संसदीय छानबिन समितिको माग गरेर काँग्रेस फस्यो : योगेश भट्टराई

तातोखबर, काठमाडौँ / नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरी नेपाली काँग्रेस फसेको बताएका छन्।

नेपाली काँग्रेसले सो विषयलाई न्यायिक जाँचबुझ आयोग बनाएर सुनकाण्डमा जसरी छानबिन गर्ने माग गरेको भए उपयुक्त हुने भट्टराईको जिकिर थियो । मंगलवार संघीय संसद् भवन परिसरमा सचिव भट्टराईले सञ्चारकर्मीहरूमाझ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको निष्कर्ष कसरी निकालेको भनेर पनि काँग्रेसलाई प्रश्न गरे ।

Advertisement:

अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा त्यस्तै कुनै पनि निकायले छानबिन नगरी गृहमन्त्रीमाथि दोषी करार काँग्रेसले गर्न नमिल्ने उनको भनाइ थियो। सचिव भट्टराईले छानबिनका क्रममा पुष्टि भए उनी पनि कारबाहीको भागीदार हुने पनि बताए ।

सचिव भट्टराईले भने, ‘संसदीय समिति बनाउने कुरामा राजनीतिक दलहरूबीच सहमति छ। केही दिनअघि प्रधानमन्त्री निवासमा नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रवि लामिछाने सहित बसेर संसदीय समिति बनाएर अघि बढौँ भन्ने सहमति भएको छ । अब त्यो समितिको कार्यादेशबारे छलफल चलिराखेको छ । एकाध शब्द नमिलेको हो। २, ३ दिनमा त्यो पनि मिल्छ। नेपाली काँग्रेस यो संसदीय समितिको माग राखेर फस्यो भन्ने मलाई लाग्छ। संसदीय समितिसँग त्यस्तो पोख्त जनशक्ति पनि हुँदैन। त्यस्तो प्रविधि पनि छैन ।’

उनले संसदमा काँग्रेसले असंसदीय आचरण प्रदर्शन गरिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस् :