प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज र रेल

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आव ०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिए।
नेपालमा २०२७ सालमै पानीजहाजको कानून बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे।
पानीजहाजबाट सीमापारदेखि सामान ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाइ थियो।
“पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खोलौँ। ठूला भन्सार पनि खोलौँ। सबै काम त्यहीँबाट हुन्छ। यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ”, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारी/इञ्जिनियरलाई सम्झाउँदै उनले भने, “पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुपर्छ। हाल सञ्चालित कुर्था–जनकपुर रेलमार्गमा दुईवटा रेल थप्नु पर्छ। त्यहाँको मार्गलाई बर्दिवाससम्म ल्याउनुपर्छ। पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ। काठमाडौँमा जमिनमुनि रेल चल्न सम्भव छैन भने स्काई रेल चलाउनुपर्छ।’’
प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरु पनि गुवाहाटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुडीबाट हरिद्वारसम्म पुग्न सक्ने बताए।
उनले चालू रहेका राष्ट्रिय गौरवका आयोजना र योजनास्तरीय ढङ्गले छिटो सम्पन्न गर्न ध्यान दिन पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले मध्यपहाडी (पुष्पलाल) राजमार्गको रामेछाप–नुवाकोट खण्ड र अन्य स्थानमा जनताको मागअनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिँदै मार्ग परिवर्तन गर्दा राजनीतिक दबाब नभई बढीभन्दा बढी जनतालाई लाभ हुने, सुरक्षित र छिटो पुग्न सकिने आधारलाई प्राथमिकता दिन निर्देशन दिए।
उनले प्राविधिक क्षेत्रमा काम गर्दा हुन सक्ने मानवीय त्रुटिलाई सरकारले क्षमा दिन सक्ने तर भ्रष्टाचार सहन नसकिने स्पष्ट गर्दै इमानदार भएर काम गर्नेहरुले ढुक्कका साथ अघि बढ्न सक्ने बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस