दुर्गा प्रसाई र युवा संघको एकै दिनको कार्यक्रम मुठभेडतर्फ उन्मूख

काठमाडौं, ७ मङ्सिर / दुर्गा प्रसाईको समूह र नेकपा एमालेका भातृ सङ्गठन युवा सङ्घले एकै दिनमा थालेको सरकार विरुद्धको प्रदर्शनले राजधानीमा भिडन्तको स्थिति सृजना गरेको छ । सरकार विरोधी दुई पक्षबीच युवा संघका कार्यकर्ताले दुर्गा प्रसाई नेतृत्वको प्रदर्शन विथोल्ने प्रयास गरेपछि भिडन्त निम्तिने सङ्केत देखिएको हो ।

स्थानीय प्रशासनले राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न भन्दै सरकारको विरोधमा उत्रिएका दुर्गा प्रसाईको समूहलाई विरोध प्रदर्शनका लागि बल्खु क्षेत्र तोकेको भए पनि प्रदर्शनकारीहरु कालीमाटी तर्फ उन्मूख भएपछि प्रहरीले बल प्रयोग गर्न शुरु गरेको बताईएको छ ।

Advertisement:

बल्खुमा प्रर्दशन गरिरहेको दुर्गा प्रसाई समर्थक प्रदर्शनकारीहरु कालीमाटीतर्फ अग्रसर हुन थालेपछि प्रहरीले रोक्ने प्रयास गरिरहेको प्रदर्शनस्थलबाट हाम्रा सम्वाददाता राजन घिमिरेले जानकारी दिएका छन् । यसैबीच युवा सङ्घलाई प्रदर्शन गर्न छुट्टाछुट्टै स्थान तिनकुने क्षेत्रलाई तोकेको भए पनि नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घका कार्यकर्ताहरु बल्खुमा दुर्गा प्रसाईको नेतृत्वमा भईरहेको प्रर्दशन विथोल्न पुगेपछि दुवै पक्षबीच भिडन्त समेत हुन पुग्यो ।

उक्त स्थितिलाई नियन्त्रणमा लिन बल्खुमा प्रहरीले पानीको फोहोरा, हवाई फायर र अश्रु ग्यासँको समेत प्रयोग गरेको छ । सो घटनामा केही प्रदर्शनकारीहरु घाईते समेत भएको अनुमान गरिएको छ । नागरिक मुक्ति अभियानको नाम दिएर सरकारको विरोध प्रदर्शन गरिरहेको दुर्गा प्रसाईको कार्यक्रम विथोल्न पुगेका युवा संघका कार्यकर्तादेखेपछि आक्रोशित प्रसांई नेतृत्वको भिडले ढुङ्गा प्रहार गर्न थालेका थिए । युवा सघका कार्यकर्ताहरुले पनि सो समूहलाई लक्षित गरी ढुङ्गा बर्षाउन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्न बाध्य भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस् :