हालको सत्तारूढ गठबन्धन कुनै हालतमा नटुट्ने: प्रचण्ड



तातोखबर, काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालको सत्तारूढ गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । कांग्रेसले आयोजना गरेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मा उनले देशको रक्षा र सुशासनका लागि गठबन्धन जोगाएरै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

राष्ट्रिय सहमति बनाएर जाऊँ भनेर आफूले मुख्‍य राजनीतिक नियुक्तिका पदहरूमध्ये राष्ट्रपति पद कांग्रेसलाई दिऊँ भन्ने प्रस्ताव राखेको पनि उनले बताए । कांग्रेसलाई बाहिर राखेर लोकतन्त्र सहज तरिकाले अघि जाँदैन भनेर आफूले गठबन्धन गरेर सहकार्य गरेको जिकिर गरे ।

उनले भने, ‘कांग्रेसलाई सहमतिले नै राष्ट्रपति दिऊँ त्यसले राम्रो सन्देश दिन्छ भनेर मैले प्रस्ताव राखेको थिएँ । त्यसमा सहमति हुन सकेन र मेरो अन्तरआत्माले कांग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक आन्दोलन र शान्तिप्रक्रिया पूरा हुँदैन भन्ने लागेपछि गठबन्धन गरेर सहमति गरिएको हो ।’

प्रतिपक्षलाई हामीले लेखा समितिबाहेक अरू नदिने गरेको भए पनि यसपटक संक्रमणकालीन काम टुंग्याउन एमालेलाई तीनवटा समितिको सभापति दिइएको पनि उनले प्रष्ट पारे ।

गठबन्धन टिकाउनका लागि सबैले सक्रिय भूमिक खेल्न पनि उनले अनुरोध गरे। त्यस्तै, प्रचण्ड सानो पार्टीबाट प्रधानमन्त्री बन्यो भनेर कसैले रिसराग नराख्न पनि उनले अपिल गरे। आफू प्रधानमन्त्री बन्नका लागि ठूलो जोखिम उठाएको पनि उनले दाबी गरे ।

त्यस्तै, आफ्नो कार्यशैली सुधार गर्दै जाने र त्यो काम आफ्नै कार्यालयबाट सुरु गरिसकेको पनि उनले बताए ।

कांग्रेसले संस्थापक नेता बिपी कोइराला आठ वर्षको निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा पुस १६ लाई मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको