प्रचण्डको निर्देशन विपरीत कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

rajkumar-sharma-karnali-pradesh

तातोखबर, काठमाडौं / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री शर्माले विश्वासको मतका  लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ। सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पनि कर्णालीमा माओवादीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएसँगै सरकार गठनमा जटिलता उत्पन्न भएको छ।

Advertisement:rajkumar-sharma-karnali-pradesh

वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको हो। माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रणसिंह परियारले केन्द्रको सहमतिविपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

मुख्यमन्त्री शर्माले हिजै विश्वासको मत लिने भनेर बोलाएको बैठक आज दिउँसोसम्मका लागि सारिएको छ । प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई सत्ता हस्तान्तरणका लागि सोमबार नै निर्देशन दिए पनि माओवादी नेताहरु केन्द्रको हस्तक्षेप नमान्ने अडानमा छन्।

केन्द्रको सहमति अनुसार कर्णालीमा एमालेलाई सत्ता हस्तान्तरण गर्नुपर्ने माओवादीले दोहोरो चरित्र देखाएको भन्दै एमाले नेताहरुले असन्तुष्टि पोखेका छन्।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन्। चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ।

यस्तै गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन्।

मुख्यमन्त्री पाण्डेले अहिले राजीनामा दिने र अल्पमतको सरकार बनाएर कम्तीमा महिना दिन सत्तामै रहने कांग्रेस सांसदलाई जानकारी गराएका हुन् ।

कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले तत्काल विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति नरहे मार्गप्रश्स्त गरेर जानु उत्तम विकल्प भएको बताएका थिए।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए भने माओवादीले २३ गते समर्थन फिर्ता लिएको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पाण्डेले २२ गतेभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत लिनु दुई दिनअघि प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ।

त्यसअनुसार मुख्यमन्त्री पाण्डेले मंगलबार दिउँसोम्म विश्वासको मत लिने जानकारी दिन प्रदेशसभालाई दिनुपर्ने थियो। तर विश्वासको मत प्राप्त गर्ने स्थिति नरहेकाले आज मुख्यमन्त्रीबाट राजीनामा दिने उनको तयारी छ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई मुख्यमन्त्री पाण्डेले राजीनामा दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नेछन्।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२ र माओवादीका ७ (सभामुख बाहेक) सांसदले मात्र गठबन्धनको सरकार नबन्ने कांग्रेसको विश्लेषण छ ।

२ सांसद भएको राप्रपाको समर्थन पाएमा एमाले–माओवादी गठबन्धनले सहजै सरकार बनाउन सक्छ। एमाले र माओवादीले त्यसका लागि पहल पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application