बजेट निर्माण व्यवसायीमैत्री छैन : निर्माण व्यवसायी

काठमाडौं / नेपाल निर्माण व्यवसायी महासंघले सरकारले बजेट निर्माण व्यवसायीमैत्री नभएको प्रतिक्रिया जनाएको छ ।

नेपाल पूर्वाधार पत्रकार समाजले सोमबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी महासंघले लामो समयदेखि उठाउँदै आएको भुक्तानीका बारेमा सरकारले बजेटमा एक शब्द पनि नबोलेको बताए । उनले निर्माण उद्योगमैत्री बजेटका लागि महासंघले अर्थमन्त्रीसँग पटकपटक भेट्न प्रयास गर्दा समेत भेट नदिनुले निर्माण क्षेत्रलाई राज्यले प्राथमिकतामा नराखेको महशुस भएको बताए ।

Advertisement:

सिंहले  बजेटबाट निर्माण व्यवसायीहरुले ठूलो आश गरे पनि राज्यले बेवास्ता गरेको दाबी गरे । सार्वजनिक खरिद १३ औँ संशोधन आएपछि २ हजारभन्दा बढी आयोजनाहको म्याद थप भएको तर बजेट विनियोजन सरकारले गर्न नसकेको बताए । उनले सरकारले बहुवर्षीय आयोजनाको नाम स्रोत सुनिश्चितता गरेर स्रोत नभएका ५ खर्ब ५० अर्बका आयोजनालाई सम्बोधन नगरेको बताए ।

‘सार्वजनिक खरिद १३ औँ संशोधन आएपछि २ हजार बढी आयोजनाहरुको म्याद थप भएका छन् । बहुवर्षीय आयोजनाहरूको नाम स्रोत सुनिश्चित गरेर जुन स्रोत नभएका ५ खर्ब ५० अर्बका स्रोत सुनिश्चित गर्न सकेका छैनौँ’, उनले भने, ‘यसलाई सम्बोधन गर्ने गरेर बजेट आओस् भनेर हेरक फोरमहरूमा  प्रधानमन्त्री,भौतिक पूर्वाधार र अर्थमन्त्रीलाई आग्रह गर्दा समेत कतै सम्बोधन भएको देखिएन ।’

उनले ७५३ वटा १ हजार ५ सय शय्या सम्मका अस्पताल निर्माण गर्न समेत बजेट नपुग्ने अवस्था देखिएकाले आयोजना समयमा नै सम्पन्न हुने अवस्था नभएको दाबी गरे । नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजना यो वर्ष सम्पन्न गर्ने भनिए पनि बजेटले सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् :