स्वास्थ्य बिमा कार्यक्रमका लागि ३० अर्ब बजेट छुट्याउन माग

Health-Insurance-swasthye-bima

तातोखबर, काठमाडौँ / सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रमका लागि आव ०८१/८२मा बजेट बढाउन स्वास्थ्य बिमा बोर्डले माग गरेको छ ।

बोर्डले ३० अर्ब बजेट छुट्याउन सरकार समक्ष माग गरेको हो ।

Advertisement:Health-Insurance-swasthye-bima

चालू आवका लागि गत वर्ष बोर्डले २० अर्बको सिलिङ राख्न भने पनि स्वास्थ्य बिमा कार्यक्रमका लागि सरकारले चालू आवमा जम्मा साढे ७ अर्ब रकममात्र छुट्याएको थियो तर अन्य आम्दानी अपेक्षाकृत बढ्न नसक्दा सूचीकृत अस्पतालहरूलाई सेवाबापतको रकम शोधभर्ना गर्न बोर्डलाई हम्मेहम्मे परेको छ।

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सरकारबाट प्राप्त हुने अनुदान, स्वास्थ्य बिमामा आबद्ध लक्षित वर्गको प्रिमियम रकम, स्वास्थ्य बिमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार सरकारी सेवामा आबद्ध संगठित क्षेत्रका नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्दा हुने आम्दानी र आगामी आवमा ५० प्रतिशत घरपरिवारलाई स्वास्थ्य बिमामा आबद्ध गर्दा आम्दानी हुने प्रिमियम रकम समेतलाई जोडेर समयसापेक्ष बजेट छुट्याउन आग्रह गरिएको हो ।

‘बिमाको दायरा बढ्दै गएको छ जसअनुसार यसबाट सेवा लिने बिमितको संख्या पनि बढ्दै गएको छ भने अर्कोतर्फ लक्षित वर्गलाई हामीले नै बिमा गरिदिएर सेवा सुविधा पनि दिनुपर्ने अवस्था छ यस्तो अवस्थामा बजेट बढाउनुर्छ’‚ बोर्डका निर्देशक डा. बसौलाले भने।

सरकारको नीतिअनुरूप स्वास्थ्य बिमा बोर्डले लक्षित वर्गका (गरिब, अपांगता भएकाहरू) जस्ता व्यक्तिलाई निःशुल्क रूपमा स्वास्थ्य बिमा गर्दै आएको छ। त्यसरी आबद्ध गर्दा आवश्यक पर्ने रकम सरकारले बिमा बोर्डलाई तिर्ने दायित्व हुन्छ तर सरकारले पछिल्ला ३ वर्षदेखि लक्षित वर्गको बिमा शुल्कबापतको करिब ९ अर्ब रुपैयाँ बोर्डलाई शोधभर्ना गरेको छैन।

बोर्डले चालू आवको १० महिनामा बिमामार्फतको सेवा दिन सूचीकृत भएका अस्पतालहरूलाई साढे १० अर्ब रकम भुक्तानी गरेको जनाएको छ। अब छिटै करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्ने तयारी गरेको डा. बसौलाले बताए।

उनले यो रकमसहित भुक्तानी गर्दा पुससम्मको रकम शोधभर्ना हुने जानकारी दिए।  हाल स्वास्थ्य बिमा कार्यक्रम ७५३ वटै पालिकामा पुगेको अवस्था छ। यसपटक काठमाडौँ महानगर, ललितपुर महानगरलगायत ठूलो जनघनत्व भएका स्थानीय तहमा समेत शुरु भएकाले बिमितको संख्या ह्वात्तै बढ्ने बोर्डको अनुमान छ।

सरकारले भर्खरै ल्याएको आगामी आवको नीति तथा कार्यक्रममा सरकारी तथा गैरसरकारी गरी सबै संगठित क्षेत्रलाई बिमामा आबद्ध गरिने उल्लेख छ। यसबाट पनि थप दायित्व सिर्जना हुने निश्चित छ। यसले गर्दा पनि स्वास्थ्य बिमातर्फको सेवाका लागि बजेट बढाउनुपर्ने  डा. बसौलाले बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application