कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने, गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै

Pradesh-Sarkar-karnali-gandaki

तातोखबर / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने तयारी गर्दै छन्।  मुख्यमन्त्री शर्माले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि २२ फागुनमा तत्कालीन सत्ता साझेदार कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। संसद् सचिवालयले  आज  दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको छ।

Advertisement:Pradesh-Sarkar-karnali-gandaki

तर केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको छ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए। तर, मुख्यमन्त्री शर्माले केन्द्रको निर्णय ढिला आएको र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने जवाफ दिएको सरकारका प्रवक्ता कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।

केन्द्रीको निर्णय अनुसार राजीनामा दिनुपर्ने मुख्यमन्त्री शर्माले राजीनामा नदिएर प्रदेश सभाको कार्यसूची अनुसार नै विश्वासको मत लिने मन्त्री जिसीले बताए। केन्द्रको निर्णय अनुसार अघि बढ्ने नै भए पनि विश्वासको मत लिइसकेपछि मात्रै अघि बढ्ने मन्त्री जिसीले बताए।

संवैधानिक प्रक्रिया अवलम्बन गरेर अघि बढिसकेपछि केन्द्रले हस्तक्षेप गर्दा प्रदेशको स्वायत्तता माथि हनन् हुने जिसीले तर्क गरे।

पछिल्लो समय माओवादीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिच दुरी बढ्दै गएको र कर्णालीबाट शर्माले प्रचण्डलाई नै चुनौती दिन खोजेको माओवादी (केन्द्र)का नेताहरू बताउँछन्। माओवादीले नेतृत्व गरिरहेको कर्णालीमा एमालेले मुख्यमन्त्री दाबी गरेपछि माओवादीभित्रै मतभेद रहेको छ।  ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसदको आवश्यकता पर्छ।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।

यता गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले राजीनामा दिने तयारी गरेका छन्। राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ मुख्यमन्त्री पाण्डेले पोखरामा उपलब्ध सांसदहरुसँग छलफल राखेका छन्।

गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले संविधानअनुसार २२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्छ र प्रदेश सभा नियमावलीअनुसार आज आज दिउँसोसम्ममा विश्वासको मत लिने भए संसद सचिवालयमा सूचना पठाइसक्नुपर्छ।

तर, मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिन लागेको स्रोतले जनाएको छ ।

गण्डकी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मुख्यमन्त्रीको राजीनामाको हल्ला भएपनि अहिलेसम्म त्यस्तो कुनै निर्णय प्रदेश प्रमुख कार्यालयमा नआएको बताएका छन् ।

सरकारको अबको बाटोबारे छलफल गर्ने उपलब्ध सांसदलाई डाकिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।  गण्डकीमा निर्णायक देखिएको राप्रपाले २७ गतेको आन्दोलन अघि कुनै पनि सरकारलाई समर्थन नदिने अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देनले नै बताइरहेका छन्।

अहिलेको समीकरण अनुसार एमाले र माओवादी मिलेरमात्र सरकार बन्ने स्थिति नहुँदा गठबन्धनलाई दबाब उत्तिकै छ। एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसदले मात्र ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्ने स्थिति छैन। त्यसका लागि राप्रपा निर्णायक देखिएको हो।

२७ सांसदसहित गण्डकीको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस त झनै सत्ता संकट सजिलै टार्नसक्ने स्थितिमा छैन।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application