जलवायु परिवर्तनकाे मुद्दामा अन्तरराष्ट्रिय स्तरमा दह्रोसँग उपस्थित हुनु पर्छ : सांसद शेर्पा
काठमाडौँ / राष्ट्रियसभामा नेकपा एमालेका सांसद सोनम ग्याल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले जलवायु परिवर्तनका समस्या बढ्दै गइरहने तर सरकारले आवश्यक तयारी नगर्ने कुरा राम्रो नभएको बताए। उनले नेपालमा अध्ययन अनुसन्धान दिनहुँ हुने तर नागरिकलाई पूर्वसूचित गर्न नसक्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताए।
आइतवार राष्ट्रियसभा बैठकमा बोल्दै उनले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै असर भएको बताएका हुन्। उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे सरकारले अन्तरराष्ट्रिय मञ्चमा मजबुत भई मुद्दा उठाउनुपर्ने बताए।
शेर्पाले भने, ‘नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिने गरेको छ। सरकार कसरी अघि बढ्ने भन्नेमा पनि दुविधामा छौँ। नेपालमा जति अध्ययन भएका छन्, त्यो जनतालाई सुसूचित गर्न सकिरहेका छैनौँ। यहाँ एनजिओ च्याउ फले जस्ता छन् र अध्ययन च्याउ फले जस्तो छ। कुन पोखरी खतरा र कुन सुरक्षित छ भनेर प्रश्न गर्ने हो भने सरकारसँग डकुमेण्ट छैन। नेपालमा गरिने सबै अनुसन्धानको डकुमेण्ट सबैभन्दा अगाडि सरकारलाई उपलब्ध गराउनुपर्छ।’
सांसद शेर्पाले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा अन्तरराष्ट्रिय रूपमा दह्रोसँग उपस्थित हुने गरी अघि बढ्न जरुरी रहेको बताए। उनले जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्ने बताए।