म्याग्दी डढेलो : वन्यजन्तु आहाराको खोजीमा गाउँ पस्दै

dadhelo-fire-on-forest

तातोखबर / म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तु बस्तीमा पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । बेनी तथा आसपासका स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन्।

Advertisement:dadhelo-fire-on-forest

जिल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तुहरू वासस्थान र आहाराको खोजीमा गाउँ पसेको स्थानीयले जनाएका छन्।

‘खेतबारीमा लगाएको बाली र तरकारी खेती बँदेल र बाँदरले नष्ट गरे। हुँदाहुँदा अब त घरभित्रै पसेर हैरान पार्न थालेका छन्’, मंगला गाउँपालिका–५ का किसान टीकानाथ कँडेलले भने।

कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घरभित्रै छिर्न थालेका छन्। उता मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ।

मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्छिन् ‘यो बालीनाली यिनकै लागि लगाइदिएजस्तै भयो।’ खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरका भकारी र भान्छामा पकाएको खानेकुरा समेत खाइदिन थालेका उनले बताइन्।

खेतबारीमा बाँदर र बँदेलले र घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन्। दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ।

वन्यजन्तुले बस्ती-बस्तीमा पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो। जंगलमा डढेलो लागेपछि बाँदर बेसीका बस्तीमा समेत पसेर दुःख दिन थालेको मंगला–५ छिस्वाङका निकेश पुनले बताए। उनका अनुसार दिनभर झाडीमा लुकेर बस्ने बँदेलले रात परेपछि बालीनाली नोक्सान गर्ने गरेको बताए। बँदेलले रातिमात्र बाली नोक्सान गर्छ। ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उनले जानकारी दिए।

जिल्लाकोपश्चिमतर्फका बस्तीमा बँदेल आतंक बढ्दै गएको किसान बताउँछन्। बँदेलले त कैयन् छिमल बच्चा यतै हुर्काइसकेको मालिका गाउँपालिका–१ का किसान टेकबहादुर विकले बताए। दुम्सी आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका उनको भनाइ छ।

बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मचाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैन । डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु,वासस्थान नासिनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्तीबस्ती पसेका स्थानीय कृषकहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस् :  म्याग्दीमा डढेलो ७५ बढी सामुदायिक वन ध्वस्त

प्रतिक्रिया दिनुहोस् :