NTC App - Ad

म्याग्दीका ११२ सामुदायिक वनमा डढेलो, वन्यजन्तु र चराचुरुंगीको बिजोग

myagdi-forest-fire

तातोखबर, म्याग्दी / गत फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्ममा म्याग्दीका ६ वटा स्थानीय तहका ११२ वटा वनमा डढेलो लागेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दी जिल्लामा पुर्‍याएको डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले म्याग्दीको करिब एक हजार हेक्टर वन क्षेत्र सखाप भएको छ।

Advertisement:myagdi-forest-fire

डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने रूख, बोट विरुवा, वनस्पति र पक्षी तथा जंगली जनावर समेत डढेर खरानी भएका बताइएको छ। यसपालि हिउँदे वर्षा नहुँदा वनमा सुकेर झरेको पतिंगरमा आगो चाँडै फैलँदा छिनभरमै जताततै काला ठुटा र खरानी देखिन्छ।

वनमा चराचुरुंगीको चिरबिर सुनिन छाडेको छ। रंगीबिरंगी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रमाइलो घटेको स्थानीय बासिन्दाहरु बताउँछन् । अहिले दिनहुँजसो वनक्षेत्रमा डढेलो बढ्दै गएपछि चराचुरुंगी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका-६ उपल्लो दुखुका यमन पुनले बताए ।

‘डढेलो लागेपछि वनक्षेत्र कालो देखिएको छ। न चराचुरुंगी कराएको सुनिन्छ न बँदेल, बाँदर लगायतका जंगली जनावर रमाएको देखिन्छ। जंगली जनावर गाउँ पसेर गाउँलेलाई दुःख दिन थालेका छन्’, पुनले बताए।

जंगलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ्रे लगायतका पक्षी देखिन छोडेका बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्तीले बताए।

‘कालिज, तित्रा र चिबे चरा त जताततै देखिन्थे, यसो खोल्सीतिर पस्नेबित्तिकै थरिथरिका चराको चिरबिर सुनिन्थ्यो’, घर्तीले भने, ‘अचेल केही दिनयता यी चरा देखिँदैनन्।’

त्यसैगरी वनमा बाक्लै रहने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको उनले बताए।

पछिल्लोपटक जिल्लाका मालिका, मंगला र बेनी नगरपालिकाका विभिन्न वनमा डढेलो लागेको छ। आफ्नो वासस्थान वरपर डढेलो लागेपछि चराचुरुंगी र वन्यजन्तु मरेका र ज्यान जोगाउन भागेपछि वन सुनसान भएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका बताउँछन्। दिनदिनैको डढेलोले वनसँगै टाँसिएका बस्तीका बासिन्दा राति सुत्न नसकेको उनको भनाइ छ। ‘त्रासैत्रासमा छौँ, कतिखेर डढेलो कहाँ देखिने हो भन्ने डर छ’, रोकाले भने।

भिरालो क्षेत्रमा लागेको डढेलोले ग्रामीण बस्तीलाई त्रसित बनाएको मालिका गाउँपालिका– ६ का टेकबहादुर पुनले बताए।

जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न जंगलमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले जानकारी दिए। कतिपय वनमा आगो नियन्त्रणमा आइसकेको छ भने कैयौँ वनमा अझै धुवाँ पुत्ताएको देखिन्छ।

आगलागी हुने क्रम बढ्दै गएको र आगलागी नियन्त्रणका लागि स्थानीय समुदाय र सुरक्षाकर्मीलाई उपकरण वितरण सहितका कार्य गरिएको डिभिजन प्रमुख अधिकारीको भनाइ छ।

वर्षेनि डढेलोविरुद्ध जनचेतना अभिवृद्धिका कार्यक्रम गरिए पनि यो समस्या भने घटेको छैन। डढेलो लगाएपछि वर्षा हुनासाथ घाँस पलाउने विश्वासमा वनक्षेत्र नजिकका किसानले नै डढेलो लाउने गरेका वनसम्बद्ध कर्मचारीको निष्कर्ष छ।

जिल्लाका वनरक्षकहरू असावधानीसाथ मिल्काइएका चुरोटबिँडीका ठुटा र घाँस पलाउने आशमा गोठालाले सल्काउने आगोले नै डढेलो लाग्ने गरेको बताउँछन्।

वनक्षेत्र नजिकका बस्ती–बस्तीमा डढेलोविरुद्धको जिम्मेवारीसहितको सामुदायिक सहभागिता बढाउन सके यो समस्या घटाउन सकिने विज्ञहरू बताउँछन्। वन वरपरका सबै बस्तीमा स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणलाई आवश्यक तालिम दिएर संगठित सामाजिक जिम्मेवारी दिए यसमा सुधार आउनसक्ने उनीहरूको भनाइ छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :