विमतिका विषयहरुमा चुप लागेर बस्न एमालेसँग गठबन्धन गरेका होइनौँ : विश्वप्रकाश

bishow prakash sharma

काठमाडौँ / सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने जिकिर गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतिका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे।

Advertisement:bishow prakash sharma

काँग्रेस र एमालेबीच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाइ थियो। महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महशुस होला भनेर काँग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महशुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए।

उनले आफूहरुबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबीसमेत गरे। महामन्त्री शर्माले सत्तारुढ दलहरुबीच विमतिका कयौं विषयहरु रहेको उल्लेख गर्दै कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्नेकुरा हुनै नसक्ने बताए। उनले सरकारको भविष्य काम र संयमतामा निहित रहेको बताए।

महामन्त्री शर्माले भने, ‘हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो। एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ। एमाले हामीसँग कयौं कुरामा असहमत छ। राजनीतिमा यस्तो हुन्छ नि त। हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन। यो गठबन्धन बनाउँदै गर्दाखेरी विमतिको बीचमा सहमती गरेर गएका छौं। जति विमतिका विषयहरु छन्। त्यसलाई कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने बिल्कुलै होइन। त्यसकारणले गर्दाखेरी सरकारको गतिविधिमा, काममा, संयममा यो सरकारको भविष्य निश्चित छ।’

महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरुको कामलाई अघि बढाउन जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए। मुलुकलाई ऋणको भार बढाउने खालको आयोजनाहरुको काम अहिलेका लागि प्राथमिकतामा राख्न नहुने उनको सरकारलाई सुझाव थियो।

प्रतिक्रिया दिनुहोस् :