भिडियोमा राजुले श्रीमतीको कारण मारेर आफू मर्न बाध्य भएको बताए

raju-Ishowari-suside-case

काठमाडौं । सोलुखुम्बुको दुधकोसी गाउँपालिकाका ५१ वर्षीय राजु घिमिरे भन्ने काजी विश्वकर्माले श्रीमतीसहित तीनजनाको हत्या गरेर आफूले आत्महत्या गरेका छन् ।

हाल काठमाडौंको सीतापाइलामा घर भाडामा बस्दै आएका विश्वकर्माले बुधबार बिहान श्रीमती, छोरी र नातिनीको हत्या गरेका हुन् । श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ भनिने प्रेमकुमारी श्रेष्ठ, आठ वर्षीया छोरी अनिसा र साढे दुई वर्षीया नातिनी सिबनाको उनले हत्या गरेका थिए ।

Advertisement:raju-Ishowari-suside-case

हत्यालगत्तै राजु आफूले समेत घटनास्थलबाट साढे तीन किलोमिटर पर जंगलको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । राजुसहित चारजनाकै शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए अनुसार राजुले श्रीमतीसँगको आन्तरिक विवादका कारण सामूहिक हत्या गरेर आत्महत्या गरेको खुलेको बताए ।

प्रहरीको अनुसन्धानले उनका १५ वर्षीय छोरा अनिस श्रेष्ठलाई बचाउनका लागि पसल पठाएको खुलाएको छ ।

हत्यालगत्तै बाहिर निस्कन खोज्दा राजु र पसल पठाएका छोरा अनिसको भेट कोठाको ढोकामै भएको थियो । आमासहित तीनजनाको हत्या गरेको भन्दै अनिसकै मोबाइलमा भिडियो रेकर्ड गर्न राजुले लगाएका थिए । अनिसको मोबाइलबाट प्रहरीले उक्त भिडियो समेत फेला पारेको छ ।

काठमाडौं प्रहरीका एसएसपी खत्रीले घटनाको थप अनुसन्धान जारी रहेको बताए ।  प्रहरी स्रोतका अनुसार उक्त भिडियोमा राजुले श्रीमती ईश्वरीका कारण मारेर आफू मर्न बाध्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् :