सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ

तातोखबर, काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल सरकारले सयको नोटमा नयाँ नक्सा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय विरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार बजेट अधिवेशनको पहिलो दिन संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो? भन्दै प्रश्न गरेका थिए ।
उनले यस विषयमा राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गरेका थिए । उनले संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिए।
अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हितविपरीत बोल्नुभएको आरोपसमेत लगाए। उनले राष्ट्रपति कार्यालयमा राष्ट्रहितविपरीत बोल्ने व्यक्तिहरु किन राखेको भन्दै आपत्ति जनाए।
उनले हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्शा राख्नुपर्ने पनि बताए। नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्यूनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने बताए।
उनले नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्ने कुरालाई कुनै पनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताए।
उनले भने, ‘एउटा कुरा राष्ट्रियताको पक्षमा अत्यन्त गैरजिम्मेवार र खेलवाडपूर्ण ढंगका अभिव्यक्तिहरु आएका छन्। नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्छ भन्ने एउटा खबर आयो। तपाईंहरुले पनि सुन्नुभयो होला। नेपाल सरकारले नेपालको नोटमा नेपालको नक्शा छाप्छ भन्दा अर्को देश कराएको सुनियो। किन करायो अर्को देश? नेपालले नेपालले नेपालको नोटमा नेपालको नक्शा छाप्छ, उसको नक्शा छाप्ने होइन। किन करायो होला अर्को देश भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरु त्यो अर्को देश कराएको सँगसँगै यो फलनो देशलाई उत्तेजित पार्न खोजिएको हो, नक्शा छाप्ने कुरा आदि इत्यादि भनेर। कस्ता मान्छे सम्माननीय राष्ट्रपतिज्युले कस्ता मान्छे त्यहाँ जागिर खुवाएर राख्नुभएको छ। यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार नेपाल देशले नेपालको नक्शा नेपालको नोटमा छाप्दा अर्को देशलाई उत्तेजित पार्न खोजेको, राष्ट्रियता कमजोर पार्न खोजेको भनेर राष्ट्रपतिको विज्ञ सल्लाहकार भन्नेहरु उफ्रिन्छ भने यो तमासा होइन। त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ?’
अध्यक्ष ओलीले एमालेले गम्भीर रूपमा यसबारेमा छिनोफानो खोज्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस