ऋषि पञ्चमी पर्व मनाउँदै सकियो तीज

काठमाडौं – आज भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व, नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिका अर्थात तीजको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने चलन छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने पनि भनिन्छ ।

Advertisement:

सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछ ।हरितालिका अर्थात तीजको व्रत एवं पूजा आजा महिला र पुरुष दुवैले गर्ने शास्त्रीय मान्यता रहे पनि ऋषि पञ्चमीमा भने महिलाले मात्रै पूजा आजा गर्नुपर्ने भन्ने रहेको छ ।

रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

ऋषिपञ्चमीको पूजा गरेसँगै यस वर्षको हरितालिका तीज पर्व सकिएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application