संघीय संसद्को बजेट अधिवेशन आजबाट, सहकारी प्रकरण उठाएर कांग्रेसले अवरोध गर्ने

तातोखबर, बैशाख २८ / संघीय संसद्को बजेट अधिवेशन आज (शुक्रबार)बाट शुरु हुँदैछ। दुवै सदनको बैठक अपराह्न २ बजेका लागि बोलाइएको छ।

यसअघि मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। उक्त बैठकले प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची तयार पार्नेछ ।

Advertisement:

संसद्को पछिल्लो अधिववेशनमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानका कारण प्रभावित बनेको संघीय संसद् यसपटक पनि त्यस्तै हुन सक्ने आँकलन गरिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै पछिल्लो अधिववेशन अवरुद्ध गरेको थियो ।

संसद्को अघिल्लो अधिवेशनको अन्त्यतिर पनि उसले यही माग राख्दै सदन अवरोध गरेर बैठक प्रभावित पारेको  थियो। यद्यपि शुक्रबार बिहान बस्ने संसदीय दलको बैठकले स‌ंसदमा कसरी प्रस्तुत हुने भन्ने तय गर्ने कांगेसले जनाएको छ ।

बिहीबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्ष विहिन टुंगिएको थियो । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल आआफ्ना अडान नछोड्ने बताएपछि बैठक निष्कर्षविहीन बनेको हो।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरू यस पटक पनि संसदीय छानबिन समिति बनाउनुपउर्ने माग उठाउने दोहोर्‍याएका थिए ।

सत्तारूढ नेकपा एमाले लगायतका दलहरू संसदीय छानबिन समिति बनाउन सकारात्मक छैनन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति बनाउन आवश्यक नरहेको प्रतिक्रिया दिएका थिए । संसद्लाई सहजरूपमा चल्न दिनुपर्ने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् :