महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिर

काठमाडौँ, ६ कात्तिक / वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ । मन्दिरमा आज बिहानदेखि नै दर्शन, पूजा पाठ गर्न भक्तजनको घुँइचो लागेको हो । भक्तजन लामो लाममा दर्शन गर्ने प्रतीक्षामा बसेका छन् ।

Advertisement:

तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानी मन्दिर वसन्तपुर दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एकपटक दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । यसैले गर्दा पनि यहाँ भक्तजनको भीड लागेको हो ।

हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा तलेजुका साथै जगन्नाथ, शिवपार्वती, ठूलो घण्टा, कालभैरव, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत सम्पदा छन् ।

सर्वसाधारणका लागि प्रत्येक वर्ष बडादसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइएको हो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । महाअष्टमीको रात्रिमा कालरात्रि नामले गरिने पूजामा यो बलि चढाउने गरिन्छ । नेपाली सेनाको मुख्यालयबाट मार हान्न सैनिक खटाउने गरिएको छ ।

पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा ढोका थिए । तलेजु भवानी मन्दिरमा चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो । जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे । देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै ढोकाबाट प्रवेश गराइन्थ्यो । सन् १९९० को भुइँचालोपछि भने अरू सबै ढोका बन्द गरेर एउटैबाट मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको हो ।

तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पूजिन्छ । तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि हुने गरेको छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् । उनी सिम्रौनगढका राजा थिए ।

मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर एक सय २ फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ ।

तलेजु मन्दिर वर्षमा एकपटक महानवमी दिनमात्र सर्वसाधारणका लागि खुला गरिए पनि यहाँ दिनहुँ पूजाआराधना हुन्छ । कर्माचार्यका थरका पुजारी यहाँ पूजा गर्ने परम्परा छ । तलेजुको पूजा गर्न आठ जना मानिस संलग्न हुन्छन् । त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा कर्माचार्य, जोशी र राजवंशी गरी तीनवटा थरका मानिसले मात्र प्रवेश पाउने नियम छ ।

राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् । थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ । नगरा बजाउने, घण्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि । यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए ।

तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ । एउटा पर्वमा १६ जातका ४२ जना मानिस अनिवार्य चाहिने व्यवस्था छ । तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन् । राणाकाल र त्यसअघि राजपरिवारका सदस्यले मात्र पूजा गर्ने अवसर पाएका थिए । तलेजु मन्दिरमा पूजा गर्न विधि–विधान पु¥याउनुपर्छ । त्यसका लागि ज्योतिष कहाँ गएर तिथिमिति हेराएर, शुभ साइत र शुभ मिति जुराउनुपर्छ । त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ ।

हनुमानढोका क्षेत्रमा तलेजु मदिर सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो । मन्दिर अग्लो भएकाले परदेखि नै यसको आकर्षण देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application