आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

तातोखबर, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गत (शुक्रवार) खेल तालिका र समूह सार्वजनिक गरेको हो। सार्वजनिक भएको तालिकाअनुसार नेपाल समूह ‘डी’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्।

Advertisement:

टी–२० विश्वकपको नवौँ संस्करण आगामी २०८१ जेठ २२ गतेदेखि असार १६ गतेसम्म (जुन ४ देखि ३० तारिख) अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ।

प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड, अमेरिका र क्यानडा रहेका छन् भने समूह ‘बी’ मा  इङ्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन्।

प्रतियोगिताको समूह ‘सी’मा न्युजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी रहेका छन्।

प्रतियोगितामा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। आफ्नो समूहमा रहेका प्रत्येक टोलीले एकअर्कासँग १/१ खेल खेल्ने छन्।

प्रतियोगितामा कुल ५५ वटा खेल हुने छन्। पहिलो चरणको खेल सकिँदा प्रत्येक समूहको पहिलो र दोस्रो स्थानमा रहने दुई टोली ‘सुपर आठ’ मा पुग्ने छन्।

‘सुपर आठ’मा पुगेका ८ टोलीलाई पनि दुई समूहमा विभाजन गरिनेछ। ‘सुपर आठ’का खेल सकिँदा दुवै समूहको शीर्षमा रहने दुई टोली सेमिफाइनलमा पुग्ने छन्। सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्ने छन्।

इङ्ल्याण्ड टी—२० क्रिकेट विश्वकपको साविक विजेता हो। सन् २०२२ मा भएको आठौँ विश्वकपको फाइनलमा इङ्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै विश्वविजेता बनेको थियो।

इङ्ल्याण्ड र वेस्ट इन्डिजले हालसम्म २/२ पल्ट टी—२० विश्वकप जितेका छन्। भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले पनि १/१ पटक टी—२० विश्वकपको उपाधि जितेका छन्।

सन् २०१४ मा टी—२० विश्वकप खेलेको नेपाल प्रारम्भिक चरणबाटै घर फर्किएको थियो। त्यसवेला नेपालसँगै यूएई र हङकङ पनि टी—२० विश्वकपमा पहिलोपटक सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application