कथा : अन्तिम उपहार

— सरस्वती पौडेल

बगैंचामा बूढो पलासको रुखमुनि हल्का रङ्ग खुइलिएको काठको कुर्सीमा अगाडि एउटा त्यहि खुइलिएको कुर्सीको जोडि टेबलमा चियाको कपसँगै सधैं जसो पत्रिका पढ्नु हुन्थ्यो मेरा बा । बाको हातमा सधैं किताब अथवा पत्र–पत्रिका भइरहन्थ्ये । टाउकामा केही थान मात्रै काला रौं बाँकी थिए, नत्र बाको जुँगा मात्रै कालो रहथ्यो । अवकास प्राप्तिपछि बा राम्रो पाठक र समालोचक हुनुहुन्थ्यो । बजारमा नयाँ साहित्यका पुस्तक निस्केर बिमोचन भएपछि बा पुस्तक बजारमा पुग्नुहुन्थ्यो र भर्खरै बजारमा आइपुगेका ती पुस्तकहरु लिएर घर आउनु हुन्थ्यो । बजार जाँदैपिच्छे बाले ल्याएका पुस्तकहरुले घरमा पुस्तकालयको डेरा जमाएका थिए । साच्चिकै बाको मनमा सागरदेखि सगरसम्म दुरी अटाएको थियो ।

दुइ छोराहरुले बिदेशी पीआर पाएपछि बा बेला बेला बिदेश घुम्न पनि जानुहुन्थ्यो । दुवै दाइका छोराहरु र म एकै उमेर जस्ता थियौँ । बाले मलाई स्कूलमा भर्ना गर्न लैजाँदा बालाई ‘मेरो हजुरबुबा हो कि ?’ भनेर सोधेका थिए । हुन पनि दाइहरुको बिहेपछि बाले मेरी आमालाई बिहे गर्नु भाको थियो रे । एक्कासी ठुलीआमाको मृत्यु भएको कुराले बा बेला बेलामा टोलाइरहनु हुन्थ्यो । ‘कति सम्झनु हुन्छ गएका कुराहरु ? मलाई दिक्क लाग्छ, मेरो पनि को छ र ? हजुर र यहि मुसी बाहेक । मलाई कहिले बुझ्न नखोज्ने’ आमा बेला बेलामा बालाई अतित् सम्झाउने महासागरबाट बाहिर ल्यानुहुन्थ्यो । बालाई सामान्य अबस्थामा ल्याउन आमालाई बार–बार चिडिनु पथ्र्याे, झर्कनु पथ्र्याे, घुर्काउनु पथ्र्याे, रिसाउनु पथ्र्याे ।

Advertisement:

बाभन्दा उमेरमा २५–३० बर्ष कान्छी मेरी आमा । बाको गम्भीरताले आमाको चञ्चलतालाई कतिसम्म सुम्सुम्याउन सक्थ्यो कुन्नि ? बाको छेउमा आमा उभिदा नचिन्नेहरुले बाउ–छोरी हो र ? भनेर सोध्ने गथ्र्ये। बाको शरीरमा बुढौली ओइरिदा आमाको शरीरमा जवानी फक्रेको थियो । आमाको मनलाई बाको मनले कत्तिको ढाडस् दिन्थ्यो कुन्नि ? तर बा र आमा एक अर्कालाई निकै प्रेम गर्नु हुन्थ्यो । आमा बिहानै उठेर घरको काम सबै सकिओरी बाको छेउमा आइपुनुहुन्थ्यो । बा पनि आमा उठ्ने बित्तिकै उठेर बस्नु हुन्थ्यो । ‘होइन हौ, यो चिसोमा एकाबिहानै क्यान उठ्नुहुन्च र ? अहिले दम फुलेर आउच हिजो नि त्यस्तै भैत्यो । अल्लि घाम लाग्ने बेलासम्म सुत्नु नि, घराँ भको काम म आफैं त अरिच्छु त ।’ आमाले बालाई बेला बेला भनिराख्नु पथ्र्याे । बाछेउमा पुगेर कहिलेकाही आफ्नो डोरिको फुर्काे जानी जानी बाको गालामा छुने गरी फालेर मस्किदै जानुहुन्थ्यो। ‘सङ्गै सुतेको मान्छे एउटा उठेपछि त्यो बिस्तरा चिसो हुन्छ नि किन सुत्नु भनेर उठेको नि ।’ बा पनि मुस्काउदै यस्तै भन्नु हुन्थ्यो ।

‘प्राध्यापक गणेशबहादुर साच्चिकै राम्रो समालोचक हुनुहुन्छ’, बाहिर मान्छेहरुले बाको प्रशंशा राम्रै गथ्र्ये । बा सबैलाई बराबर माया गर्नुहुन्थ्यो । सबै लेखकलाई सम्मान गर्नुहुन्थ्यो । खुब किताब पढ्नु हुन्थ्यो । कहिलेकाँही बा पढ्दा पढ्दै खाना खानै बिर्सनु हुन्थ्यो । आमा बेला–बेला बालाई ‘सम्झाउन पर्याे’ भन्नु हुन्थ्यो । चलचित्रदेखि लिएर, नाटक, टेलिसिरिएल, पटकथा, उपन्यास, कथा, कविता, गजल, मुक्तक अझै भनौं बा ती सबैको राम्रो पाठक हुनुहुन्थ्यो । ‘यत्तिका धेरै किताब पढेर पनि किन आफ्नो किताब लेख्नुहुन्न ?’ बाका साथीहरुले सोध्नु हुन्थ्यो । ‘मैले पनि किताब लेख्न थालेँ भने तपाईंहरुको किताब कस्ले पढिदिन्छ र ?’ बा ठट्टा गर्नु हुन्थ्यो । सबै जना हाँसोमै उडाएर उठ्नुहुन्थ्यो । काकाहहरुले मलाई काखमा राखेर ‘छोरी पनि बाबा जस्तो ठूलो मान्छे बन्नु पर्छ है’ भन्नू हुन्थ्यो मलाई ।

मेरो बा साच्चिकै एउटा आदर्श हुनुहुन्थ्यो यो समाजको । साच्चिकै यथार्थ हुनुहुन्थ्यो यो देशको । एक दिन प्राध्यापक राम काकासँग भनेको सुनेको थिएँ, ‘राम जी, तपाईंहरु जस्तो राम्रो लेखकले लेखेको लेखको समालोचना गर्न मलाई खुब रहर लाग्छ । तपाईंहरुले कलमको क्रान्ति गर्नु भएको छ । समाजका यथार्थलाई राम्रो चित्रण गर्नुहुन्छ । म बहुत खुसी हुन्छु ।’ ‘अनि तपाईंले पनि लेख्ने गर्नु न’ राम काकाले भन्नू हुन्थ्यो । ‘म कहाँबाट लेख्न सुरु गरेर कहाँ लगेर अन्त्य गरौं अब ? जीवन लेखौँ कि देश लेखौँ ? म झुठो कुरा लेख्न सक्दिनँ, साँचो कुरा लेख्दा देशले पचाउन नसक्ला । यस्तै भएर लेख्न सकिन …’ यति भनिसक्दा बाको आँखाको डिल रसाएको थियो । ‘रमेशजीले राम्रै सम्पादन गर्नुहुन्छ, हजुरले आफ्नो आत्मकथा लेख्नु पान्डुलिपी तयार पारी रमेशजी लाई जिम्मा लगाऔं अनि हजुरलाई पनि मन खुलेको भान हुन्छ नि, मन हल्का हुन्छ, मनको बोझ कापिको पानामा सरेपछि भारी कम हुन्छ । मैले त हजुरलाई सल्लाह मात्रै दिएको विचार गर्नु न हजुरले नै’ यति भनेपछि राम काका जानु भयो ।

आमाले घरमा मैनबत्ति बनाउने उद्योग खोल्नुभएको थियो । २–४ जना मजदूर पनि कार्यरत थिए आमाले चलाउनु भएको मैन बत्ति उद्योगमा । ‘के गर्नु पढ्न त मास्टर्स डिग्री गरेकी हुँ, देशमा रोजगारी पाउन गाह्रो, अन्त गएर अरुको काम गर्नुभन्दा सानो ठुलो आफ्नै काम गरेको राम्रो नि’, आमाले धेरै जनासँग यस्तै भन्नुहुन्थ्यो । बेला– बेला तालिम लिन र तालिम दिन पनि ठाउँ ठाँउमा पुग्नु पथ्र्याे । उता राम काकाले बालाई किताब लेख्नु भनेपछि बा त्यो बगैंचाको पलाँसको रुखमुनिको खुइलिएको टेबल र कुर्सिमा पत्रिका पढ्ने बहानाले चियाको कप मगाउन छोड्नु भएको थियो । अचेल बाको बस्ने, खाने, हिड्ने सबै समय तालिका फेरिएको थियो । बिहान उठेर आफ्नो नित्यकर्म सकेपछि बा कौशीमा गएर झुलामा हल्लिनु हुन्थ्यो । आमा चिया लिएर कौशीमै आउनुहुन्थ्यो र दुवै बसेर झुलामा चियासँगै झुलेर उठ्नुहुन्थ्यो र त्यहाँबाट जानुहुन्थ्यो । चिया खाइओरी सकेपछि बा लेख्न थाल्नु हुन्थ्यो । दिनभर जस्तो लेख्नु हुन्थ्यो, पढ्नु हुन्थ्यो अनि आफँै मुस्काउनु हुन्थ्यो । आफै मख्ख पर्नुहुन्थ्यो ।

बाले लेख्न थाले पछि मलाई नि खुब माया गर्नुहुन्थ्यो । बेला–बेलामा गालामा चुप्प पारेर जानुहुन्थ्यो । घरी दाह्री लगाइदिनु हुन्थ्यो, घरी उचालेर माथि पुर्याउनु हुन्न्थ्यो । आमा पनि घरमै लेखापढी गर्ने काम गर्नुहुन्थ्यो । तर बाको पुरानो घाउ बेला बेला पाक्थ्यो र बाको दिलसँगै घर नै दुखाइदिन्थ्यो । केहि समयअगाडि बालाई एक्कासी हृदयघात भएको थियो । निकै सकसले बाले नयाँ जीवन प्राप्त गर्नु भएको थियो । बाको मुटुको अप्रेसनपछि बा पहिले जस्तो शारीरिक स्वस्थ हुनुहुन्थेन । उहाँको दिनचर्या यसरी नै बितिरहेको छ कि दिनमा तीनचार संस्थाको बैठकमा पुगेर आएपछि कौशीमा घोरिने । रमेश काकाले बालाई फोन गरेर उहाँको किताबको पान्डुलिपी सकिएको र सम्पादन गरेर गाताको ढाँचासम्म तयार गरेको कुरा बताउनु भयो । बाले यो खुसीको कुरा राम काकालाई सुनाउँदै हुनुहुन्थ्यो । ‘साच्चिकै देशको एउटा दस्तावेज हो । म यो उपहार मेरी छोरीलाई दिन चहान्छु राम जी । यहाँ एउटा जीवित रहदा रहदै मरेको मान्छेको कहानी छ । बिमोचनलाई अलिकति निम्तो बाढ्ने काम गर्नु पर्छ ।’ बाको खुसीको सीमा थिएन । त्यै बेला आमा चिया लिएर कौशीमा आउनु भएको थियो । एक्कसी आमाको हात तानेर बाले आमाको हात, गाला, ओठमा चुम्बन गरेर हातमा समातेर दुवै जना घुम्न थाल्नु भयो । आमाले रिँगटा लाग्यो’ भन्दाभन्दै बाले घुमाइराख्नु भएको थियो । ‘सुधा, यो मेरो खुसीको पल । खुबै खुशी छु, आउ हामी प्रेम गरौं ।’ बा यस्तै भनेर खुसी हुनुहुन्थ्यो ।

बा हास्दा दुनियाँ हास्छ, बा नाच्दा दुनियाँ नाच्छ । मलाई मेरा बा र आमा जस्तो राम्रो कोहि छैन जस्तो लाग्थ्यो । साँझ पर्न थालेको थियो । ओरालो लागेको घाम कौशीमा न्यानो बनेर पँहेलिदै थियो । वरिपरी रुख र बाँसका झ्याङमा चराहरु बास बस्न हतार गर्दै थिए । बा ‘सुधा’ ‘सुधा’ भनेर देब्रे छातीमा समात्न थाल्नु भयो । आमाले डक्टर आयामलाई फोन गर्दै हुनुहुन्थ्यो । त्यहि समयमा ‘छोरीलाई उपहार’ को कभर प्रिन्ट सहित राम काका र रमेश काका घरमै टुप्लुक्कै आउनुभएको थियो । डा. आयामले छिटोभन्दा छिटो अस्पतालमा लिएर आउनु भन्नु भयो । आमा, राम काका, रमेश काका र म भएर बालाई अस्पतालमा पुर्याउनसम्म सफल भएका थियौं ।

वरिपरी हरियो अशोक, पलास र अरु फूलहरु फुलेका थिए । सहरको भयाङ्कर लाग्दो कोलाहलभित्र पनि टक्लक्कै देखिने अस्पताल । मान्छेहरुको लस्करै लस्कर छ । जता हेरेपनि लाइन मात्रै छ । सबै आफ्नै सुरमा आ– आफ्नै काममा देखिन्छन् । कोहिसँग कोहि बोल्ने फुर्सद छैन । रोएको देख्दा पनि सोध्दैनन्, हाँस्दा पनि सोध्दैनन् । साच्चिकै सहर कति स्वार्थी बनेको छ । बालाई आईसियूमा राखेको ५ दिन भएको थियो । हामी सबै जना आईसीयूको प्रतिक्षा कक्षमै थियौं । ‘बाको हालत कहिले सप्रिन्छ र जाऔंला’ भन्ने भइरहेको थियो । यत्तिकैमा भित्रबाट ‘गणेश बहादुरको मान्छे आउनुस्’ भन्ने आवाज आयो । हामी सबै जना ढोका तिरै पुग्यौंं । ‘डा. आयाम कस्तो छ उहाँलाई ?’ सोध्दै आमा रुदै हुनुहुन्थ्यो । डा.आयामबाट सजिलै उत्तर आयो ‘रहनु भएन, पहिले नै हृदयघात भएको र अप्रेसन गरिसकेकोले फेरि हामीले त्यो मौका पाएनौं, हामीलाई माफ गर्नुहोला !’ भन्नु भयो । भन्नेलाई त कति सजिलो छ, ‘माफ गर्नुहोला’ भन्न । तर पर्नेलाई पो परेको छ । आकाश खसेको छ, धर्ति भासिएको छ । दुनियाँ रित्तिएको छ । आमालाई सम्हाली सक्नु भएको छैन ।

बिदेश भएका दाइहरु नआउदासम्म ‘बा’ के बा भन्नू थियो र ? बाको लासलाई अस्पतालको सवगृहमा नै राखिएको थियो । बाको लासलाई आईसीयूबाट निकाल्दै गर्दा एउटा कागजपनि थियो । जसमा बाका अक्षरहरु प्रष्ट थिए । ‘प्यारी सुधा तिमिले जस्तो जीवन बिताउन चाहान्छ्यौ, त्यस्तै जीवन बिताउनु । ‘म छैन’ भनेर दुःखी भएर नहिड्नु, छोरी सानी छे, यसलाई खुट्टा लगाउने काम गर्नु र मैले लेखेको किताब छ जुन छिटै बिमोचन हुनेवाला थियो । त्यो किताब छोरी १७ बर्षकी नपुग्दासम्म बिमोचन नगर्नु । त्यो किताब मात्रै होइन तिमी, म र हामी सबैको जीवनको एक किस्ता हो । यो जुनिमा तिमीलाई अधुरो प्रेम दिएर पीडा दिएँ । सक्छौ भने मलाई माफ गर ।’ आमाले त्यो कागज टिप्नु भयो र जतन गरेर तिनै किताबसँगै दराजमा राख्नु भयो । बिदेशबाट दाइ भाउजू, भतिजा भतिजी सबै आएको दिन नै बाको अन्तेष्टि गरी काजकिरिया बस्न थाल्नु भयो ।

एक महिनाको छुट्टी सकिन दुई चार दिन बाँकी थियो । मलाई पनि दाइ भाउजुले खुबै माया गर्नु हुन्थ्यो, भतिजा भतिजीले हामीभन्दा नि सानी फूपू भनेर जिस्काएर हैरान पार्थे । म रुँदै आमा भएको ठाँउमा पुग्थेँ । दिनहरु बित्न के बेर भो र एक महिना सक्किहाल्यो । दाइ भाउजू, भतिज, भतिजी हुने बेलासम्म त रमाइलै थियो । सबै जना जुरुक्क उठेर गएपछि घरमा आमा र म मात्रै थियौं । घर शुन्य शून्य थियो । कतिखेर नि उज्यालो आएन । मन उस्तै रुखो, बा जस्तो थियो । दिनहरु बोझ बनेका थिए । सम्हालिन पनि भनेर हुँदैन । भन्न त सजिलो हुन्छ तर पर्नेहरुलाई मात्रै थाहा हुन्छ कसरी गर्नुपर्छ भनेर । ६ बर्षको छोरी काखमा राखेर ३२–३३ बर्षको उमेर बिताउन कम्ता चुनौति थिएन आमालाई । समयले अनौठो चुनौति दिएर आफ्नाहरुबाट बिक्षिप्त बनाएको थियो । मन त मन न हो यसै पनि बिचलन भइरहन्छ ।

हिउँ जस्तै थियो बिहान, सफा र चट्ट पनि । आहा ! आकाश खुलेको दिन । चराहरु खुबै रमाइलो मान्ने बेला । प्रकृतिमा फुलेका फूलहरु सबै बास्नादार छन् । खेतबारीमा धान, कोदो, भट्मास लह लह झुलेका छन् । सरद ऋतुमा यसै पनि प्रकृति रमाइलो हुन्छ, त्यहिमाथि दशैं तिहार जस्ता चाडपर्वले एक महिना नै स्कुल बिदा रहने हुनाले मलाई यो समय बच्चैदेखि मन पथ्र्याे । दशैंको घटस्थापनाको दिन थियो । बाले संसार छोडेर गएको पनि १० बर्ष पुगेको थियो । म १७ बर्ष पुगेर १८ लाग्दै थिएँ । कक्षा १२ को परिक्षा भर्खरै जस्तो सकिएको थियोे । नतिजा आउनै लागेको थियो । दाइहरु दशैं मान्न आउनुभएको थियो । उसै पनि आज बाको ‘अन्तिम उपहार’ को बिमोचन हुँदै छ । हामी सबै हर्षित थियौं । प्राध्यापक राम काका, रमेश काकालगायत उच्च पदमा रहनुभएका टि यु का केही प्राध्यापकहरु पनि हुन्हुन्थ्यो । शिक्षा, विज्ञान प्रविधि तथा खेलकुद मन्त्रीबाट यो किताब बिमोचन हुँदै थियो । प्राध्यापक राम काकाले त्यो कार्यक्रम सहजीकरण गर्नुभएको थियो । सुन्ने र हेर्ने मान्छेहरुको उपस्थितिले बिमोचन गर्न लागिएको हल भरिएको थियो । वातावरण खुबै रमाइलो थियो । बाको किताबको कौतुहलले मलाई चाहिँ छट्पटी भइरहन्थ्यो । ‘यो कितावमा मैले मेरो भोगाइ, दुखाई मात्रै होइन देशमा भएको केही त्यस्तो जानकारी पनि लेखेको छु । जीवन रहदासम्म साँचो कुरा भन्न नसकेर छट्पटी छट्पटी बाँचेको छु । योभित्र केहि यस्ता सत्य कुरा छन् ती सबैको प्रमाण स्वरुप ‘अन्तिम उपहार’ सबै सामु टक्र्याएको छु’, बाको किताबको अगाडिको पाना ‘मेरो भनाइ’ मा उल्लेख गरिएको थियो ।

बाको ‘अन्तिम उपहार’ पढ्न सबै जना लालायित हुनुहुन्थ्यो । त्यसैमाथि मरणोप्रान्त बिमोचन कृति सबैको प्यारो हुन्छ । १ हजार थान किताब एक हप्तामै सकिएको थियो । म पनि खुबै किताब पढ्न थालेकी थिएँ । मलाई पनि एउटा सुन्दर लेखक बन्ने तीब्र इच्छा थियो । म बाको अन्तिम उपहार पल्टाउँदै थिएँ, ‘सामान्य परिवारमा जन्मेको म परिवारको एक्लो छोरा । तत्कालीन द्वन्दमा बुवा आमा गुमाएपछि म नितान्त एक्लो थिएँ । १७–१८ बर्षको कलिलो उमेरमै सुभद्रासँग बिहे भएको थियो । म एउटा सामान्य हैसियतको शिक्षक । दिनचर्या ठिक ठिकै थियो । बिहे भएको ५–६ बर्षमै दुइटा छोरा जन्मेका थिए । सुभद्रा घर–धन्दा र छोराहरुमै व्यस्त हुन्थिन् । म चाहिँ किताबहरुमै दिन बिताइदिन्थेँ । २००७ सालमा देशमा निकै ठुलो परिवर्तन भयो । देशमा प्रजातन्त्र आएकोमा जनताहरु खुसी थिए । राजा त्रिभुवनले जनतामाथि अधिकार दिलाएका थिए । २०१७ सालमा प्रधानमन्त्री बीपी कोइरालालाई पदबाट हटाइ देशको शासन सत्ता राजा महेन्द्रले हड्प गरेका थिए । देश दलबिहिन अवस्थामा थियो । पञ्चायती शासन व्यवस्था लागु भयो देशमा । जनताहरु फेरि २००७ साल तिरै फर्कन बाध्य भए । ३६–३७ सालमा राजा बिरेन्द्रले २०३७ मा गरेको जनमत संग्रहले भने जनतालाई केही ढाडस् दिएको थियो । २०४७ सालमा जनता पञ्चायती विरुद्ध उत्रिएपछि देशमा प्रजातन्त्र पुनर्वहाली भएको थियो । त्यति बेला मैले राजदरबारको नजिकै भएर काम गर्ने अबसर पनि पाएको थिएँ । राजा बिरेन्द्र, रानी ऐसर्या, राजकुमार दिपेन्द्र, निराजन, राजकुमारी श्रुति सबैसँग जान–पहिचान थियो । दरबारभित्र मोज–मस्ती भइरहदा दरबार बाहिर भने केही राजा बिरोधिहरुको असन्तुष्ट आवाज आउन थालेको थियो । यहि खबरले राजा बिरेन्द्रलाई ससङ्कित बनाइरहन्थ्यो । २०५१ तिर देशमा नयाँ दल निस्केको थियो । जनताहरु स्वतन्त्र भएर बाच्न चाहान्थे । जनताहरु परिवर्तन चहान्थे । यहीँ बहानाले मुलुक द्वन्द्वमा फसेको थियो । म गाउँ नगएको दुई तीन बर्ष भइसकेको थियो । छोराहरू र आफ्नो खबर सुभद्राले चिठिमा लेख्थिन् ।’

बाले लेखेको किताब पल्टाउदै जाँदा अगाडि लेखिएको थियो ‘२०५८–२–१९ को दिन थियो । दरबारभित्र राजकुमार दिपेन्द्रको जन्मउत्सवको अबसरमा भाइ धिरेन्द्रलगायत अन्य सदस्यहरुको पनि उपस्थित थियो । माइला भाइ ज्ञानेन्द्र र छोरा पारस पोखरा गएको खबर थियो । त्यहाँ त्यो परिवारले उपस्तिथि जनाएको थिएन । अरु दुई भाइ र दिदी बहिनीको मात्र उपस्थिति थियोे । जेठ महिनाको उखरमाउलो गर्मीमा राजदरबारभित्र खटपट थियो । जेठको १९ गते भर्खरै साँझ पर्दै थियो । अचानक दरबारको पूर्वतिरबाट टाउकोमा मुकुन्डो लगाएर अन्दाजी ६ फिट अग्लो मान्छेले राजपरिवार बसेर जन्मदिन मनाइरहेको ठाउँ तिर ताकेर लगातार गोली बर्साउन थाल्यो । राजा बिरेन्द्र र रानीमाथि गोली बर्सिएपछि अरु सदस्य पनि भयभित भए । बैठक कोठा एकै छिनमा चिहानमा परिणत भयो । सबै जनालाई गोली लागेर ठाउँको ठाउँ ड्याङ ड्याङ ढल््न थालेपछि राजकुमार दीपेन्द्र आफ्नो पेस्तोल लिएर बैठक कोठाबाट बाहिर आउदै गर्दा दरबारको पूर्वतिरबाट अर्काे एक गोली उनको छातीमा लाग्न पुग्यो । उनी त्यहीँ अचेत भएर ढल्न थाले । भित्र बैठक कोठामा रगतको खोला बग्दै थियो भने दिपेन्द्र बाहिर छट्पटाईरहेका थिए । म भने डरले लुग्–लुग काँपेर यो सबै दृश्य हेरिरहेको थिएँ । श्वास पनि फेरेको चाल पाएको भए म त्यही दिन त्यो ६ फिट वाला कालो कपडा लगाएको मुकुन्डोधाारीको फन्दामा पर्थेँ । रातभरको यो दृश्य मेरो लागि सपना जस्तो भयो । साँझसम्म हास्ने, बोल्ने गरेका मान्छेहरु एकै पलमा अस्ताएका छन् । पुरै बंश सकिएको छ । त्यही राती अर्थ चेतमा रहेका दिपेन्द्रलाई अस्पतालमा लगियो र भेन्टिलेटरमा राखेर कृतिम श्वास लगाई अचेत अवस्थामै राजा घोषणा गरियो । नेपालको एउटा त्यस्ता राजा हुन् दिपेन्द्र जस्ले आफू राजा भएको पनि थाहा नपाइ मरे ।’

मेरा बाले लेखेको पुस्तक पल्टाउदै जान्छु । अगाडि लेखिएको हुन्छ ‘म यो घटनाको सत्य प्रमाण हुँ । मेरै आँखा अगाडी यस्तो डरलाग्दो घटना घटेको छ । अब म यो दरबारबाट निस्किनु पर्छ । उसै पनि राजा विरेन्द्रको वंश नभएपछि म बस्न हुन्न । यदि केही गरी यो घटना बताएको भए म त्यही दिन सकिनु पथ्र्याे । दरवारभित्र कोलाहल मच्चिएकै थियो । मैले यो घटनाको झट्ट एउटा भिडियो बनाएको थिएँ । भिडियो हेरेपछि त्यो घटनाको दोषी पत्ता लगाउन सकिन्थ्यो । यदि यहीँ बसेर मैले प्रमाण देखाएर दोषी चिनाएँ भने म त्यै दिन सकिन्छु । अब म दरबार छोडेर भाग्न बाहेक केही उपाय थिएन । बडामहारानीको कोठाको बायाँपट्टि एउटा दराज थियो । त्यो दराजभित्रको फाइलमा नेपाल अङ्ग्रेज बीचको सुगौली सन्धी गरिएको सन्धी पत्र राखेको रानीलाई थाह पनि थिएन । त्यहि देराजमा देशका विभिन्न महत्त्वपूर्ण कागजहरु थिए । छिमेकीसँगको सम्झौता पत्र, सिमानाको नक्सा, सन्धिहरुको प्रमाण सबै थिए । मैले अब यो सबै मुकुन्डोवालाले भेट्टायो भने केही पनि रहने छैन भनेर यो घटनाको भिडियो सहित ती कागजहरुको झोला लिएर तरबारबाट बाहिरिएँ र पर्वतमा भएको मेरो घरमा पुगेँ । यो कुरा सबै सुभद्रालाई भनेको थिएँ । उनको सल्लाहले त्यो प्रमाण गुपचुप नै रह्यो । एक त म जस्तो साधारण मान्छेलाई कसैले सङ्का गर्ने थिएन । जहिलेसम्म यो प्रमाण मसँग रहन्छ त्यो दिनसम्म यो घटना रहस्यमय नै रहन्छ ।’

मैले पल्टाउदै आँखा गाड्दै गरेको त्यहि पुस्तकमा अझ अगाडि लेखिएको थिए ‘देश फेरि आन्तरिक द्वन्द्वको चपेटामा फसेको थियो । म गाउँ छोडेर सहरतिर गएर कतै पढाउछु भनेर त्यो सबै प्रमाण काली गण्डकीको सुन खानी नजिकै उत्तर पट्टि एउटा खाल्डो खनेर पुरेर छोडी गाउँ छोडेर त्रिशुली नदिको किनारै किनार नारायणी नदि तरेँ । त्यो यात्रामा साथ दिने सुभद्रा साना दुइ छोराहरु थिए । यति छिटो सुभद्राले छोडेर जालिन् जस्तो लागेको थिएन । दुइटै छोरालाई बिबाह गरेर बिदेश पठाइसकेपछि उनले मलाई एक्लै छोडेर गइनु । म नितान्त एक्लो भएँ । आत्माको साथी कोहि भएन । मन एक्लो र सून्य भएकै बेला सुधासँग बिवाहको कुरा आएको थियो । उच्च शिक्षा पढाउने इच्छाले छोराहरु विदेशिएका थिए । सुधाको बिहे भएकै बर्षदिनमा लोग्ने दुर्घटनामा परेका थिए रे । सुधा राजी भए म उनीसँग बिहे गर्न राजी नै थिएँ । हामी दुबैको दोस्रो बिबाह भएको थियो । सुधा मात्रै २५ बर्षकी थिइन्, म भने ५० । मैले मेरै छोराको उमेरको सुधालाई बिहे गरेको थिएँ । उनले मलाई कुनै गुनासो रहन दिएकी थिइनन् र तर मैले उनलाई कति खुसी दिएँ मलाई थाहा थिएन । हामी आफुमा खुसी नै थियौं । सुधाले बच्चाको रहर गरिन् । हुनपनि हो कुनै छोरीमान्छे पूर्ण बन्न आमा बन्नुपर्छ भन्छन् । म उनको यो इच्छा र अधिकारलाई रोक्न सक्दैनथेँ । हाम्रो बिहे भएको दुई बर्षपछि हाम्रो छोरी जन्मिन् । देख्ने जतिले मलाई मेरो छोरीको हजुर बुवा नै भन्छन् । छोराले पीआर लिएर बिदेश बसेपछि मलाई पनि आउन आग्रह गरेको थियोे । म यो सानी छोरी र सुधालाई छोडेर जान सकिन । प्राध्यापक बनेको २० बर्षपछि म ५५ बर्षको थिएँ । म आफैले स्वऐच्छिक पेन्सन लिएर घरमा सुधालाई समय दिएको थिएँ ।’

पुस्तक पल्टाउदै आँखा चराउँदै जाँदा बाले लेखेका अरु शब्द छोड्न सकिन । पुस्तकको अगाडि उल्लेख गरिएको थियो ‘साथी रामले कर नगरेको भए म यो कुरा गोप्य नै राखेर मर्थेँ होला । उहाँको हौसलाले मैले देशको केही सत्य कुरा खोलिदिएँ । उहाँले भने जस्तै मन हलुका भएको छ । राजदरबार हत्याको घटनाको भिडियो सहित २००७ सालका केही प्रमाण, १९०३ को कोतपर्बको सत्यकुरा, त्यस्तै २०१७ सालको घटना, २०३७ सालको घटना त्यस्तैगरी २०६२–२०६३ को घटना र शान्ति सम्झौता, २०७२ को संविधानको दस्तावेज, सुगौली सन्धिका पत्रहरु, पृथ्वीनारायणले आर्जेको देशको नक्सा, वीर गोर्खालीहरुबाट भएका सतनिर्देशनहरु सबै मैले एउटै झोलामा टिनको बाकसभित्र राखी काली गण्डकीको सुनखानीउत्तरपट्टि गाडेको छु । यो नै मेरो देशको लागि मेरो तर्फबाट सुम्पेको अन्तिम उपहार हुनेछ ।’

बाको किताब पढेर सक्दा म बार–बार पग्लिएँ, बार–बार रोएँ । आमाको सङ्घर्षको कथा पनि कहाँ बाकोभन्दा कम थियो र ! भावी सन्तानमाथि बाबा आमाको सपनाहरु साकार बनाउने खुट्टाहरु किन लरबरिन्छन् ? बाले जिम्मा लाएर छोडेको मेरो देशको सपना कति बिचलन हुने हुन त्यो थाह छैन तर हर ठाउँमा कर्तव्यपरायण भई काम गर्नु मेरो जिम्मेवारी रहने छ । बाले लुकाएर राखेको प्रमाण खोतलेर फेरि फर्काउनु छ गुमेको देशको सिमाना । थर थर कापेका खुट्टाहरु अब अडिग खम्बा बनाएर उभिनु छ । अधुरा र अपुरा रहेका सहिदका सपना साकार बनाउनु छ ।

— सर्जक सरस्वती पौडेल श्री भद्रकुमारी आधारभूत विद्यालय भरतपुर–५ की अध्यापक हुन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application