्र बुझिन्छ भने यस्ता विषयसँग सम्बन्धित समग्र एकीकृत विधा वा सिद्धान्त नै पर्यटनवाद हो । पर्यटनसम्बन्धी समग्र बिचार, विषय, सिद्धान्त, दृष्टिकोण तथा दर्शन नै पर्यटनवाद हो । त्यसैले देशलाई नयाँ उचाई पुर्याउने अबको राजनैतिक मार्गदर्शन नै पर्यटनवाद हुनुपर्दछ । हरेक घर घरमा पर्यटन पुग्नु पर्दछ । हरेक जनताको घरमा खुशीको मुस्कान र आतिथ्यताले समृद्धि ल्याउनु पर्दछ । संस्कृति र सभ्यताको पुनरभ्युदय हुनु पर्दछ । कृषि र उद्योगको पर्यटकीकरण गरेको दिनदेखि नेपालले समृद्धिको यात्रा तय गर्ने छ ।
नेपाली युवाको विदेश पलायनसँगै नेपाली मौलिक संस्कृति पनि पलायन हुने क्रम बढेर गएको छ, भावी पुस्तालाई वर्तमान पुस्ताले दिन सक्ने नेपालका महत्वपूर्ण वैदिक मान्यतामा आधारित नेपाली पहिचानजन्य यस्ता मौलिक संस्कृति सुरक्षित राख्न सकिने कुनै विकल्पहरु छन् ?
आजका युवाहरुमा केहि पश्चिमी प्रभाव परेको देखिन्छ । तर नेपाली सभ्यता (हिमालय कैलाश-मानसरोवरदेखि गङ्गा नदीको तटसम्ममा निर्मित) विश्वको एकमात्र सत्य दर्शनमा आधारित सभ्यता हो । सृष्टि, स्थिति र प्रलयमा आधारित अर्थात विश्वब्यापी तथ्यमा आधारित दर्शन नै एक मात्र सत्य दर्शन हो । कुनै पनि चिज सम्झनु होस् जे सम्झे पनि हुन्छ …. सम्झनु भयो नि ? …. त्यो तपाइले सम्झेको चिजको सृष्टि, स्थिति र प्रलय हुन्छ । यहि साश्वत सत्य हो । यहि केवल एकमात्र सत्य हो ।
आजका युवाहरुमा यो विश्वव्यापी ब्रह्माण्डीय सत्यको ज्ञान छैन । यो दर्शनको ज्ञान तथा अनुभूति हुने वितिक्कै पलायन भएका युवा एकदिन अवश्य घर फर्किने छन् । विश्वको एकमात्र सत्य दर्शनको मार्गदर्शन श्रीमद्भगवद्गीता हो । आजकाल विश्वभर नै श्रीमद्भगवद्गीताको ब्यापक प्रचारप्रसार हुँदै छ । त्यस्तै बुद्ध दर्शनको पनि ब्यापक प्रचारप्रसार हुँदै छ । “म”लाई सत्मार्गमा चलाउने “म” भित्रको “म” नै आत्मा हो । त्यसैले आफूलाई चिन्न सक्नेलाई आत्मा भौतिक हो र आफूले आफूलाई चिन्न नसक्नेलाई आत्मा अभौतिक हो । जुन दिन युवाहरुले ‘म को हुँ ?’ भन्ने प्रश्नको उत्तर पाउनेछन् त्यसै दिनदेखि नेपाली पहिचानजन्य मौलिक संस्कृति सुरक्षित राख्न देश फर्किने छन् ।
आजकाल हरेक मोटिभेसनल स्पिकरले दिने रिफरेन्स श्रीमद्भगवद्गीता, विश्वको एकमात्र उत्कृष्ट पुस्तक, हरेक युवाको हातमा पुर्याउनु पर्दछ । स्वतः युवाहरु सहिमार्गमा पुग्ने छन् । ईतिहास, भूगोल, सभ्यता संस्कृतिको अध्ययनले नेपाली पहिचानजन्य यस्ता मौलिक संस्कृति सुरक्षित राख्न सकिने पक्का छ । “बिद्या विनय सम्पन्ने” व्यक्ति स्वतः राष्ट्रवादी मानवतावादी हुन्छन् । युवालाई राष्ट्रवादी र मानवतावादी बनाउनु आजको हामी सबैको प्रमुख कर्तब्य हो । स्वदेश विदेश जता भएपनि युवा नेपाली राष्ट्रियता र मानवताको सुवर्ण गहनाले सुसज्जित हुनु पर्छ । अनि मात्र देशको कला संस्कृति र सभ्यताको सुनिश्चितता हुन्छ ।
हामीसँग अरु यस्ता थुप्रै जिज्ञाषाहरु छन्, पछिका बसाइहरुमा पुन छलफल गर्न सकिन्छ, आजको यस बसाइमा, मैले नसोधेको तर यहाँले भन्नै पर्ने केहि बाँकी छ ?
यति उत्कृष्ट प्रश्नहरु सोधिदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद ! नेपालका अरु सरकारी निकाय तथा विकास समितिहरु सबैतिर काम गर्ने परिपाटीभन्दा हामी खासै फरक छैनौं । हाम्रो संयन्त्र र अरु विकास समितिहरुको संयन्त्र जस्तै मन्त्रालय तथा मन्त्रीज्युको निर्देशन र नियन्त्रणमा चल्ने हो । धेरै ऐन नियम कानुनहरु परिवर्तन गर्नु पर्ने छन् । पुराना परम्पराहरुलाई संरक्षण गर्नु उत्तिकै चुनौतिपूर्ण छ । राम्रा कार्य भए अरुले जस पाउने, नराम्रो काम भए पशुपति क्षेत्र विकास कोषले दोष पाउने प्रवृत्तिको अन्त्य हुनु पर्दछ । पशुपतिनाथ एउटा मन्दिर मात्र होइन सम्पूर्ण नेपाली सभ्यताको एकताको प्रतिक हो । विश्व बन्धुत्वताको प्रतिक हो । कोष मन्दिर परिसरमा मात्र सीमित छैन । यति बेला धर्म, संस्कृति, सभ्यता र विश्व एकताको सन्दर्भमा थुप्रै अध्ययन अनुसन्धान र ती अध्ययन अनुसन्धानहरुबाट प्राप्त तथ्याङ्कको दस्तावेजीकरणलाई पनि महत्व दिएर काम गर्नुपर्ने दबाब बढिरहेको छ ।
कोषले धेरै काम गर्नुर्छ । उच्चस्तरीय कर्मचारीको खाँचो छ, अनुत्पादक कर्मचारीको भिड छ । त्यसैले नेपाल सरकार, मन्त्रिपरिषद्, सम्पूर्ण मन्त्रालय, संवैधानिक निकाय, आयोग तथा आमसञ्चार जगत सबैलाई आफ्नो अधिकार र कर्तब्य क्षेत्रमा रहेर निष्ठापूर्वक भगवान श्रीपशुपतिनाथको सेवा गर्न, दर्शन गर्न, संरक्षण गर्न र सकारात्मक सन्देश प्रवाह गर्न बिशेष अनुरोध गर्दछु । मेरा केहि विचारहरु सम्प्रेषण गर्ने अवसर दिनुभयो तपाइँहरुलाई पनि पुनः बिशेष धन्यवाद भन्दै हार्दिक आभार प्रकट गर्न चाहान्छु ।
जय श्रीपशुपतिनाथ !
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस