टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल सक्षम छ भन्ने सन्देश दिनुपर्छ : कप्तान रोहित

Rohit_paudel

काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बताएका छन्।

शनिवार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताए। उनले आफूहरू विश्वकपका लागि उत्साहित रहेको बताए।

Advertisement:Rohit_paudel

उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्ट इण्डिज र अमेरिकामा अभ्यास गरिरहेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताए। उनले राम्रो खेलेर समर्थकहरूलाई उपहार दिने बताए।

उनले भने, ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ । २५ दिनदेखि बाहिरै छौँ । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ । अभ्यास गरिरहेका छौँ । हामी तयारीमा छौँ । बेस्ट क्रिकेट खेलेर हामी खुसी दिनेछौँ । नेपाललाई अमेरिकामा सपोर्ट छ । राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छौँ भन्ने सन्देश दिनुपर्छ अब ।’

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताए । उनले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको बताए ।

उनले योपटक दुईवटा देशमा विश्वकप हुने भएकाले ती ठाउँको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिनाअघि नै विश्वकप खेलाइने देशमा पुगेको र अभ्यास जारी राखेको बताए । उनले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने बताए ।

देसाईले भने, ‘हामीले पहिलो गेमका लागि फोकस गरेर तयारी गरिरहेका छौँ । हामी अब सबै किसिमले विश्वकपका लागि तयार छौँ । नयाँ ठाउँमा केही तयारी गर्नुपर्ने हुन्छ । त्यसकै लागि हामी करिब एक महिनाअघि नै आएर यहाँ भिज्ने प्रयास गरेका छौँ । दुई फरक फरक देशमा खेल छ, त्यसका लागि हामी अब तयार छौँ । दीपेन्द्रसिंह ऐरी अहिले सबै किसिमले रेडी छ, अभ्यास गरिरहेको छ । स्पिनर बलरको भूमिका धेरै महत्त्वपूर्ण छ । त्यसका लागि ललित र सागर छन् । त्यसले हाम्रो टिम ब्यालेन्स भएको छ ।’

उनले दीपेन्द्रसिंह ऐरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टोलीमा सबै किसिमले ब्यालेन्स मिलेको बताए । जुन २ बाट अमेरिका र वेस्ट इण्डिजमा टी-२० विश्वकप शुरु हुँदै छ। नेपालको खेल भने जुन ४ मा नेदरल्याण्ड्ससँग रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application