समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने: प्रदीप ज्ञवाली



pradip-gyawali-uml-tato-khabar-tatokhabar

तातोखबर, पाल्पा / नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताएका छन्।

एमाले पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उनले भने, ‘कि अपडेट हुन सक्नुपर्छ। कि आउटडेटेड हुनुपर्छ।’

पुरानो सोचका आधारमा नेता बन्न सक्ने अवस्था नरहेको उनले बताए। मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले रहेको भन्दै पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्ने उनले बताए।

‘पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ। यिनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेका छन्। अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेका छन्’, उनले थपे ‘व्यक्ति समयअनुसार परिवर्तन हुनुपर्छ। आधुनिकतासँगै घुलमिल हुने क्षमता वृद्धि गर्नेतर्फ लाग्नुपर्छ। समय सापेक्ष बन्न नसके अब जनताले विश्वास गर्दैनन्।’

अब एमाले पार्टीको नेतृत्व गर्न वा कुनै पनि निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न पार्टीले परीक्षा लिने उनले बताए।

‘उर्तीण नभए टिकट पाउँदैन। आधारभूत पाठ्यक्रम निर्माण गरेर आवश्यकताअनुसार परीक्षा लिइनेछ। स्थानीय तहका लागि आधारभूत, प्रदेशका लागि माध्यमिक र केन्द्रीयका लागि उच्च माविस्तरको परीक्षा सञ्चालन हुनेछ। नेतालाई स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालन गर्ने क्षमता अभिवृद्धिका लागि पार्टीले अहिले प्रशिक्षण सञ्चालन गरिरहेको छ। पार्टीले आगामी दिनमा पाठ्यक्रम निर्माण गरेर नियमित परीक्षा लिने योजना रहेको छ’, उनले भने, ‘आफूले राजनीति के का लागि गरेको हो? कसका लागि गरेको हो? निर्वाचित भएपछि जनता, समाज, राष्ट्रका लागि के गर्न सक्छु? भन्ने कुनै योजना निर्माण गर्न नसक्ने व्यक्तिले पार्टीको हितमा काम गर्न सक्दैन। विगतमा कार्यकर्ता भेला गरेर भाषण मात्रै गर्ने चलन थियो। अहिले आफ्नो योजनाबारे जनतालाई स्पष्ट पार्न सक्नुपर्छ।’

तीन दिनसम्म कक्षा नै सञ्चालन गरेर पार्टीको नीति, सिद्धान्त, विचार, सरकारमा नेतृत्व लिएपछि के गर्दा जनता, राष्ट्र र राष्ट्रियताको हितमा काम गर्न सकिन्छ? भन्नेबारे स्थानीय तहका नेतालाई समेत पढाउने काम भइरहेको उपमहासचिव ज्ञवालीले बताए।

विभिन्न व्यक्ति र समाजमा ठूलो परिर्वतन आएको छ। त्यसैले एमालेका सबै नेता, कार्यकर्ता समय परिस्थितिअनुसार सक्षम बन्नुपर्ने उनले सुझाव दिए।

फरक पार्टी, भिन्न भिन्न धारबाट एमाले पार्टीमा आएकाहरू नेता तथा कार्यकर्तामा एकरुपता ल्याउन समेत प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने उनले बताए। यो अभियानले पार्टी अझै स्पातिलो भएर अगाडि बढ्ने ज्ञवालीले दाबी गरे।

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण तालिममा जिल्लाका करिब सय बढी नेताको सहभागिता रहेको छ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव ज्ञवाली, सचिव पद्मा अर्याल, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सहजीकरण गर्ने छन्।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको

तातोखबर, काठमाडौं / दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज दुई खेल हुँदैछन्। बिहान साढे ११ बजेदेखि