थ्रीस्टार क्लब पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा

three-star-club-pokhara-gold-cup

तातोखबर, पोखरा / पोखरा रंगशालामा आहा ! रारा पोखरा गोल्डकप फुटबलको आज क्वार्टरफाइनलको पहिलो खेल थियो। सार्वजनिक बिदा भएकाले साधारणतथा भीआइपी प्यारापिटमा दर्शक उल्लेख्य रहेका थिए।

नेपालको थ्रीस्टार क्लब र पाहुना टोली भुटानको पारो फुटबल क्लब प्रतिस्पर्धामा उत्रिएका हुन्। खेलको पहिलो र दोस्रो हाफको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

Advertisement:three-star-club-pokhara-gold-cup

नियमित समयमा दुवैले बराबरी खेलेपछि ३० मिनेटको समय थप भएको थियो।

खेल सकिन ६ मिनेट बाँकी रहँदा थ्रीस्टारले पाहुना टोलीलाई स्तब्ध पार्दै गोलको खाता खोल्यो। पहिलो गोलपछि उत्साहित थ्रीस्टारले केही समयमै पुनः अर्को गोल थप्यो। अन्तिम केही मिनेट सम्हालिन नसक्दा पाहुना टोली पारो थ्रीस्टार क्लबसँग २-० गोलअन्तरले पराजित हुँदै घर फर्कियो।

थ्रीस्टारका लागि दुवै गोल आशिष चापागाईँले गरेका थिए। अत्यन्त प्रतिस्पर्धात्मक खेलको ११४औँ र खेल सकिन एक मिनेट समय बाँकी छँदा चापागाईँले गोल गरेका थिए। नियमित समयमा दुवै टोलीले गोलका केही मौका खेर फालेका थिए।

प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वार्टरफाइनलको खेल सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब हुनेछ ।

यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइलन खेल माघ २० गते हुनेछ। प्रतियोगिताका विजेताले रु. १२ लाख १ हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।​

यसैगरी उपविजेता टोलीले रु. ६ लाख १ हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ। प्रतियोगितामा एक विदेशीसहित १२ टोली सहभागी छन्।

प्रतिक्रिया दिनुहोस् :