विद्यालमा अनधिकृत व्यक्ति छिराउने कार्य रोक्न काठमाडौं महानगरकाे निर्देशन
काठमाडौं / काठमाडौं महानगरपालिकाले स्वच्छ वातावरणमा अध्ययन, अध्यापन गराउन महानगरका सबै विद्यालयला निर्देशन दिएको छ। महानगरपालिकाको शिक्षा विभागले स्कुलमा अनधिकृत व्यक्ति छिराउने गरेको पाएको भन्दै त्यस्तो कार्य रोक्न निर्देशन दिएको हो।
महानगरपालिकाका अनुसार मन्त्रिपरिषद्को २०६८।०२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरी विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राखे उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा छ।
केही विद्यालयमा भने अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने गरेको पाइएको छ।
‘शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरे/गराएको जानकारी हुन आएकाले अनधिकृत व्यक्ति र समूहलाई विद्यालय परिसरभित्र प्रवेश नदिन र स्वच्छ वातावरणमा अध्ययन अध्यापन कार्य सुचारू गर्न सम्बन्धित सबैमा अनुरोध छ। यदि अनधिकृत व्यक्ति तथा समूहले बलपूर्वक प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरपालिकाको सहजीकरण आवश्यक देखिए महानगर प्रहरीबलका प्रहरी उपरीक्षक विष्णु जोशी (सम्पर्क नं ९८५१०६८५२३) लाई
सम्पर्क गर्नुहुन समेत अनुरोध छ’, निर्देशनमा भनिएको छ।