व्यवस्था परिवर्तनका लागि समय खेर फाल्नुभन्दा अवस्था फेर्न जुटौं

– ऋगेन्द्र गिरी
अब देशमा व्यवस्था फेर्नका लागि अर्को एउटा युग खेर फाल्नु हुदैन । अवस्था परिवर्तन गरौं, गफ होइन उत्पादन गरौं । विसुद्ध देशको सेवाको रुपमा ग्रहण गर्नु पर्ने राजनीतिलाई खेती बनाएर देश कहिल्यै उभो आउँदैन । राजनीतिको खेती नगरौं, उत्पादनमूलक खेती गरौं । कर्णालीको पवित्र कृषिभूमि पक्कै काठमाडौं महले भूमिको दाजोमा ल्याउन सकिन्छ । तर यसका लागि व्यवस्था परिवर्तन गरेर होइन उत्पादनशीलता र क्षमताको विकास गर्नु पर्छ । यसका लागि अब जनताले नेतृत्व चयन गर्दा यस्तै अठोट र त्याग भएको नेताको पहिचान गर्नु पर्छ अनि आफ्नो अमूल्य मतमार्फत नेतृत्व खडा गर्नु पर्छ ।

पर्यावरण, प्रकृति, कला, साहित्य, संस्कृति र परम्परालाई संरक्षण गर्दै विविधतामा एकताको सुन्दर पक्ष, प्रकृतिको आद्भुतपूर्ण समिश्रण, भौगोलिक विविधता, प्राकृतिक श्रोत–साधनले भरिपूर्ण यस स्वतन्त्र राष्ट्र नेपाललाई एक पटक विश्व मानचित्रमा महत्वपूर्ण प्रतिनिधित्व दिलाउन जरुरत छ । सार्वभौम नागरिक एक राष्ट्र हो र सार्वभौम राष्ट्र नै एक नागरिक हो । त्यसैले देशको हितमा सेवाको भावना लिएर उत्पादनमूलक गतिविधिमा लाग्न छोडेर वर्तमान अवस्थामा देखिएको दुषित राजनीतिको शिकार बन्न कुनै पनि नागरिक तयार हुनु हुदैन । देशमा शान्ति र समृद्धि आउँछ भने व्यवस्था परिवर्तनका लागि आफूलाई स्वःस्फूर्त रुपमा वलिदान दिन तयार भएका शहिदहरुले दिएको त्यो योगदानलाई राजनीतिक खेलका रुपमा वर्तमान नेतृत्वले खेलवाड गर्ने गरेका छन् । आफूलाई परिवर्तनको पक्षधरका रुपमा देखाएर व्यवस्था परिवर्तनका नारा दिदै अझै पनि ठूला जनआन्दोलनहरुलाई निम्त्याउने घटनाहरु देखा पर्ने गरेका छन् । यस्ता घटनाहरुको पछाडि लागेर समय खेर फाल्ने सोच अब कसैले पनि लिनु जायज छैन ।

Advertisement:

त्यति ठुला राजनीतिक परिवर्तनसँगै व्यवस्था परिवर्तन भए, नेतृत्व परिवर्तन भए तर सर्वसाधारण जनतालाई कुनै क्षण या कुनै दिन आफ्नो अवस्था परिवर्तनको महसुस भएन । सामाजिक बिकाश, आर्थिक परिवर्तन, सांस्कृतिक परम्पराको संरक्षण, असीमित प्रकृतिक श्रोत साधन, प्रकृतिको अभुतपूर्ण सौन्दर्यताको उपहार, जातीय श्रंगार, भौगोलिक संस्कृति, विविधतामा एकता जस्ता कुरालाई सधै चुनावी ऐजेण्डामा सीमित राखियो । उत्पादन निरुत्साहित पार्ने नेतृत्व, नातावाद–कृपावाद हुदै खुल्लम्–खुल्ला नीतिगत भष्टचार, आफूअनकुल कानून निर्माण तथा कार्यान्वयन गर्ने र जनतालाई सधै आफ्नो राजनैतिक अङ्क गणितको हिसाब मिलान गर्ने मतदाता वा राजनीतिक कार्यकर्ता बहेक ठानिएन ।

अब जनता स्वतन्त्र छन्, अध्ययनशील छन्, विज्ञान, खोज तथा अनुसन्धान विश्वास गर्दछन, वातावरण संरक्षणको महत्व बुझ्छन् । हावाका बेतूक कूरा नसुनी आफै आकडाको सत्य–तथ्य र वैज्ञानिक आधार बूझ्न र बुझाउन योग्य छन् । सहि गलतको पहिचान मात्र नभई ईतिहास र वर्तमानमा नेतृत्वबाट प्राकृतिक एवं सांस्कृतिक संरक्षणलगायत राष्ट्रिय हित हुने दीगो विकाशको कुनै पनि प्रयास नभएको आम जनताले महशुस गरिरहेका छन् । वर्तमान नेतृत्वले आफू सत्तामा रहिरहन आफ्नो स्वार्थ परिपूर्तिका लागि बैदेशिक शक्तिको गोटी बन्ने अनि देश र जनतालाई आफूअनकुल प्रयोग गर्ने कूरा प्रष्ट भई सकेको छ ।

राष्ट्रको हित गर्ने, जनताको अधिकार सुरक्षित गर्ने, व्यवस्थित प्रणाली लागु गर्ने, जनतालाई राजनीति र बिकाश निर्माणसँग प्रत्यक्ष जोडने, राष्ट्रियस्तरमै आमसर्वसाधारणका लागि रोजगारी सिर्जना गर्ने र आर्थिक विकासका हरेक संम्भावनालाई उजागर गरी खोज तथा अनुसन्धानका साथै नविनतम् प्रविधी अपनाएर जैविक र रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने विषयमा वर्तमान राजनीतिक नेतृत्व चुकेको छ । नेपालमा जनताका मर्म बुझेर काधमा काध मिलाउने नेतृत्वको सधै खाचो रह्यो । सर्वसाधारण जनता र राष्ट्रले कहिल्यै माटोको माया गर्ने नेतृत्वलाई आभाष गर्न पाएन । नेतृत्वले सधै राष्ट्रको सम्बेदनशील भावना, जातीय विविधता र भौगोलिक अवस्थाको जटिलतामाथी फोहोरी खेल खेली सत्ता निकट रहीरहने अवस्था बिस्तारै परिवर्तन हुदैछ, समय पक्कै लाग्ला तर असम्भव छैन । किनभने हामीसँग अथाह जमीन र श्रोतहरु छन् । त्यस्ता श्रोतहरुमध्ये उत्पादनका लागि सामान्य एक थरिको व्यावसायिक खेतीलाई उदाहरणका रुपमा अपनाए हुन्छ । त्यो एउटा उदाहरण हुन सक्छ बहुउपयोगी वनस्पति गाँजा ।

आममानिसको अत्यावश्यकता गाँस, बास, कपास, औषधि, कच्चा पदार्थ, जैविक वतावरण हो । यसको पूर्तिका लागि कुनै पनि व्यवस्थामा उत्पादन आवश्यक पर्छ । उत्पादनको कारोबारलाई बजारसँग जोड्ने गरिन्छ । विश्व बजारमा तत्कालको सर्वाधिक माग र भविष्यमा विश्व अर्थतन्त्रको मेरुदण्डको रुपमा लिइएको र मानव संस्कृतिको बिकाशमा परम्परादेखि महत्वपूर्ण मानिएको वनश्पति गाँजालाई वैधानिक गराउन सक्ने हो भने नेपाली किसानलाई यसको खेतीतर्फ केन्द्रित गर्न गाह्रो छैन । यसले नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउन सक्छ । मानव स्वास्थ्यका लागि अनुकुल मानिएको गाँजा उत्पादनसँगै प्रशोधन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउने हो भने यो एउटा भरपर्दो वैदेशिक मुद्रा भित्र्याउने श्रोत बन्न सक्छ ।

एउटै गाँजाको बोटबाट औषधीजन्य वस्तुका साथै परिहनका सामाग्रीदेखि लिएर हस्तकलाजन्य विभिन्न सामाग्री निर्माण गर्न सकिने अध्ययनहरुले देखाएका छन् । स्थानीय स्रोत र जनशक्तिको उच्च प्रयोगमा प्रशोधन गरी उत्पादित वस्तु वाह्य बजारमा निर्यात गर्न सकिने सम्भावना रहेको छ । यसले देशमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सक्छ । यस्ता उतपादनको माग विश्व बजारमा देखिदै आएको पनि छ । दीर्घकालिन् रुपमा आर्थिक, सांस्कृतिक, प्राकृतिक र भौगोलिक संरक्षणमा लाग्नु पर्ने नेपाली युवा जनशक्ति पलायन हुनबाट रोक्न पनि यसबाट ठूलो टेवा पुगन सक्छ । विश्वको ध्यान नेपालतर्फ केन्द्रित गर्नु समेत अभियान एउटा साधन नै बन्न सक्छ । नेपाललाई माया गर्ने, प्राकृतिक सम्पदाको संरक्षण चाहने, ऐतिहासिक र पुरातत्विक महत्व बुझेका नेपालीहरु यहाँ श्रोतको अभाव देख्दैनन् तर पनि नीति र विधानका कारणले यहि देशमा भविष्य खोज्न नसकिने देखेर पलायनको विकल्प खोज्ने गरेका छन् । यो उनीहरुको बाध्यता हो ।

देशको आर्थिक बिकाशका लागि स्थानीय उत्पादनमा जनताको प्रत्यक्ष सहभागितालाई प्रोत्साहन गर्न साथै स्वदेशी उत्पादन प्रयोगमा जनताको प्रत्येक्ष सहभागितालाई प्राथमिकता दिने र उत्पादनलाई अर्थतन्त्रको मेरुदण्ड ठान्ने समूह अब विस्तारै राजनैतिक शक्तिको रुपमा प्रस्तुत हुदैछ । ‘जय देश, जय चरेश’ को व्यवस्था परिवर्तन गरेको वर्तमान युवा पुस्ताले एकीकृत मागका रुपमा गाँजाको वैधानिकता खोज्दै छ । संसदमा वहसको विषय समेत बनेको गाँजाको वैधानिकता पछिल्लो समयमा सेलाएको र यसले युवा पुस्तामा निराशा देखाएको छ । नेपालको भूगोल र हावापानी सुहाउदो उत्पादन बन्न सक्ने गाँजालाई समयको गतिसँगै लैजान अहिलेको युवा पुस्ता तयार छ ।
आफ्नो स्वार्थ परिपूर्ति गर्न र बिलाशी जीवन जिउन आवश्यक डलरसँग जनताको जीवन साट्ने प्रथाको राजनीतिलाई अन्त्य गर्ने उद्देश्य लिएर उत्पादनलाई बैकल्पिक राजनीति बनाउन जरुरी देखिएको छ । यो उद्देश्यप्राप्तिका लागि ‘नेपाल गाँजा वैधानिक महाअभियान’ सञ्चालनमा पनि ल्याईएको छ । अब राजनीतिक दलको बिकल्प पनि यहि महाअभियान बन्दैछ । नेपाल गाउँ जागरण दल (ने.गाँ.जा दल) तत्काल दर्ता गरी राष्ट्रिय रुपमा चुनावमा होमीने निर्णय समेत गरिएको छ । गाँजा सचेतना अभियान सञ्चालन हेतु पहिल्यै आवश्यक सबै संरचना तथा सञ्जाल रहनु र परिवर्तन पक्षधरको बलियो साथका कारण राष्ट्रिय राजनीतिमा यसको गहिरो प्रभाव पर्ने र पुराना राजनीतिक दललाई समेत चुनौति बन्न सक्ने अभियानको दावी पनि छ ।

एउटै माग गाँजाको औषधि, औद्योगिक, सांस्कृतिक र मनोरञ्जनात्म प्रयोगको वैधानिकता गराई आर्थिक बिकाशको मुख्य आधार बनाउने कुरालाई जनताबाट अनुमोदन गराई अर्थतन्त्र सरल र सहज तरिकासँग परिवर्तन गर्नु चुनौति लिएर मैदानमा आउने स्पस्ट देखिन्छ । यसलाई नाराको रुपमा पनि उजागर गर्न खोजिएको छ : “घर घर मा रोजगार गाँजा नै हो नेपाल सरल र बैज्ञानिक आर्थिक उन्नतीको आधार ।’
(लेखक आर्थिक समृद्धिका लागि अभियान्ता पनि हुन्)

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application