नागढुंगा-सिस्ने खोला सुरुङमार्गको ‘ब्रेक थ्रु’

Nagdhunga-break-through-tunnel

तातोखबर, काठमाडौं /  नागढुंगा-सिस्ने खोला सुरुङमार्गको आज  ‘ब्रेक थ्रु’ हुने भएको छ।

दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा सुरुङ मार्गको ब्रेक थ्रु हुन लागेकाे हाे। आज ब्रेक थ्रु भएपनि सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जानकारी दिएको छ ।

Advertisement:Nagdhunga-break-through-tunnel

सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुग्न सकिने छ । सुरुङ निर्माण आयोजनाका उप-आयोजना निर्देशक गोविन्द दुमरुका अनुसार काठमाडौंको बलम्बुबाट साढे आठ किमि दूरी रहेको सिस्ने खोलासम्मको यात्रामा छोट्टिएर २ दशमलव ६८८ किमिमा सिमित हुनेछ।

फागुनमै यसको ‘ब्रेक थ्रु’ गर्ने भनिएको भए पनि स्थानीयको अवरोधले रोकिएको थियो। मुख्य सुरुङ २ दशलमव ६८८ किमि र आपत्कालीन सुरुङको दूरी २ दशलमव ५५७ किमि छ ।

आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले फिनिसिङ भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ, पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारे । जसले सुरुङ खन्ने काम अघि बढ्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच नौ बुँदे सहमतिपछि चैत ६ देखि निर्माण सुरु भएको थियो।

ब्रेक थ्रुपछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ फ्लाइओभर निर्माण धमाधम भइरहेको छ। स्थानीयले अवरोध गर्दा यो खण्डको काम पनि ठप्प बनेको थियो । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन्।

बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २ दशमलव ३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ। धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ । ‘फ्लाइओभर निर्माण र बलम्बुबाट सुरुङसम्म पुग्ने सडक कालोपत्रको काम धमाधम भइरहेको दुमरुले बताए ।

सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य नागढुंगा उकालोमा हुने ट्राफिक जामको व्यवस्थापन नै रहेको उनको भनाइ छ।

मुख्य सुरुङमा दुई लेनको सडक हुनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन् । तर पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् ।

सीसीक्यामराबाट सुरुङमार्गको निगरानी गरिनेछ। त्यसका लागि काठमाडौंतर्फ प्राविधिक बस्नेछ। सुरुङमार्गमा सवारीसाधन चलाएबापत टोल शुल्क लिनेबारे चर्चा भइरहे पनि यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ।

यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ। २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application