वायुमण्डलीय चक्र जोगाउन विश्वभर पञ्चपल्लव वृक्ष विस्तार गर्नु आवश्यक छ

— राजानन्द माण्डव्य, अध्यक्ष : राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान
नेपालको टोपीलाई अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति दिलाउँदै देशको राष्ट्रिय झण्डा र पोशाक दिवस मनाउने परम्परा स्थापना अभियानका एक सफल अभियान्ता हुन् राजानन्द माण्डव्य । उनै माण्डव्य नेपालमा सम्पूर्ण विभुतिहरुको पर्व मनाउने प्रचलनको सुरुवातका लागि अग्रगमनमा रहेका छन् । राष्ट्रिय विभूति पर्व २०८१ को आयोजना गर्ने तयारी गरिरहेका राजानन्द माण्डव्यले गत वर्ष नेपालका राष्ट्रिय विभूति आदर्श नारी सीता र विश्वमा शान्तिका अग्रदूत गौतम बुद्धको विशेष पर्व आयोजना गरी सफलतासमेत हासिल गरिसकेका छन् । काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नम्बर ३ अर्थात साविकको उग्रचण्डी गा.वि.स.वडा नम्बर ८ मा बुबा मुक्तीनाथ बजगाई र आमा सीता बजगाईका सन्तानका रुपमा जन्मिएका राजानन्द माण्डव्य पछिल्लो समयमा वैदिक सांस्कृतिक क्रियाकलापमा क्रियाशील रहेका छन् । सूचना तथा सञ्चार प्रविधि प्रशिक्षणलाई लामो समयसम्म पेशा बनाएका उनी नेपालमा खस्किदै गएको सांस्कृतिक परम्परा जगेर्ना गर्ने उद्देश्यले बनारमामा २ वर्षसम्म वैदिक कर्मकाण्डको गहन अध्यन र अभ्यास गरी नेपाल फर्किएपछि सनातन धर्मालम्बीहरुको सम्मान र नेपालको राष्ट्रियता संरक्षण गर्ने अभियानमा क्रियाशील रहेका छन् । यसका लागि माण्डव्य यति बेला राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल नामक संस्था स्थापना गरी सञ्चालन गर्दै आईरहेका छन् । यहि संस्थाको आयोजनामा उनी पशुपति क्षेत्र वनकालीमा एक महिने ‘श्रीहिमवतखण्ड माहात्म्य–२०८१ को आयोजना गर्न गईरहेका छन् । प्रस्तुत छ, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डव्यसँग तातोखबर डटकमका कार्यकारी सम्पादक लक्ष्मण बजगाईले गरेको छोटो कुराकानी :
यहाँसँगको कुराकानी यँहीबाट सुरु गरौंन, यहाँ एउटा अत्याधुनिक विज्ञान प्रयोगकर्ता, सूचना तथा सञ्चार प्रविधिको प्रशिक्षक एकाएक तान्त्रिक साधना, धर्म विज्ञान र सांस्कृतिक संरक्षकमात्रै नभई राष्ट्रियताको भावना जागरण अभियानमा कसरी जोडिन पुग्नु भयो ?
जब म २०६८ सालमा धर्म विज्ञान, तन्त्र साधना र ज्योतिष शास्त्रप्रति अनायशै झुकाव राखेर आफ्नो मनस्थिति परिवर्तन गर्न पुगेँ, यस विषयमा ममा अझ बढि चासो बढ्दै जान थाल्यो र यस विषयमा अध्ययन गर्न सनातन हिन्दुहरुको अध्ययन र अभ्यासको केन्द्र मानिने वनारस पुगेँ । पढ्नका लागि म त्यहाँ २ वर्ष बसेँ । २ वर्षको गहन अध्ययन गरेर ७० सालमा नेपाल आएर नेपालको राष्ट्रियताको प्रतिक झल्कने एउटा साझा पोशाक हुनुपर्छ भनेर पहिलो पल्ट राष्ट्रिय पोशाक दिवस मनाउनु पर्ने आन्दोलनको सुरुवात गरेँ । जति बेला नेपालमा संविधान सभाबाट नयाँ संविधान लेख्ने प्रकृया जारी थियो । नेपालको राष्ट्रिय पोशाकको मान्यतालाई संविधानबाट हटाउन पाईदैन भन्ने हामीले उठाएको आन्दोलन थियो । त्यो विद्रोहको निचोडमा राष्ट्रिय पोशाक दिवसले मान्यता पाएको हो । यो उपलब्धीले झण्डै १ दशक पार गरेको छ । त्यसैगरी मैले नै उठान गरेको राष्ट्रिय झण्डा दिवस पनि नेपालमा मनाउने गरिएको आमनेपालीलाई थाहै भएको कुरा हो ।
यहाँहरुले आगामी श्रावण महिनाभरी बाबा पशुपतिनाथ धाम परिसरमा ‘श्रीहिमवत्खण्ड माहात्म्य–२०८१’ सञ्चालन गर्न गइरहनुभएको छ, यो कस्तो कार्यक्रम हो र कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले वैदिक मान्यताअनुसार पवित्र महिना मानिने श्रावण महिनाभरि माहात्म्य सञ्चालन गर्न लागेको हो । आउदो श्रावण १ गतेदेखि पशुपतिनाथ क्षेत्रमा ‘श्रीहिमवत्खण्ड माहात्म्य–२०८१’ को लागिएकोले ऐतिहासिक तथा पौराणिक महत्व बोकेको हिमवत्खण्डअन्तर्गत वर्णन गरिएको धार्मिक तथा तपोभूमि नेपालको महिमा, गरिमा, श्रीवृद्धि र राष्ट्रोत्थानका लागि पावन पशुपति क्षेत्रमा ऐतिहासिक माहात्म्य आयोजना गर्न लागेका छौं । यो माहात्म्य नेपालको गौरवशाली अनुष्ठानको रुपमा सञ्चालन हुनेछ । किनभने यो महिनाभरि सञ्चालन हुने यस कार्यक्रममा सर्वसाधारणदेखि विषय विज्ञहरुले आ–आफुले जानेको, बुझेको र अभ्यास गरेका क्रियाकलापहरु प्रदर्शन गर्न सक्नुहुनेछ । एक प्रकारको ठुलो सांस्कृतिक कार्यशालाको रुपमा सञ्चालन गरिनेछ । यो माहात्य सफल भएपछि हामीले गौसंरक्षणका लागि देशका सातै प्रदेशमा गौशाला निर्माण गर्नेछौं । हामीले वर्दियामा गौशाला सञ्चालनमा ल्याइसेका पनि छौं ।
यो माहत्यको आयोजना गर्नुको थप उद्देश्यहरु चाँहि के के हुन् त ?
नेपालका धार्मिक, पुरातात्विक सम्पदाको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने, मिसन बरपिपल अभियान अन्तर्गत कार्यक्रम आयोजनास्थल वरिपरी र विश्वका उपयुक्त स्थलहरुको छनौट गरी ती स्थानहरुमा १ लाख ८ हजार जोडी बर पिपलको वृक्ष रोपण गर्ने, वर पिपलसँगै समि, आँप, चाँप (पञ्चपल्लव) रोप्ने कार्यक्रम पनि रहेको छ । त्यसैगरी ‘श्री हिमवत्खण्ड नेपाल माहात्म्य–२०८१’ को उद्देश्यहरु वैदिक, वैज्ञानिक, शास्त्रयुक्त गुरुकुल निर्माण गर्ने, राष्ट्रिय विभूति उद्यान निर्माण तथा राष्ट्रिय तथा मौलिक पोशाकको सङ्ग्रहालय निर्माण गर्ने, ‘कालीगण्डकी बचाऔं’ अभियानलाई सहयोग पुर्याउने रहेको छ । यस कार्यक्रमको उद्घाटनस्वरुप श्रावण १ गतेबाट वर पिपल रोपेर शुभारम्भ गरिनेछ । योग, प्राणायाम, ध्यान, साधना, प्राकृतिक चिकित्सा, आयुर्वेद, पञ्चकर्म क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने, माहत्य सकिनासाथ भाद्र महिनाबाट वैदिक सनातन राष्ट्र निर्माणमा राष्ट्रब्यापी जागरण अभियान सुरुवात गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् ।
जलवायु परिवर्तन एउटा महासङ्कट र प्रकोपको रुपमा अगाडि बढेर विश्व नै त्रसित बन्न पुगेको अवस्थामा यहाँले हिमवत्खण्ड नेपाल माहात्यको उद्घाटनको अवसर पारेर विश्वभर वर पिपलको जोडी वृक्ष रोपण गर्ने अभियान अगाडि बढाउनु भएको छ, यस विषयमा प्रष्ट पारिदिनुहोस् न ?
यो धर्तिमा जन्म लिएपछि आफू जन्मिएर खुट्टा टेक्ने धर्तिको संरक्षण गर्नुपर्छ भन्ने कुरा चेतना भएका प्राणीले विर्सनु हुदैन । यसका लागि प्रकृतिको विनाशलाई न्युनीकरण गर्न आफूले सकेकेको प्रयास गर्नु अपरिहार्य हुन्छ । जन्म दिने मनाउने प्रचलन मानिसहरुले लामो समयदेखि चलाउदै आएका छन् । आफ्नो जन्मदिनलाई उत्सवमय बनाउन सामाजिक कल्याण तथा जीव र जगतको कल्याणमा लगाउनु पर्छ भनेर असार २८ गते पर्ने मेरो जन्म दिनलाई मैले कुनै वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेको छु भने कहिले वृक्ष रोपणका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छु । त्यसैको निरन्तरता स्वरुप मेरो जन्मदिनको सेरोफेरोमा वैदिक र सांस्कृतिक मान्यताबमोजिम अति पवित्र मानिने श्रावण महिनामा हामीले सञ्चालन गर्न लागेको यति ठूलो माहात्म्यको अवसरमा नेपालमा मात्रै नभएर विश्वभर वर पिपलको जोडी वृक्ष रोपण अभियानको उद्घाटन गर्न लागेका हौं । प्रकृति विनाश गर्ने क्रियाकलाप नेपालमा मात्रै भएको छैन, विश्वभरिका सबै जसो देश र त्यहाँका मानिसहरुले गरिरहेका छन् । यसको अभिशापका रुपमा पुरै विश्व वायुमण्डल दुषित बन्न पुगेको छ र प्रकृति नै असन्तुलित बन्दै गइरहेको छ । त्यसैले पृथ्विको पर्यावरणीय चक्र सन्तुलनमा ल्याउन अधिक अक्सिन प्रदान गर्न सक्ने वनस्पति वर र पिपलको जोडी वृक्ष रोपण गर्ने अभियानको हामीले सञ्चालन गर्न लागेका हौं । पञ्च भौतिक शरीरलाई त पञ्च महावुत चाहिन्छ । यदि हामीले उपभोगका लागि वृक्ष नष्ट गर्दै गयौं भने पानी पनि सुक्दै जान्छ । पानी नभएपछि मानिसले उपभोग गर्ने कुनै पनि पदार्थको उत्पादन हुन सक्दैन । त्यसैले एकजनाले आफ्नो जन्मदिनको अवसर एक वर्ष एउटा वृक्ष रोप्ने हो भने ८० वर्षसम्म बाँचेका मानिसले ८० वटा वृक्षको विकास गर्न सक्छ । विश्वमा जति जनसंख्या छ त्यतिले यसरी वृक्ष रोपण गर्ने हो भने यहि दरले वृक्ष पृथ्विले प्राप्त गर्न सक्छ । त्यसमा पनि वैदिक सनातन सांस्कृति मान्यताअनुसार पनि पञ्चपल्लव (वर, पिपल, समी, आँप र चाँपजस्ता वृक्षले अझ बढी प्राणी बाच्नका लागि चाहिने अक्सिजन दिन सक्छन् । वृक्षबाट नै अक्सिजन प्राप्त हुने भएकोले हामीले वृक्ष रोपणलाई महत्व दिएका हौं ।
नेपालमा पुर्खाहरुले वर पिपलको चौतारी बनाएर मानिसको सभ्यताको विकास गर्ने गरेकोमा पछिल्लो समयमा भौतिक पूर्वाधारको विकासका नाममा ती चौतारीहरु पनि विनाश गरिएको देखिन्छ, यस विषयमा यहाँको भनाइ के छ ?
हो, पछिल्लो सयमा धेरै काटिएका रुखहरुमध्ये धेरै जसो वर पिपलकै रुख हुन् । जुन स्थलमा मानव सभ्यताको पहिचान जनाउने मन्दिर, मठ, देवल, चेत्य, गुम्बा, चौतारी विसौनी, कुवा, पँधेराहरु छन् त्यहि ठाउँको संरचना सुविधायुक्त बनाउने नाममा त्यहाँको भौगोलिक संरचना र पर्यावरणीय स्वरुप ध्वस्त पारिएका छन् । जुन स्थलमा सार्वजनिक महत्वको संरचनाभित्र वर पिपललाई लिइन्थ्यो त्यहि वर पिपल काटेर नाङ्गो बनाइएको छ र त्यहाँ अप्राकृतिक भौतिक संरचना निर्माण गरेर स्वरुपमा मात्रै विगारिएका छैनन् वायुमण्डलीय चत्रमा समेत असर पर्ने क्रियाकलापहरु सञ्चालन गरिदै आएको छ । बाटो, घाटो, चौतारो र विसौनीहरुमा वरपिपल रोपिएका हुन्थ्ये । त्यहाँ यात्रु प्रतिक्षालयहरु पनि वरपिपलकै छहारीहरु हुन्थ्ये । तर आज वर पिपलका रुखहरु मासेर सिमेन्ट, फलाम, सिसा र प्लास्टिकका सामानहरु जडान गरिएका हुन्छन् । त्यस्ता संरचनाहरुको आयु पनि कति हुन सक्छ ? हामी त्यसको पनि हिसाब किताब गरेर हेरौं । यात्रुहरुको आवागन हुने पैदलमार्गहरुमा पर्ने चौतारी, पाटी, पौवा र मन्दिरहरु उखेलेर बाटो बढाउने गतिविधिहरु भएका छन् । यसले पनि पर्यावरणमा ठुलो असर पारिरहेको छ । मन्दिर परिसरमा भएका रुखहरु काटिदा रुखहरुको विनाश मात्रै भएको हुदैन, त्योसँगै त्यहाँका स्थानीयहरुले मान्ने वैदिक र सांस्कृतिक मान्यतामा आधारित पर्व, मेलालगायतका गतिविधि पनि लोप हुदै गएका छन् । त्यसैले बाटो घाटो विकास गर्न काटिएका वर पिपल त्यसैको आसपासमा एउटा ठुलो रुख काटेको बदलामा १० विरुवा रोप्नु पर्छ । म समस्त निर्माण पक्ष र उपभोक्ताहरुलाई यहि आग्रह गर्न चाहन्छु ।
नेपालमा मात्रै नभएर विश्वभर नै वर पिपलको वृक्षरोपण गर्ने यहाँले जुन अठोट गर्नु भएको छ, सनातन वैदिक सांस्कृतिको मान्यता अन्य धर्म मान्ने मुलुकहरुमा छैन, ती देशहरुमा पनि वर पिपलको वृक्ष रोपण गर्न कतिको सम्भावना खेख्नुहुन्छ ?
वैदिक सनातनी संस्कृति संसारभरि फैलिसकेको छ । यसको उदाहरण हेर्ने हो भने अमेरिका जस्तो विकसित कृश्चियन मुलुकमा पशुपतिनाथको मन्दिर निर्माण भइसकेको छ, अष्ट्रेलियामा शिवजी, कृष्ण, राधाको मन्दिर स्थापित भइसकेको छ, भगवान रामको मन्दिर दुवैमा निर्माण भएको छ भने विश्वका जुन जुनदेशहरुमा जहाँ जहाँ हिन्दु धर्मालम्बीहरु पुगेर बसोबास गर्न थालेका छन् त्यहाँ सनातनी वैदिक संस्कृति विस्तार हुदै गएका छन् । ती स्थानहरुमा हामीले वर पिपलको महत्व बुझाएर वक्ष रोपण गर्न थाल्यौं भने यसले विश्वब्यापी रुपमा नै वरपिपलसहितको पञ्चपल्लव वृक्ष रोपण गर्न सकिन्छ । वैदिक सनातनी धर्म मान्नेहरुमध्यबाटै यो विश्वब्यापी अभियान कोही न कोहीबाट सञ्चालन गरिनु पर्छ, यो अरुबाट सुरु हुन्छ की भन्ने अपेक्षा थियो । तर कतैबाट पनि यस किसिमको कुरा नउठेपछि हामीले नै यो अग्रसरता लिएका हौं र यसमा पूर्णरुपमा सम्भावना देखेका पनि छौं ।
विश्वभरका मानिसहरुले अहिलेसम्म सम्पन्न र सुखी हुने उपाय खोज्दै जाँदा प्रकृति र संस्कृतिको विनाश गर्न बाध्य भए, यो विनाश भविष्य कस्तो देख्नु भएको छ ?
जसरी अहिले खनिज पदार्थ उत्खन् र उपभोग्य उत्पादनका लागि विश्वका शक्तिशाली भनिएका देशहरुले द्वन्द्व षड्यन्त्र बढाउदै लगिरहेका छन् त्यस्ता खनिज पदार्थ उत्पादन छोडेर पानीका लागि त्यस किसिमका द्वन्द्व र षड्यन्त्र बढ्दै जानेछ । प्रकृतिको विनाशले मानिसलाई पानीको अभावमा डुबाउनेवाला छ । जुनदेशसँग पर्याप्त पानी छ, त्यो देश धनी देश बन्न सक्ने छ र त्यहि देश कब्जाका लागि अर्को लडाइँ हुने वाला छ । जुनदेशमा हरियाली र वातावरणीय सौंन्दर्य छ त्यो देशको महत्व उच्च हुनेछ । वैदिक शास्त्रहरुमा कली युगको कल्पना गरिएको छ, त्यो कल्पना अब साकार हुनेवाला छ । भौतिक विज्ञानको विकास गरिएको नाममा प्रकृति र संस्कृतिको जसरी विनास गरिएको त्यसले कलियुग निम्त्याईरहेको छ । अब मानिसले अक्सिजनप्राप्तिका लागि ठुलै सङ्घर्ष गर्नु पर्ने अवस्था नजिकिइसकेको छ । जन्मिनेवितिक्कै मुखमा मानिसले कृतिम अक्सिजन लगाएर हुर्किनु पर्ने हुन सक्छ । त्यसैले अहिले विश्वभर धर्म परिर्तन गराउने जुन विकृति देखा परेको छ, त्यसबाट धर्म बाच्न सक्दैन, धर्म बचाउने अर्थ हामीले अब फरक तरिकाले बुझ्नु पर्ने बेला आएको छ । धर्म बचाउन हामीले पानी, हावा, माटो, तापजस्ता तत्व बचाउनु पर्नेछ । एउटा दाना रोपेर हजारौं दाना उत्पादन गरी प्राण धान्नु पर्ने हुँदा माटो बचाउन सकिएन भने प्राण कसरी रहन सक्ला ? भन्ने चिन्तन मानवीय चेतनामा हुनु पर्छ ।
अन्त्यमा के भन्नु हुन्छ ?
श्रावण १ गते उद्घाटन भई पुरै महिनाभरि सञ्चालन गरिने ‘श्री हिमवत्खण्ड नेपाल माहात्म्य–२०८१’ वैदिक सनातनी, गौभक्त, धर्मभक्त, राष्ट्रभक्त, सम्पूर्ण श्रद्धालु, तिर्थालुहरुमा श्री पशुपतिनाथ क्षेत्रमा आगमनका लागि हार्दिक निमन्त्रणा गर्न गर्दछु । आशा छ, आम राष्ट्रभक्त सनातनी र प्रकृतिप्रेमी महानुभावहरुले आफ्नो महत्वपूर्ण उपस्थिति दिएर हाम्रो यो अनुष्ठान सफल पार्न ठुलो भूमिका निर्वाह गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस