ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेपछि सर्वत्र आलोचना

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय(त्रिवि) कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेपछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ।
ओलीले नीति तथा कार्यक्रम रोकेपछि त्रिवि उपकुलपति केशरजङ बराल प्रधानमन्त्री ओलीसँग रुष्ट बनेका छन्। गत मंगलबार त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)को बैठकमा चालु आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गर्नुपर्ने त्रिविको कार्ययोजना थियो तर प्रम ओली त्यसो हुन् दिएनन्।
त्यसपछि त्रिवि सभामै उपकुलपति बरालले असन्तुष्टि व्यक्त गरेका थिए। उनले त्रिवि उल्टो गतिमा हिँडेको समेत टिप्पणी समेत गर्न थालेका छन्।
उक्त बैठकमा उनले त्रिविको २६ अर्ब १६ करोड ८७ लाख ३५ हजार रूपैयाँको बजेट पारित गर्न स्वीकृति दिए। सभाले ६२औँ ‘ग्रेस लिष्ट’ पारित गर्यो। उक्त लिष्टअनुसार अध्ययन पूरा गरी विभिन्न तहमा उत्तीर्ण भएका ७३ हजार ९९५ जना विद्यार्थी त्रिविको आगामी दीक्षान्त समारोहमा भाग लिन योग्य भएका छन्।
त्रिविको उपकुलपतिमा २०८० फागुन १० गते प्राडा बराल नियुक्त भएका थिए। उनी नियुक्त भएपछि वैशाख ७ गते त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोचपत्र सार्वजनिक गरेका थिए।
त्यहीअनुसार उनले शैक्षिक क्यालेन्डर निर्माण र कार्यान्वयन, जनशक्ति विकास, त्रिविको पुनःसंरचना, भौतिक पूर्वाधार विकास, शैक्षिक कार्यक्रम र पाठ्यक्रम, विश्वविद्यालयको सम्पत्ति र स्रोत परिचालन, अनुगमनलगायत विषयवस्तु समेटेर नीति तथा कार्यक्रम बनाएका थिए।
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ आक्रोशित
नीति तथा कार्यक्रम रोकिएपछि प्रधानमन्त्री ओलीसँग पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ आक्रोशित भएकी छिन्। उनले सामाजिक सञ्जालबाट त्रिवि प्राज्ञले भन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको? भन्दै प्रश्नसमेत गरिन्।
उनले यस्तो हस्तक्षेपले राजनीतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनुहुँदैन भन्ने कुरा झनै प्रष्ट पारेको बताएकी छिन्।
उनले भनेकी छिन्, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ? पदेन कुलपति प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलवार त्रिविको नीति तथा कार्यक्रम रोक्नुभयो, विभिन्न तहको समीक्षा पार गरेको त्रिविको प्राज्ञ टिमले मेहनत गरेर तयार पारेर अपनत्वसमेत लिएको दस्ताबेज थियो त्यो, रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भइसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई?’
नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनुहुन्छ? भन्दै उनले अर्को पनि प्रश्न गरेकी छिन्। ‘अब के हुन्छ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनुहुन्छ ? नझुलाउन के लेनदेन हुन्छ, कसलाई के पद माग्नुहुन्छ? आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थीहरू मुकदर्शक न हुन् हैन त? स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के-के हेरफेर हुन्छ हामी हिसाब राख्नेछौँ, ’उनले उल्लेख गरेकी छिन्।
विद्यार्थी सङ्गठनको बिरोध
प्रधानमन्त्री ओलीले उपकुलपति प्राडा बराललाई विश्वविद्यालयको नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल छैटौँले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन्।
आज जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा.डा. केशरजङ बराललाई विश्वविद्यालयको नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ, प्रधानमन्त्रीले यसरी नीति तथा कार्यक्रम रोक्दा प्रतिस्पर्धाबाट चुनिएको नेतृत्वले अघि बढाएका त्रिवि सुधारका कामहरूमा बाधा उत्पन्न हुने र विद्यार्थी आन्दोलनले उठाउँदै आएका महत्वपूर्ण मुद्दाहरू ओझेलमा पर्ने निश्चित जस्तै देखिएको छ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस