नेकपा एमालेको हीरक महोत्सव : प्रचण्ड र देउवालाई निम्तो

तातोखबर, काठमाडौँ / नेकपा एमालेले मनाउन लागेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको हीरक महोत्सवमा विशेष वक्ताका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्त्याएको छ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा गरेको अवसर पारेर आयोजना हुने सो महोत्सवमा प्रचण्ड र देउवा विशेष वक्ता रहने जानकारी दिएको हो।

Advertisement:

गोदावरीको सनराइज हलमा आयोजना हुने सो विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री देउवा विशेष अतिथिका रुपमा सहभागी हुने एमालेका महासचिव शंकर पोखरेलले बताए।

सो समारोहमा एमालेले भने पार्टीका तर्फबाट नेपालको कम्युनिष्ट आन्दोलनको ७५ वर्षको विभिन्न आरोहअवरोह समावेश गरिएको भिडियो डकुमेन्ट्री प्रस्तुत गर्नेछ।

महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भसहितको पार्टीको भावी कार्यक्रमबारे पनि एमालेले सो विशेष समारोहमा आफ्नो दृष्टिकोणहरु राख्ने बताए। एमालेले सोही हलमा वैशाख ८ र ९ गते (भोलि र पर्सी) पार्टीका महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बोलाएको छ।

‘१० गते हामी पार्टी स्थापनाको ७५ औँ वर्षलाई हामी हीरक महोत्सवको रुपमा आयोजना गरिराखेका छौँ। १० गते पार्टी स्थापनाको दिन जसलाई हामी हीरक महोत्सवको अन्तिम दिनको रुपमा विशेष समारोहको रुपमा आयोजना गर्दै छौँ‚’ महासचिव पोखरेलले भने, ‘समारोहमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी दलका नेता शेरबहादुर देउवाजीलाई विशेष वक्ताको रुपमा आमन्त्रित गरेका छौँ।’

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधि सहभागी हुनेछन्। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application