अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० को तयारी पूरा

काठमाडौं, १० फागुन / विगतका वर्षहरुमा झैं यस वर्ष पनि नेपालमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको तयारी पूरा भएको छ । यस वर्ष १२ औं श्रृङ्खलाको रुपमा ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना गर्न लागिएको हो ।

‘र्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नाराका साथ एभरेस्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जनाकारी दियो । एभरेष्ट कल्चर ग्रुपले दिएको जानकारीअनुसार मेला फाल्गुन १८ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँ, दाङ, पोखरा र ललितपुरमा आयोजना हुने उक्त मेला फागुन १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुने एभरेस्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताएका छन् ।

Advertisement:

अध्यक्ष कोईरालाले बताएअनुसार ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्न लागिएको र ती स्थलहरुमा यस्ता कार्यक्रमहरु आयोजना गर्दा नेपालको ऐतिहासिक धरोहरहरुको संरक्षण र संबद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास गरिएको छ । अध्यक्ष कोइरालाले भने, ‘यसबाट देशको विविध सांस्कृतिक, पुरातात्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने अपेक्षा गरिएको छ ।’

अस्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका र नेपाल लगायत राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३ सय ५० भन्दा बढी कलाकारहरूले उक्त मेलामा भाग लिने जानकारी दिदै आयोजक समूहका अध्यक्ष आरसी कोईरालाले भने, ‘नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरू रहँदै आएको सर्व विदितै छ । नेपाली संस्कृतिप्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित हुनु पर्यटन प्रवर्द्धनका दृष्टिकोणले राम्रै मान्न सकिन्छ ।’

उनले आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृतिप्रति स्वयं नेपाली उदासीन हुनु दुःख लाग्दो पक्ष भएको बताए । वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको युवा पिँढीलाई पनि यस तर्फ आकर्षित गर्न यस्तो मेला महत्त्वपूर्ण हुने आयोजकको भनाई रहेको छ ।

२०५८ सालदेखि प्रत्येक २ वर्षमा नियमित आयोजना हुँदै आएको यो मेला सुरुवातदेखि एघारौँ संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढी देशका ८हजार ५ सयभन्दा बढी कलाकारहरूले घर आँगनमा आ–आफ्नो देशको मौलिकता झल्कने झाँकी सहित विविध लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी रहेको छ । नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रबद्र्धनको आफ्नो अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application