खाजा खान पाइने आस बोकेर भोकभोकै विद्यालय पुग्छन् लेखपानीका बालबालिका

मन्जिता मैनाली
हेटौंडा– हेटौंडा–१९ नम्बर वडाको एक विकट गाउँ लेखपानीमा रहेको जीवनज्योति आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । पूर्वपश्चिम राजमार्गअन्तरगत हेटौंडा–१९ को लेवटचोकबाट निकै कठिन कच्ची सडक उकालो लागेपछि करिब ४५ मिनेटमा सो विद्यालयमा पुगिन्छ ।
राजमार्गबाट नजिकै भएता पनि विकासमा भने निकै पछाडि रहेको लेखपानीका बालबालिका भोकभोकै विद्यालय धाउँछन् भन्दा जोकोहीलाई करुणा जाग्छ । विद्यालय खाजा कार्यक्रमअन्तर्गत विद्यालयमा नियमित खाजा खान पाइने आश बोकेर बालबालिका विद्यालयसम्म पुग्छन् । विद्यालय पुग्ने बित्तिकै उनीहरुको ध्यान पढ्नमा भन्दा खानमा हुन्छ ।
विद्यालयमा जम्मा ३८ जना बालबालिका अध्ययनरत छन् । उनीहरु एक घण्टासम्म हिँडेर भोकभोकै विद्यालय आउने गरेका कारण विद्यालयले दिउँसो खुवाउनुपर्ने खाजा बिहानै खुवाउने र त्यसपछि मात्रै पढाई सुरु गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक कुमार सिं गोलेले जानकारी दिए ।
विद्यालय पढ्न आएका बालबालिका दिउँसो भोक लागेपछि जङ्गल छिरेर रुख चडी पातहरु चाट्ने गर्छन् । पातमा गुलियो मह हुने भन्दै पात चाट्ने गर्दा रुखबाट लडेर कहिलेकाहिँ विद्यार्थी घाइतेसमेत हुने गरेका छन् । विद्यार्थीहरु रुखमा चढेर पात चाट्ने, जंगल डुल्ने कारण हिजोआज कक्षाबाट निस्कनै नदिने गरिएको शिक्षिका सीता सापकोटा बताउँछिन् ।
सबै तामाङ समुदाय मात्र रहेको लेखपानीमा एउटा मात्र विद्यालय छ । विद्यालयमा शिक्षक र कर्मचारी गरी ४ जना कार्यरत छन् । २०५९ सालमा स्थापना भएको विद्यालयमा हाल ३८ जना बालबालिका मात्रै छन् । अभिभावक बिहान मेलापात हिँड्ने कारण बालबालिकाहरु भोकै विद्यालय आउँछन् । अभिभावकहरु मेलाबाट ढिलो फर्कने कारण बालबालिकाहरु भोकै विद्यालय आउने गरेको प्रधानाध्यापक गोलेको भनाइ छ । बालबालिका ‘विद्यालय आउने बित्तिकै भोको पेटको कारण कोहि झोक्राएर बस्छन् त कोहि भोक लाग्यो रुन थाल्छन्’ प्रधानाध्यापक गोले भन्छन् ,‘बच्चाहरुको लागि छुट्याएको खाजा खर्चले पुर्याउन मुस्किल पर्छ तर पनि भोको पेटमा बालबालिकालाई राम्रो शिक्षा दिन नसक्ने कारण विद्यालय आउने बितिकै खाना खान दिएर मात्र पढाउन सुरु गर्ने गरेका छौँ ।’
विद्यालयको अगाडी ठूलो भिर छ पर्खाल नभएको कारण बालबालिका लडेर भिरबाट खसी घाइते समेत हुने गरेका छन् ।
विद्यालय मात्र नभई गाउँमै खाने पानीको निकै ठूलो समस्या रहेको छ । विद्यालयको लागि खानेपानी लिन ५ किलो मिटर कठिन ओरालो गोरेटो हिँडेर एउटा इनारमा पुग्नुपर्छ । इनारबाट गाग्रोमा भरेर ल्याएको पानी खुवाउने गरिएको छ । विद्यालयमा उपमहानगरपालिकाले दिएको २ वटा ट्याङ्की छ त्यही ट्याङ्कीमा आकाशबाट आएको पानी भरेर राखी हातमुख धुनलाई पानीको व्यवस्था गर्ने गरिएको छ ।
जीवन ज्योति विद्यालयमा ५ सम्म पढाई हुने कारण ५ कक्षा पूरा गरेपछि करिब ७० प्रतिशत बालबालिकालले पढाई छाड्ने गरेको प्रधानाध्यापक गोलेको दावी छ । केही बालबालिकाका अभिभावकले लेवट बजारसम्म ल्याई कोठामा राखेर पढाउने गरेका छन् भने अधिकांश बालबालिकाले १५, १६ वर्षकै उमेरमा भागेर बाल बिवाह गर्ने गरेका छन् । विद्यालयमा कार्यालयको अवस्था त्यस्तै दुःखलाग्दो छ एउटा कुर्सी समेत नभएर बच्चाहरु बस्ने बेन्ची लगेर राखिएको छ ।
बालबालिकालाई खाजामा मासुभात जाउलो रोटी मिलाएर खुवाउने गरिएको छ । शुक्रबार बालबालिका धेरै विद्यालय आउने कारण मासु भात राखिएको र मासुभात खानकै लागि सबै बालबालिका विद्यालय आउने गरेको छन् । जीवनज्योति आधारभूत विद्यालयमा खानेपानीको समस्या, विद्यालयको समग्र समस्या समाधानमा हेटौंडा उपमहानगरपालिका बेखबर छ ।
समस्याका विषयमा हेटौंडा १९ नम्बर वडाध्यक्ष नवराज सुवेदीसँग कुराकानी गर्दा उनले निकै रुखो र गैरजिम्मेवार जवाफ फर्काए । ‘हाम्रो वडामा थुप्रै ठाउँमा त्यस्तो समस्या छ सबै समस्या समाधान गर्न कसरी सकिन्छ ?’ अध्यक्ष सुवेदीले झर्कँदै भने । विद्यालय र समग्र गाउँको समस्याका विषय उनले सुन्नै चाहेनन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस