चाउचाउमा खैरो र कालो धब्बा, चौधरी ग्रुपलाई २ लाख जरिवाना

chauchau-waiwai

तातोखबर, काठमाडौँ / काठमाडौँ महानगरपालिकाले बजार अनुगमन गर्दा गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

गुणस्तरहीन चाउचाउ भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो। बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको हो।

Advertisement:chauchau-waiwai

महानगरपालिकाको वडा नं. ६ स्थित सरस्वतीनगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको थियो। २०८० सालको चैतमा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने ब्याच नं. AL/YL 23 का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो। यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो। ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको हो।

प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले कमसल तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए।

नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, ‘खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए।’

रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजी KOH/G Oil देखिएको छ। यसको भ्यालु १ एमजी KOH/G Oil भन्दा बढी हुनु हुँदैन।

खाद्य प्राविधिक बस्नेतका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो। यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए।

चाउचाउको विक्रीसँग सम्बन्धित एस.के. इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै यस ब्याच नम्बरबाट बजारमा वितरित चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिबद्धता पत्र पठाएको छ। यस्ता गुणस्तरहीन खाद्य वस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी.जी. फूड नेपाल हुने पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् :