एमाले नेतृत्वमा मधेश प्रदेश सरकार बन्न सक्छ : सरोजकुमार यादव

तातोखबर, काठमाडौँ / नेकपा एमाले मधेश प्रदेशसभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेश सरकारमा एमाले नेतृत्वले सरकार बनाउन सक्ने सङ्केत गरेका छन् ।
आइतवार मधेश प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट नेकपा एमाले बाहिरिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै नेता यादवले एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताएका हुन्।
सरकार गठनका लागि अन्य राजनीतिक दलहरुसँग परामर्श गर्ने उनले बताए। आफूहरुले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उनले बताए ।
‘माथिल्लो समीकरण आजबाट जसपा नेपालले समर्थन फिर्ता लिने संकेत गरेकोले उसले संकेत गरिसकेपछि हामी पनि यहाँ किन बसिराख्ने भनेर हो। माथिल्लो गठबन्धनमा उहाँहरु नबसेपछि यहाँ हामी उहाँहरुको गठबन्धनमा बस्नुपर्छ भन्ने जरुरी ठानेनौँ‚’ उनले भने‚ ‘बाँकी राजनीतिक दलहरुसँग परामर्श गर्छौं। नयाँ सरकार निर्माणको निम्ति गणपूरक संख्या हामीलाई पुगे हामीले सरकार निर्माण गर्ने हो‚ पुगेन भने यो सरकारको निरन्तरता चलिरहन्छ।’
उनले आफूहरुले दुई पटक अरुलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रो पटक भने आफूहरुकै नेतृत्वमा सरकार बन्न सक्ने बताए ।
‘मधेश प्रदेशसभामा एमाले सबैभन्दा ठूलो राजनीतिक दल भएको कारणले गर्दा दुईचोटी हामीले अरुलाई सहयोग गर्यौँ। तेस्रो चोटी एमालेले आफ्नै नेतृत्वमा बनाउन सक्ने सम्भावना छ‚’ उनले भने।
उनले संघीय गठबन्धनबाट जसपा नेपाल बाहिरिने संकेत गरेपछि आफूहरुले प्रदेश सरकारमा जसपा नेपाललाई समर्थन दिइराख्न उचित नठानेको पनि बताए । उनले अबको प्रदेश सरकार संघीय गठबन्धनअनुरुप हुने बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस