NTC App - Ad

उपप्रधानमन्त्री श्रेष्ठद्वारा मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाको अवलोकन

मकवानपुर – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवसेवा आश्रम मुख्य सेवाकेन्द्र हेटौंडाको अवलोकन गरेका छन् ।
यस अघि पनि उनले मानवसेवा आश्रमको काठमाडौं सेवाकेन्द्र रानिवनको अवलोकन भ्रमण गरि आफैंले आश्रितहरुलाई भोजन गराएका थिए । उक्त भ्रमणको क्रममा मानवसेवा आश्रमको सेवालाई थप उचाइमा पुर्याउने प्रतिवद्धता गरेका उनले सो लगतै मानवसेवा आश्रमका अध्यक्ष सहित अभियान्ताहरुलाई प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, गठबन्धन दलका शिर्षस्थ नेता र मन्त्रीपरिषदका सदस्यहरुसँग भेट गराएका थिए ।
उक्त भेटमा आश्रमले देशलाई २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणका लागी नेपाल सरकारको तर्फबाट अपेक्षित सहयोग, समन्वय र सहजीकण प्रस्तुतिकरण समेत गरेको थियो ।
अन्य प्रयोजनको लागि हेटौंडा आएको समयमा व्यस्तताकाबिच आश्रमको अवलोकन भ्रमण गरिनुले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण अभियानलाई सफल बनाउन इमान्दारीसाथ प्रयत्न गरिरहेको अनुभूति भएको मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताएका छन् ।

मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य सहित २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको सामाजिक संस्था हो ।
हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :