सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको : सांसद गौतम

तातोखबर, काठमाडौं / नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएकी हुन् ।

उनले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताइन् ।

Advertisement:

उनले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालय पनि आफैँ भएर प्रश्तुत भएका पनि बताइन् । सांसद गौतमले गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको बताइन् ।

उनले सत्ता गठबन्धनका नेताहरु सहयात्री दलका नेतालाई गुमाउनुपर्छ कि भनेर त्रासमा रहेका बताइन्। सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उनको भनाइ छ।

उनले भनिन्, ‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीज्यूलाई गुमाउनुपर्छ कि भन्ने बडो मानसिक पीडामा सरकार रहेको देखियो। त्रसित भएको देखियो। सत्ता साझेदार दलका नेताहरु एउटा व्यक्तिलाई बचाउनु नै आफ्नो धर्म हो भन्ने ठानेझैँ सतिसालझैँ उभिनुभयो। हामी बुझ्दछौँ, सरकार टिकाउनुपर्ने अवस्था छ। सरकारभित्रका बाध्यता होलान्। तर सरकारका मुखिया र गठबन्धनका नेताहरुको कुरा सुन्दा लाग्छ, उहाँहरु सबै आइ एम द स्टेट भन्ने तथ्यमा पुग्नुभएको छ। उहाँहरु कार्यकारी पनि आफैँ हुनुहुन्छ। न्यायालय पनि आफैँ हुनुहुन्छ। वादी, प्रतिवादी दुवै आफँै हुनुहुन्छ। अनि फैसला पनि सुनाउनुहुन्छ। आफ्नो अनुकुलमा उहाँहरुले आफ्नो फैसला सुनाउनुहुन्छ। सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरुलाई घर न घाटको बनाउने सहकारी ठगहरुको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्यत भएको देखिन्छ।’

उनले सहकारी समस्या छानविनका लागि संसदीय समिति बनाउनुपर्ने बताइन्। संसदीय समिति बनाउने प्रतिपक्ष दल कांग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरुलाई उनको आग्रह छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application