एमालेको सचिवालय बैठक बस्दै, मोर्चामा सहभागी गराउन प्रचण्डको प्रयास

uml-sachiwalaya-meeting

तातोखबर, काठमाडौं / सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एमालेले जनाएको छ। पछिल्लो समय समाजवादी मोर्चामा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयासमा एमाले सकारात्मक देखिएको र त्यस बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन्।

Advertisement:uml-sachiwalaya-meeting

यद्यपि अध्यक्ष केपी शर्मा ओलीले भने वाम एकतालाई जोड दिने र समाजवादी मोर्चामा सहभागी नहुने बताउँदै आएका छन्। उनले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा आफू मोर्चामा सहभागी नहुने बताएका थिए।

माओवादीले भने एमाले सहभागी नभए पनि समाजवादी मोर्चा अघि बढ्ने बताउँछ। माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले एमालेलाई पनि सहभागी गराउने प्रयास भइरहेको र एमाले नआए पनि मोर्चा अघि बढ्ने बताइन्।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव संयोजक रहेको मोर्चामा एमालेलाई सहभागी गराउन चन्दले बिहीबार ओलीसँग उनकै निवास बालकोट पुगेर २ घण्टा छलफल गरेका थिए।

त्यसको भोलिपल्ट अर्थात् शुक्रबार मोर्चाको बैठक बसेर एमाले सकारात्मक रहेको र एमालेलाई मोर्चामा सहभागी गराउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।

गत असार ४ गते कांग्रेस सम्मिलित गठबन्धन सरकार भएका बेला माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चा गठन गरिएको थियो।

गत फागुन २१ मा  सत्ता गठबन्धन बदलिएपछि मोर्चाको औचित्यमाथि प्रश्न उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् :