चलचित्र ‘नमेटिने घाउ’को पोष्टर सार्वजनिक, यस्तो देखिए ओली
काठमाडौं / चलचित्र ‘नमेटिने घाउ’को पोष्टर सार्वजनिक भएको छ। हिजो(सोमबार) सार्वजनिक पोष्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अग्रस्थान दिइएको छ।
उक्त फिल्मले भदौ ७ गते प्रदर्शन मिति तोकेको छ। पोष्टरमा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत पनि मुख्य कलाकारको रूपमा देखिएका छन्।
नायक रमित ढुंगानाको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्म नेपालभित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितको वास्तविक घटनामा आधारित रहेको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि यो फिल्ममा अभिनय गरेका छन् । तर पोष्टरमा भने उनलाई देखाइएको छैन।
निर्देशक ढुंगानाका अनुसार यस चलचित्रमा सांसदद्वय देवेन्द्र पौडेल, ज्ञानेन्द्र शाही, नेपाल प्रहरीहरू लगायत एसिड आक्रमणमा परेकाहरूको समेत अभिनय छ।
उनले भने, ‘एसिड आक्रमणमा परेका व्यक्तिले समाजमा भोग्नुपरेको दर्दनाक दु:ख, पीडा र अपहेलित हुनु परेको कथाको माध्यमबाट फे्रीरि हाम्रो समाजमा दिदी बहिनी, दाजुभाइहरू माथि यस्तो घटना नघटोस् र यस्तो अपराध गर्ने अपराधी ले कडाभन्दा कडा सजाय पाओस्, बलियो कानुन बनोस् भन्ने नै हो। यो एउटा चलचित्र मात्रै नभएर अभियान पनि हो।’
उनले यो चलचित्रमा एसिड आक्रमणमा परेका व्यक्तिहरूको वास्तविक जीवनकथा देखाउन खोजेका भन्दै भदौ ७ गते सिनेमा घरमा गएर हेरिदिन पनि आग्रह गरेका छन्।
‘यो चलचित्र २०८१ भाद्र ७ गतेदेखि देशैभरिका सिनेमा घरमा प्रदर्शन हुँदै छ। यो अभियानमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीको साथ र सहयोगको अपेक्षा गर्दै यहाँहरूको पनि अर्थपूर्ण सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन्।