देशभरका टोल विकास संस्थाहरुका लागि सुझावात्मक प्रस्तावः

नेपालमा ३ इकाई सरकार सञ्चालनमा रहेका बेला स्थानीय सरकारका लागि गाउँ तथा नगरपालिकाका वडाहरुको विकास निर्माणलाई गतिशील बनाउन तथा सामुदायिक सन्तुलन कायम राख्न अर्को एउटा इकाईको कल्पना गरिएको छ । त्यो इकाई हो वडाभित्रका टोलहरुमा टोलस्तरका सामुदायिक संगठनहरुको इकाई । जसलाई टोल विकास संस्थाको नाममा सञ्चालन गर्ने अभ्यास गरिदै आएको छ ।
यो विक्रम सम्बत २०७२ सालमा नेपालको संविधान सभाबाट जारी गरिएको संविधानको आशयलाई पुष्टि गर्ने अभ्यासका रुपमा पनि लिन सकिन्छ । उक्त संविधानलाई समाजवादोन्मूख संविधानको रुपमा ब्याख्या गरिदै आएको छ । त्यसका लागि पनि वडाभित्रका घरधुरीको संख्यामा आधारित गठन गरिएको टोल विकास संस्थाहरुको अहम् भूमिका रहन्छ । यसलाई समाजवादको संकेत मान्न सकिन्छ ।
यस्ता टोल विकास संस्थाहरुलाई नेतृत्व गर्न समुदायहरुले आफनो टोलका लागि आवश्यक पर्ने विभिन्न भौतिक, सामुदायिक तथा अन्य किसिमको विकासको माग राख्न सकिने माध्यमको रुपमा लिईएको छ । स्थानीय सरकारको वडा समितिभित्रका टोल विकास संस्थाहरुले के कस्ता कामहरु कसरी सञ्चालन गर्न सक्छन् ? भन्ने विषयमा एउटा विशेष कार्यदिशा समेटिएको निर्देशिकाको नमूना पत्र समेत वितरण गरेर यस्ता टोल विकास संस्थाहरु सञ्चालन गर्न सकिने अवधारणा पनि प्रयोगमा आएका छन् ।
ती टोल विकास संस्थाको चालू कार्य समितिले स्थानीय टोल क्षेत्रभित्रका बासिन्दाहरुको भौतिक र सामाजिक विकासका लागि निम्नानुसारको कार्यक्रमहरु सञ्चालन गर्न सक्ने भएकोले यो प्रस्ताव पत्र कतिको उपयुक्त हुन सक्ला ? पक्कै पनि निम्नलिखित बुँदाहरुको कार्यान्वयन हुन सकेमा स्थानीय टोल विकास संस्थाहरुलाई सहयोग पुग्न सक्ला भन्ने लागेको छ । :
- टोलबासीहरुबीच एकता तथा मेलमिलापका लागि विवाद हुन सक्ने विषयमा गाउँपालिकाका न्यायिक समितिका प्रमूखको उपस्थितिमा छिमेकीहरुबीच छलफल गराई त्यस्ता विषयमा मेलमिलाप गराउन विशेष पहल गर्ने ।
- टोलबासीहरुले स्थानीय बस्तीभित्र उत्पादन गरेका उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा विक्री वितरणका लागि मासिक वा पाक्षिक हाट बजार सञ्चालन गरी स्थानीय उत्पादकहरुलाई प्रेरित गर्ने ।
- स्थानीय टोलबासीहरुले भोग्दै आएको बत्ती, पानी, मोटर बाटो तथा पैदल मार्गहरु सूचारु गर्न टोलबासीहरुलाईं जागरुक गर्ने तथा गाउँपालिका वा वडा कार्यालयहरुबाट आवश्यक भौतिक श्रोतहरु उपलब्ध गराउन पहल गर्ने ।
- प्रत्येक वर्ष माता तिर्थे औंशी तथा कुशे औंशीको अवसर पारेर वडाबासीहरुमध्यको ७० वर्ष नाघेका बृद्ध बृद्धाहरुलाई सम्मान गर्ने तथा जेष्ठ नागरिकहरुमा भएको सीप, ज्ञान र अनुभव युवा पुस्तामा सार्न विभिन्न किसिमका तालिमलगायतका गतिविधिहरु सञ्चालन गर्ने ।
- टोलबासीहरुका परिवारमा उत्पन्न हुन सक्ने तनाव न्यूनिकरणका लागि परामर्श दिलाउने तथा कुनै किसिमका घरेलु हिंसा हुदै आएको भए त्यसलाई निवारण गर्न आवश्यक पहल गर्ने । यसका लागि पाक्षिक रुपमा घरदैलो कार्यक्रम गरी आवश्यक प्रतिवेदन तयार गर्ने र गाउँपालिकालगायत सरोकारवाला निकायलाई बुझाई पीडितहरुलाई न्याय दिलाउने र पीडकहरुलाई कारवाही गराउने ।
- टोल विकास संस्थाका सदस्य परिवारभित्र कुनै प्रकारको शुभ कार्य सञ्चालन गरिदै छ भने त्यस्तो अवसरलाई उल्लासमय बनाउन थप सहयोग उपलब्ध गराई स्थानीय कला र संस्कृति बचाउन जोड दिने ।
- टोलभित्र शान्ति कायम गर्न अवैधानिक मादक पदार्थहरुको बेचबिखनलाई निरुत्साहन गर्ने र मादक पदार्थ सेवन गरी कसैमाथी अभद्र व्यवहार गर्ने व्यक्ति तथा समूहलाई आवश्यक कारबाहीका लागि पहल गर्ने साथै उनीहरुलाई सामाजिक कारवाही गर्ने ।
- टोलबासीहरुले उपभोग गरी खेर गएका फोहोरका रुपमा उत्पन्न हुने वस्तुहरुलाई संकलन गरी त्यसको व्यवस्थित विसर्जनका लागि टोलभित्रको एउटा उपयुक्त स्थानलाई डम्पिङ स्थल छनौट गरी ती वस्तुहरु व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम गर्ने ।
- टोल बस्तीभित्रका आर्थिक अवस्था कमजोर भएका प्रतिभावान विद्यार्थीहरुलाई शैक्षिक अवसर दिलाउन सम्बन्धित निकायसम्म पहल गर्ने ।
- टोलवस्तिका बासिन्दाहरुलाई यातायात सेवा सहज बनाउन सहुलियत भाडादरमा यातायात व्यवसायीहरुसँग समन्वय गरी दैनिक उपभोग्य वस्तुहरु आलोपालो प्रणालीमा भौगोलिक दूर्गम अवस्था हेरेर घरदैलोसम्म पु¥याउन साप्ताहिक, पाक्षिक वा मासिक रुपमा सार्वजनिक ढुवानी सेवा सञ्चालन गर्ने ।
- स्थानीय टोलबासीहरुको सहमतीमा नेपालीहरुको महान् चाड बडा दशैं पर्वको अवसरमा टोलभित्रको सबैभन्दा बृद्ध बुबा बृद्धा आमाको हातबाट टोलबासीहरुलाई एक दिन टिका ग्रहण गराउन प्रेरित गर्ने तथा चाडपर्व जनाउने भौतिक तथा सांस्कृतिक प्रचलनलाई निरन्तरता दिदै जाने ।
- टोलबासीहरुले कुनै पनि दुःखद र अप्रिय घटनाको सामना गर्नु पर्ने अवस्था आउदा त्यस्तो विपत्तिमा कुनै प्रकारका सहयोग उपलब्ध गराउन सम्पर्क तथा श्रोतको माध्यम विस्तार गर्ने ।
- टोलको उपयुक्त स्थान हेरी त्यस्तो स्थानमा सामाजिक एवं सांस्कृतिक महत्वको गतिविधि सञ्चालन गर्न सकिने सार्वजनिक भौतिक संरचना निर्माणमा स्थानीय टोलबासिन्दाहरुलाई उत्साहित गरी स्थानीय पहिचान झल्काउने धरोहर निर्माण गर्ने ।
- टोलभित्र भौतिक अवस्था र टोलबासीहरुको अभिरुचि हेरी भईपरी आउदा प्रयोग गर्न सकिने ढिकुरेपाटी निर्माणमा आवश्यक पहल गर्ने ।
- स्थानीय टोलबासीहरुले उत्पादन गर्ने फलफूल, तरकारी, दुग्ध पदार्थ तथा अन्न बालीहरुको परिमाण मापन गरी टोलमा कुन् वस्तु कसले कति मात्रामा उत्पादन गरेको छ र तुलनात्मक रुपमा उत्पादन शक्तिको मूल्यांकन गरी पुरस्कृत गर्न त्यस्ता वस्तुहरुको तथ्यांक संकलन गरी वार्षिक रुपमा एक समारोहको आयोजना गरी पुरस्कार वितरण गर्ने ।
- पाहुना सत्कारसम्बन्धी विभिन्न किसिमका होमस्टे सुविधासहित ग्रामीण पर्यटन प्याकेज निर्माण गरी टोलभित्रका सांस्कृतिक परम्परालाई निरन्तरता दिने गतिविधि सञ्चालन गर्ने साथै टोलमा आयआर्जन बृद्धिहुने गतिविधिहरु सञ्चालनमा स्थानीय बासिन्दाहरुलाई प्रेरित गर्ने ।
- टोलभित्र कसैबाट हेपिएका परिवार वा व्यक्तिहरुलाई मानवीय समानतामा ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने साथै टोलबासीहरु एकअर्काबीच कुरा काट्ने र वैमनष्यता उत्पन्न गर्ने खालका गलत प्रबृतिलाई निरुत्साहन गर्ने ।
- टोलभित्र स्थापना हुदै गरेका वा सञ्चालनमा आएका विभिन्न व्यावसायिक एवं व्यापारिक फर्महरुलाई प्रेरित हुने गरी त्यस्ता फर्महरुको तथ्यांक संकलन गरी उनिहिरुको फर्म दर्ता प्रकृया एवं नविकरण र निरन्तरताका लागि विभिन्न प्रकारका सहयोग उपलब्ध गराउने ।
- टोलभित्र हुन सक्ने विकृति र विसंगति निरुत्साहन हुने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ।
- टोलवस्तिभित्र सञ्चालन तथा क्रियाशिल हुन नसकेका सामाजिक संघ संस्थाहरुलाई सक्रीय बनाउन उत्प्रेरित गर्ने ।
- टोलभित्रका जैविक विविधता संरक्षण गर्ने तथा उपभोगजन्य प्राकृतिक वस्तुहरुको अनाधिकृत दोहन रोक्न विभिन्न गतिविधिहरु सञ्चालन गर्ने ।
- टोलभित्रका बहुउपयोगी प्राकृतिक श्रोत र साधनहरुको पहिचान गरी त्यसको प्रतिवेदन स्थानीय वडा कार्यालयमार्फत गाउँपालिकासम्म पु¥याई त्यसबाट टोलबासीहरुलाई कुनै न कुनै माध्यमबाट लाभान्वित गराउने ।
- टोलभित्रका जेष्ठनागरिक, महिला तथा बालबालिकहरुमाथी हुन सक्ने कुनै प्रकारका दुव्र्यवहारलाई नियन्त्रण गर्ने र यस विषयमा विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्ने ।
- टोल विकास संस्थाको क्षेत्रका वस्तिभित्र विभिन्न कृषि तथा पशुधनलाई वन्यजन्तुहरुबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न सामूहकि रुपमा रेखदेख तथा नियन्त्रणका गतिविधिहरु सञ्चालन गराउने तथा आलोपालो गरी हेरालु परिचालन गर्नुका साथै त्यस्ता वन्यजन्तु संरक्षण गर्न समेत स्थानीय टोल बासीहरुलाई प्रेरित गर्ने ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस