छानबिन समिति कार्यदलले जुटउन सकेन सहमति, रविको नाम किटान गर्नुपर्ने माग कायमै

karyedal-samiti

तातोखबर, काठमाडौँ / सहकारी ठगि प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि निष्कर्षविहीन टुंगिए पछि भोलि साढे आठ बजे फेरी समहतिको खोजि हुने बताइएको छ ।

बिहीवार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा ठोस सहमति जुट्न नसकेको हो ।

Advertisement:karyedal-samiti

संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्नुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो मागबाट पछि नहट्ने भएपछि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका तर्फबाट कार्यदल सदस्य रहेका सांसद जीवन परियारले गृहमन्त्रीको नाम उल्लेख नगरी कांग्रेसले सहमति गर्न नसक्ने बताए ।

‘हामीले स्पष्ट रुपमा भनेका छौँ कि जसका बारेमा छानबिन समिति बनाउनुपर्छ भनेर हामीले उठाएका हौँ । जबसम्म त्यहाँ पुग्दैन तबसम्म हामी मान्दैनौँ‚’ उनले भने‚ ‘नाम नराखीकन पनि हामी छानबिनको दायरा अगाडि बढाउन सक्छौँ भन्ने उहाँहरुको आशय छ । हामीले यस्तो गोलमोटल भाषाले छानबिन अगाडि बढ्न सक्दैन । स्पष्ट रुपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री उक्त अपचलनमा सहभागी हुनुहुन्छ ।’

उनले नाम उल्लेख नगरी गोलमोटल भाषामा छानबिन अगाडि बढ्न नसक्ने धारणा आफ्नोतर्फबाट राखेको बताए ।

‘बरु कांग्रेसले नै आरोप लगाएको छ भन्ने भाषा पारौँ न बरु‚ त्यसमा हामीलाई आपत्ति छैन । हामीले हुने लचकता भनेको त यिनै हुन्‚’ उनले भने‚ ‘तर सम्बन्धित व्यक्तिको बारेमा छानबिन नगरिकन नेपाली कांग्रेसले कार्यदलमा सहमति गर्ने अवस्था छैन ।’

नेकपा एमालेका कार्यदल सदस्य एवं प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीको नाम राख्ने विषयमा सहमति जुट्न नसकेको बताएका छन् ।

‘आज दुवै पक्षले आफ्ना केही विषयहरुबाट मूलतः नेपाली कांग्रेसको तर्फबाट भनौँ, हामीले सहकारीका नाम राख्ने, सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीका सन्दर्भमा उहाँहरुले संसदमा जे-जे विषय उठाउनुभएको छ, ती विषय राखेर जानमा कुनै असहज भएमा‚’ उनले भने‚ ‘तर नाम नै राख्ने विषयमा अहिलेसम्म हाम्रो जुन असहमति थियो त्यसमा प्रमुख प्रतिपक्षीको तर्फबाट केही सहजता थोरै लचकताजस्तो पाएका छौँ ।’

तर उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहमतिनजिक पुगेको दावी गरे । शुक्रवार (भोलि) विहान साढे आठ बजे बस्ने बैठकमा निर्णय गर्नेगरी काम अगाडि बढेको उनको भनाइ छ ।

‘भोलि साढे ८ बजे बैठक बस्ने र भोलिको बैठक यो कार्यदलको अन्तिम बैठक बनाएर निर्णय गरेर ११ बजे संसद खोल्ने भनेका छौँ। हाम्रो कुरा पहिले नै गृहमन्त्रीमाथि छानबिन गर्ने भन्नु तिमी दोषी हौ‚’ उनले भने‚ ‘कति मात्रामा तिमीले अपराध गरेका छौ भन्ने ठाउँबाट अध्ययन गर्ने भयो। त्यो पाटो मिलेन भन्ने ठाउँबाट आज उहाँहरु लचक हुनुभएको छ। सहमतिनजिक पुग्ने अवस्था बनेको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहमतिका लागि प्रमुख प्रतिपक्षी दल सकारात्मक भएको दावी गरे ।  उनले व्यक्तिकेन्द्रित गरेर छानबिन गर्दा न्यायोचित नहुने आफूहरुको मान्यता कायम रहेको बताए ।

शुक्रवार विहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने छ । सो बैठकअगाडि कार्यदलको बैठक बसेर सहमतिको प्रयास गर्ने नेताहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application