एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित, युवराज सिंह र केइरन पोलार्डपछि ६ छक्का हान्ने दिपेन्द्र तेस्रो
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । यो प्रतियोगितामा नेपालको यो जित लगातार दोस्रो हो ।
यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । जितसँगै नेपाल ४ अंक बटुल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो । कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जितसम्म डोर्याउन सकेनन् । उनले यसक्रममा ६ चौका र ४ छक्का हिर्काए ।
मोहमद अनाफले २३ रन बनाए भने हिमान्सु राथोडले २२ रन प्रहार गरे । अदनान मिर्जाले १९ तथा ओपनर कमरान खानले १८ रनको योगदान दिए ।
नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले २–२ विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले १–१ विकेट हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदार इनिङ्स खेले ।
उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । पुरुष टी–२० क्रिकेटमा यो उपलब्धि हासिल गर्ने युवराज सिंह र केइरन पोलार्डपछि उनी तेस्रो खेलाडी बनेका छन् । युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । दीपेन्द्रले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए ।
नेपालका लागि ओपनर आसिफ शेखले पनि ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । त्यस्तै कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए । कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३–३ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
सूचना प्रविधिमा लगानी गर्न प्रविधिमन्त्री रेखा शर्माको आह्वान
-
२.
इलाम पछिल्लो अपडेट : सुहाङले कटाए १६ हजार मत
-
३.
लुम्बिनी प्रदेशले जित्यो वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि
-
४.
बझाङ उपनिर्वाचन: एकीकृत समाजवादीसहित अन्य ८ उम्मेदवारको धरौटी जफत
-
५.
इलाम उपनिर्वाचन : एमालेका सुहाङले बनाए झण्डै ५ हजार मतको अग्रता