कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
दाङ / तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार हाल माविका लागि एकजना राहत र एकजना स्थायी शिक्षकमात्र रहेकाले पठनपाठनमा समस्या छ।
‘हामीले व्यवस्थापन संकाय चलाएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ’, उनले भने,‘एक राहत र एक जनामात्र स्थायी हुनुहुन्छ. हामीले निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ।
निजी स्रोतका शिक्षकलाई वार्षिक ११ लाख तलब दिनुपर्ने अवस्था रहेको अध्यक्ष अधिकारीले बताए। निजी शिक्षकलाई आंशिक रूपमा राखिएको छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब दिने गरिएको उनले जानकारी दिए।
निजी शिक्षकको तलबमा वार्षिक पाँच लाख घाटा भएको उनले गुनासो गरे। अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ। यो विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएको उनको दुखेसो छ।
गरिब, पिछडिएका वर्ग र द्वन्दपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पढाइने यो विद्यालयबाट एसईई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क गर्ने निर्णय गरेको हो।
-रासस