विपन्नलाई खाद्यान्न तथा जेहन्दारलाई छात्रवृत्ति प्रदान

bipanna pariwar

धनकुटा / धनशोभा राई स्मृति सेवाकेन्द्र धनकुटाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । जेहन्दार विद्यार्थीलाई केन्द्रले छात्रवृत्ति समेत प्रदान गरेको छ ।

धनशोभा राईको दशौँ स्मृति दिवसका अवसरमा विपन्न परिवारका असहाय, एकल महिला, दलित, फरक क्षमता भएकालाई चामल, दाल, तेल, चिनी, चियापत्ती, मसला, नुन लगायतका खाद्य सामग्री सहयोग गरेको हो। राहत पाउनेमा धनकुटा नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ८ का २१ जना रहेका छन्।

Advertisement:bipanna pariwar

यसैगरी धनकुटाको त्रिवेणी मावि, गोकुण्डेश्वर मावि र गोकुण्डेश्वर बालमन्दिर माविका ४ जना जेहेन्दार विद्यार्थीलाई जनही एक हजार ५ सय रुपैयाँका दरले धनशोभा राई स्मृति जेहेन्दार छात्रवृत्ति वितरण गरिएको छ।

२०७१ सालमा धनशोभा राईको स्मृतिमा उनका परिवारले स्थापना गरेको ७ लाख ३० हजारको अक्षयकोषबाट हरेक वर्ष हुन आउने ब्याजबाट विपन्नलाई खाद्यान्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिदै आएको संरक्षक विष्णुमाया कन्दङ्वाले बताइन्। सो खाद्यान्न तथा छात्रवृत्ति वितरण हरेक वर्ष मातातिर्थ औँसीका दिन गरिँदै आएको उनको भनाइ छ।

धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले सबैको मनमा यस्तो प्रकारको सेवा भाव भए देश विकासमा टेवा पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस् :