जनकपुरधाममा रामसीताको मूर्ति राखि झुलाउने झुलन महोत्सव शुरु
काठमाडौँ / प्राचीन मिथिला राज्यको राजधानी जनकपुरधाममा झुला महामहोत्सवको रौनक शुरु भएको छ। चर्चित संस्कृति र पर्व मध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरु संगीतमय बनेका छन्। झुलन उत्सवमा सहभागी हुन नेपाल र सीमावर्ती भारतबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु जनकपुर पुगेका छन्।
मिथिला क्षेत्रमा रहेका मठमन्दिर र कुटीहरुमा आयोजना भइरहेको झुला उत्सवमा गाइने धार्मिक गीत संगीतले सबैलाई मन्त्रमुग्ध बनाइरहेको हुन्छ। जनकपुर र आसपासका प्रत्येक मठमन्दिरमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीताको मूर्ति राखि झुलाउने परम्परा छ। मिथिलाको सांस्कृतिक पर्वका रुपमा चिनिने झुला उत्सव साउन तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ। झुला उत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणीक मान्यता रहेको छ।