चलचित्र सफल हुँदा पनि निर्माता-निर्देशककाे सामाजिक सञ्जालमा एकअर्काप्रति कटाक्ष
काठमाडौं / दशैंको छेकोमा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ र दशैँमा प्रदर्शन भएका ‘छक्का पञ्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ व्यावसायिक रूपमा सफल भए। तिहारमा प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पनि सफलता हात पार्यो।
आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, चलचित्रहरूले राम्रो व्यापार गरे पनि निर्माता निर्देशक एकअर्काबीच कटाक्ष र आरोपप्रत्यारोप सामाजिक सञ्जालमा चलिरहेको छ ।
दीपकराज गिरीले मंगलबार लेखेका थिए, ‘प्रायः हलले सो दिएन भनेर हामी उफ्रिन्छौँ तर हेरौँ त ‘नगण्य सोबाट शुरु भएको पूर्णबहादुरको सारङ्गीले आफूलाई कहाँ पुर्यायो? योभन्दा पहिला १२ गाउँ त्यस्तै, समस्या कहाँ रहेछ त?’
गिरीले बुधबार पुनः अर्को स्टाटसमा लेखे, ‘यता पूर्णबहादुरको सारङ्गीले हलहरूमा आगो बालिरहेको छ। क्युएफएक्स हलमा रहेका ‘छक्का पञ्जा’ का सोहरू अझै पनि राताम्मे छन् । १२ गाउँको पनि त्यस्तै छ । एक्सन, कमेडी, सेन्टिमेन्टल सबै प्रकारका नेपाली फिल्म चल्नुले नेपाली सिनेमाको भविष्य राम्रो देखाउँछ।’
कलाकार गिरीको स्टाटसप्रति कटाक्ष गर्दै अभिनेता, निर्माता तथा निर्देशक निश्चल बस्नेतले व्यङ्ग्यात्मक स्टाटस लेखे। ‘कोही चलचित्रकर्मी, जो आजकाल हल पनि चलाउँछन्, मौका पाएर ठूलो गफ छाडिहालेछन्, ‘नेपाली चलचित्रले राम्रो गर्दै गएपछि सो बढेको बढ्यै छ त भन्दै’, उनले लेखेका छन्, ‘हो हजुर हो । विदेशी चलचित्र राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट सो दिन्छ नि, त्यही दिमागले नेपाली चलचित्र पनि राम्रो हुन्छ, सुरुमै राम्रो सो दिनु पर्छ भनेर किन सोच्न सक्दैन? सधैँ नेपाली चलचित्रले चाहिँ प्रमाणित गरिरहनुपर्ने हो? निर्माताले सो थपिदिनु न भनेर गुहार्नुपर्ने नै हो? विदेशी चलचित्रको सो घटाएर नेपाली चलचित्रलाई दिएका छौँ भनेर भ्रम नछर्दा हुन्छ।’
यसैगरी निर्माता अर्जुन कुमारले सामाजिक सञ्जालमै दुखेसो पोखेका छन्। ‘हल सञ्चालक साथीहरू, सानो संसारलाई एक-एक सो सबै हलले दिनु न। ‘सानो संसार’ लाई एक सो दिँदा तपाईंलाई घाटा हुँदैन। जुन समयमा भए नि हुन्छ’, उनको आग्रह छ।