छाया सेन्टर : गुठी संस्थानले विवरण सर्वाेच्चमा बुझायो, शक्तिको आडमा जोगिएला त?

Chaya Center chayadevi complex

काठमाडौँ /  ठमेलस्थित ऐतिहासिक कमलपोखरी मासेर ठडिएको छायादेवी कम्प्लेक्स सम्बन्धी विवरण पठाउनु भनि गुठी संस्थानलाई सर्वोच्च अदालतले आदेश दिएको तीन महिनापछि विवरण बुझाएको छ। अदालतले वैशाख ४ गते १५ दिनभित्र निर्णय मिसिल तथा विवरण पठाउन गुठी संस्थान केन्द्रीय कार्यालयको नाममा आदेशसँगै पत्र काटेको थियो।

गुठी संस्थानले तीन महिनासम्म उक्त विवरण बुझाउन अटेर गरेको थियो।​ अदालतले साबिक पोता १८३ नं श्री सिंहसार्थबाहु गरूणः भगवानको नाममा दर्ता भएको रोपनी २६–८–०–० को जग्गा सो १८३ नं पोता भिडाई जग्गा दर्ता भएको छ छैन ? सोको तथ्यगत बेहोरा सहित सो पोता भिडाई कुनै जग्गा दर्ता भएको भए के कुन कित्ता दर्ता र हाल साबिक भई कसको नाममा कायम रहेको छ ? भन्दै त्यसको विवरण मगाएको थियो।

Advertisement:Chaya Center chayadevi complex

त्यसैगरी अदालतले बादी पुष्पमान प्रधान र प्रतिवादी केयूर शमशेर समेत भई चलेको खिचोला मेटाई पाउँ भन्ने मुद्दामा उल्लेख भएको चार किल्लाभित्रको रोपनी २६–८–०–० जग्गा हाल के कति कसको नाममा दर्ता स्रेस्ता कायम रहेको छ र सो जग्गा दर्ता भएको भए जग्गाको साबिक स्रोत एवं स्रेस्ताको विवरण समेत माग गरेको थियो।

२०३३ सालमा भएको नापीपश्चात् देखिन आएको काठमाडौं जिल्ला साविक काठमाडौं नगरपञ्चायत वडा नं २९ कि नं. १६७, कि.नं. १०४०, कि.नं. १८७, कि.नं, २२२४, कि.नं २२२९, र कि.नं २४१३ का जग्गा के कुन स्रोतबाट क-कसको नाममा दर्ता कायम भई हाल हाल कसको नाममा कायम भएको छ ? सोको विवरण अदालतले माग गरेको थियो।

अदालतले साबिक कि.नं. १६७ र १०४० का जग्गा २०४४/८/२३ मा नेपाल सरकारका नाममा दर्ता स्रेस्ता कायम भएकोमा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकाले के कसरी व्यक्तिका नाममा कित्ताकाट हुन गएको हो ? सोको विवरण पठाउन पनि माग गरेको थियो।

उक्त सबै विवरण बुझाइसकेको गुठी संस्थान केन्द्रीय कार्यालयका प्रवक्ता हरिप्रसाद सुवेदीले जानकारी दिए। उनले भने, ‘अदालतको मागेका सबै विवरण गुठी संस्थान काठमाडौं शाखाले यही साउन १० गते बुझाइसकेको छ।’

ठमेलस्थित कमलपोखरीको राजगुठीको जग्गा छायासेन्टरले अतिक्रमण गरेको व्यहोरासहितको जवाफ पठाइएको बुझिएको छ। जसअनुसार तथ्यगत विवरणको आधारमा सुनुवाइ भएमा  छायादेवी कम्प्लेक्स भवन संकटमा पर्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस् :