हेटौंडा–१४ का चेपाङ दम्पती भन्छन्ः भोकको भन्दा सन्तानको जन्मदर्ताको पिरलो भयो
मन्जिता मैनाली
हेटौंडा–आफ्नो वास्तविक उमेर पनि बताउन नसक्ने हेटौंडा– १४ कि दिलमाया प्रजाको जेठी छोरी २२ वर्षकी भइन् । १ छोरीसहित २ वटा छोराहरु पनि १६ वर्ष कटिसकेका छन् । उनीहरुले विद्यालय भर्नासमेत गरेनन् । दुइछाक टार्नसमेत मुस्किल पर्ने न्यूनवर्गीय चेपाङ परिवारलाई अहिले भोकको चिन्ता भन्दा पनि सन्तानको जन्मदर्ता र नागरिकताको पिरलो छ ।
७ वटा सन्तानका बाबुआमा दिलमाया र शंकर एक वर्षअघिदेखि छोराछोरीको जन्मदर्ता र नागरिकता कसरी बनाउन सकिन्छ भनेर भौतारिइरहेका छन् । हुर्केका छोराछोरी बाहिर काम खोज्न जाँदा नागरिकता अनिवार्य चाहिने भन्ने थाहा पाएपछि चेपाङ दम्पतीले नागरिकता बनाउने प्रक्रिया सुरु गरे तर, ती दम्पतिको बिहे दर्ता नै नभएकाले समस्या त्यहिँबाट सुरु भयो । बिहे दर्ता गर्न खोज्दा दिलमायाको माइतीपट्टीको कसैको पहिचान नहुँदा न उनको जन्मदर्ता र नागरिकता बन्यो, न नागरिकता नभई बिहे दर्ता बन्ने भयो । आफ्नो माइती गाउँ हेटौंडा–१५ को रातोमाटे बताउने दिलमाया उमेर नपुग्दै बिहे गरेर नयाँबस्ती आएकी हुन् ।
उनको बुवा आफू सानै हुँदा बेपत्ता भएको र आमाले दोस्रो बिवाह गरेको कारण माइती पट्टीबाट बुबाआमाको नागरिकता ल्याउन समस्या भएको उनको भनाइ छ । आफ्नो भाइले भने नागरिकता बनाएको भन्ने सुनेकी दिलमायालाई भाइको नागरिकताबाट पनि आफ्नो नागरिकता बन्नसक्छ कि भन्ने अनुमान चाहिँ छ, तर कसैबाट उचित सल्लाह पाएकी छैनन् । ‘बुबाआमा नभए पनि मेरो भाइको नागरिकता चाहिँ बनेको छ भन्ने सुनेको छु, तर, भाइको नागरिकता देखाएर मेरो पनि बन्थ्यो कि, त्यो बारे चाहिँ सोधखोज गरेको छैन । अब बुझ्न पर्ला ।’ उनले भनिन् –‘नागरिकता बनाउन जन्मदर्ता बनाउन पर्छ भन्ने कुरा नै थाहा थिएन, अहिले छोराछोरी ठुलो भए बाहिर काम गर्छु भनेर निस्किएपछि जन्मदर्ता र नागरिकता चाहियो भनेपछि बनाउन पर्यो भनी वडा जाँदा वडाबाट आमाको बने पछि मात्र सन्तानको बनाउन मिल्ने भने ।’
सम्पत्तिको नाममा जनता आवास कार्यक्रमअन्तर्गत सरकारले बनाएको घरबाहेक उनीहरुसँग केही छैन । घाँस र दाउरा बेचेर बिहान बेलुकाको छाक टार्ने गरेको उनीहरु सुनाउँछन् । जन्मदर्ता नभए पछि स्कुल गइरहेका छोराछोरी पनि जन्मदर्ता नहुँदा बिद्यालय पठाउन पनि समस्या पर्छ भनेर विद्यालयबाट खबर आएको उनले सुनाइन् ।
दिलमायाको श्रीमान ४७ वर्षीय शंकर प्रजाको भने नागरिकता छ । शंकरको नागरिकता भएता पनि छोराछोरीको जन्मदर्ता गर्न बिहे दर्ता अनिवार्य हुने भएपछि उनीहरु समस्यामा परेका हुन् । बिहे दर्ता गर्न दिलमायाको नागरिकता र नागरिकता बनाउन जन्मदर्ता अनिवार्य हुने नै भयो ।
न्युन वर्गीय चेपाङ परिवारलाई कसरी छाक टार्ने भन्ने समस्याका बीचमा छोराछोरीका जन्मदर्ता र नागरिकताको पिरलो थपिएपछि उनीहरु अताल्लिएका छन् । ‘हामी दुइजना नै दाउरा घाँस गर्छौँ, बेच्छाँै दुइभारी दाउरा घाँस बेचेर छोराछोरीलाई लाउनखान दिनै मुस्किल छ, कपी लकलम किन्न त झनै मुस्किल पर्छ ।’ शंकरले भने–‘पेट भर्ने पीरसँगै भुराहरुको नागरिकताको पीर पनि थपिएको छ ।’ शंकरले ५ धुर जग्गामा दुई कोठाको घर बनाएका छन् । घरभित्र न त अन्नको दाना छ, न त आवश्यकता अनुसारको भाँडाकुँडा, लत्ताकपडा ओढ्ने ओछ्याउने नै छ । चामल राख्ने भाँडो देखाउँदै शंकर भन्छन् ‘छैन हजुर अन्न भाडो रित्तै छ । काम गर्न नसकेको दिन कसैले उधारो दिएन भने भोकै भइन्छ ।’ शौचालय समेत बनाउन नसकेको कारण उनीहरु बोराले बारेर घर पछाडि नजिकै खुल्ला शौचालय गर्न बाध्य छन् ।
आफ्नो नागरिकता भएर पनि छोराछोरीको नागरिकता बनाउन नपाउदा छोराछोरी अनाथ सडकबाटै उठाएर ल्याएको जस्तो भएको शंकर गुनासो गर्छन् । १४ नम्बर वडा स्थित नयाँबस्तीमा प्रजा समुदायको बाहुल्यता बढी छ र पिछडिएका र अशिक्षित पनि धेरै छन् । त्यहाँका बालबालिका विद्यालय भन्दा बढी बगरमा बालुवा चाल्ने र ट्याक्टर चलाउनेमा बढी रमाउने गरेको पाइन्छ । दिलमाया र शंकरको समस्याको विषयमा हेटौंडा–१४ नम्बर वडा अध्यक्ष दीपक खड्कासँग टेलिफोन कुराकानी गर्दा अस्पष्ट जवाफ दिए । स्पष्ट रुपमा कुरा नबुझी उनले फोन काटिदिए । पछि सम्पर्क हुन सकेन ।
हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालिका विकास महाशाखा निर्देशक विष्णु कुमारी लामिछानेले आमाको जन्मदर्ता नहुँदा, विवाह दर्ता नभएको र त्यस्तो अवस्थामा सन्तानको नागरिकता सहज तरिकाले बन्न गाह्रो हुने बताउँदै सम्बन्धित वडा सहजकर्तासँग समन्वय गरी जन्मदर्ता बनाउन पहल गर्ने प्रतिवद्धता जनाइन् ।