लेखपानीमा छैन खानेपानी, न बन्यो गतिलो सडक

मन्जिता मैनाली

हेटौंडा–उपमहानगरबासीको परिचय बोकर हिँड्ने हेटौंडा–१९ लेखपानीका स्थानीयले भोग्दै आएको दुर्गमता भने कहालीलाग्दो छ । पूर्वपश्चिम राजमार्गको हेटौंडा–१९ लेवटबाट करिब ३०–४० मिनेटमा मोटरसाइकल या अटोमा पुग्न सकिने लेखपानीले वर्षौँदेखि अभाव बोकेर बाँचिरहेको छ ।
अत्यन्तै कच्ची र अप्ठ्यारो सडक यात्रापछि पुगिने लेखपानीमा न त खानेपानीको सुविधा छ न ५ कक्षाभन्दा बढी पढ्ने विद्यालय नै छ । पाँच कक्षासम्म पढाई हुने विद्यालयको अवस्था पनि गतिलो छैन । कोही बिरामी परिहाले लामो दुरी पैदल हिँडेर स्वास्थ्यचौकी पुग्नुपर्छ । हेटौंडाका ठूला अस्पतालसम्म बिरामी ल्याउन परे खराब सडकका कारण एम्बुलेन्ससमेत गाउँमा पुग्दैन । हिउँदमा तीन पाङ्ग्रे सवारी या मोटरसाइकलमार्फत बजार आउजाउ गरेता पनि वर्षायाममा सडक भत्किँदा कुनै सवारी गाउँ पुग्न मुस्किल हुन्छ ।
पानीको स्रोत नभएको कारण लेखपानीमा वर्षायाममा बाहेक अरुबेला कुुनै हरियो तरकारी देख्न पाइँदैन । कोदो र मकै बाहेक अरु केही फल्दैन । पानी नभएकै कारण त्यहाका स्थानीय आकाशबाट आउने पानीको पर्खाइमा बसेका हुन्छन् । अन्न उब्जाउ राम्रोसँग नहुने कारण स्थानीयलाई वर्ष भरी खानकै लागि पनि समस्या पर्ने गरेको छ ।
खानेपानी लिनकै लागि लामो बाटो हिँडेर कुवा, इनार सम्म पुगेर निकै दुःखले पानीको व्यवस्था गर्नु पर्ने अवस्था छ । चैत बैशाखमा मुहान सुक्दा त झनै समस्यामा पर्ने गरेको स्थानीयहरु गुनासो गर्छन् ।

Advertisement:

चुनावको समयमा नेताहरु गाउँमा आई खानेपानी, सडकलगायतको काम गर्ने बाचा गरेर गएता पनि चुनाव जितेपछि फर्केर पनि नआएको स्थानीय विरमान सिंह भ्लोन गुनासो गर्छन् । गाउँलेहरु समस्या लिएर जनप्रतिनिधिलाई भेट्न गएता पनि कुनै चासो नदिने गरेको भ्लोनको गुनासो छ । ‘हामी गाउँलेको दुःख पीडा कसैले देखेनन्, जुन जोगी आए पनि कानै चिरेको भनेको जस्तो, कसैले पनि हाम्रा लागि केही गरेनन् ।’ स्थानीय सानुमाया तामाङले गुनासो गरिन् । भोट माग्न आउँदा धेरै आश देखाएता पनि आफूहरुले खानेपानीको सुविधासमेत नपाएको उनको भनाइ छ ।
पानी नभएको कारण उब्जाउ भएको अन्नले वर्षभरी खान पुग्दैन । पानीको अभाव कै कारण कुनै हरियो तरकारी फलाउन सक्ने अवस्था छैन । लेखपानीको समस्या समाधानका विषयमा वडा तहबाट भएको पहलको विषयमा हेटौंडा १९ नम्बर वडाध्यक्ष नरनाथ सुवेदीसँग कुराकानी गर्दा उनले निकै रुखो र गैरजिम्मेवार जवाफ फर्काए । ‘हाम्रो वडामा थुप्रै ठाउँमा त्यस्तो समस्या छ सबै समस्या समाधान गर्न कसरी सकिन्छ ?’ अध्यक्ष सुवेदीले झर्कँदै भने । स्थानीयले गरेको गुनासो बारे बुझ्न खोज्दा अध्यक्ष सुवेदीले निकै रुखो बोलीमा मैले गर्ने गरेको छु जेजे लेख्न मन लाग्छ लेख्नुस भन्दै रिसाए । उनले समग्र गाउँको समस्याका विषय सुन्नै चाहेनन् ।
लेखपानीमा यसवर्ष प्रदेश सरकारबाट खानेपानी आयोजनाको लागि १० लाख रुपैयाँ विनियोजन भई काम सुरु भएता पनि त्यो बजेट अपुग भएकाले काम सम्पन्न हुन नसक्ने बताइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सव इन्जिनियर राजन सापकोटाले लेखपानीको लागि प्रदेश सरकारबाट ०८०/८१ को लागि १० लाख विनियोजन भएको र सो बजेटले त्यहाँको काम पूर्ण हुन नसक्ने बताए । त्यस बजेटले पुग्नेसम्म काम गर्ने र बाँकी कामको लागि थप बजेट आवश्यक हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस् :