प्रधानमन्त्री प्रचण्ड दक्षिण कोरियाको भ्रमणमा जाने

prachand-visit-south-korea

तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने तयारी गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई  नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ विस्तार गर्ने कुरामा छलफल भएको पनि बताए।

Advertisement:prachand-visit-south-korea

सोही समयमा दक्षिण कोरियाका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको बताए।

उनले दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका खेल्ने बताए।

उनले भने, ‘कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति निकै धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेका छौँ। मेरो केही समय पहिला राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपतिसँग पनि छलफल भएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने, सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरा पनि भएको छ। राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ। सकेसम्म त्यो निमन्त्रणालाई स्वीकारेर कोरिया जाने तयारी पनि हामी गर्न खोज्दैछौँ ।’

प्रधानमन्त्री दाहालले कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताए।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application