मकवानपुरमा नयाँ राहदानी लिनेको संख्या बढ्दै

मन्जिता मैनाली

हेटौंडा–रोजगारीका लागि विदेशिनेको संख्या दिनानुदिन बढ्दो छ । वैदेशिक भ्रमण या रोजगारीमा कति धेरैको आकर्षण छ भन्ने कुरा राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा लाइन लागेकाहरुबाटै अनुमान लगाउन सकिन्छ ।
चालु आर्थिक वर्षको ६ महिनामा मात्रै जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट १७ हजार १ सय ९७ ले राहदानी बनाएका छन् । जसमध्ये ६ हजार २ सय ५७ जना त नयाँ राहदानीकर्ता हुन् । जसमध्ये कुल राहदानी लिनेमध्ये नाबालकको संख्या १ सय ३२, नवीकरण गराउनेको संख्या १ हजार ४ सय २० र हराएको/बिग्रेको राहदानी बनाउनेको संख्या ८ सय ४५ रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । विशेष गरी वैदेशिक रोजगारीमा जान चाहनेका कारण राहदानी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दैनिक लामो लाइन देखिन्छ ।
वैदेशिक यात्राको लागि राहदानी बनाउनेको संख्या बढेसँगै राजस्व संकलनमा पनि वृद्धि भएको देखिन्छ । तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महिनामा राहदानी बनाउने क्रममा ८ करोड ५९ लाख ८५ हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा विनोद अर्यालले जानकारी दिए ।
आर्थिक वर्ष ०७९/८० को तथ्यांक अनुसार मकवानपुरमा २३ हजार ३ सय ८३ जनाले राहदानी बनाएका छन् । जसमध्ये ९ हजार ५ सय ७० महिला र १२ हजार ३० जना पुरुष रहेका छन् । गत आर्थिक वर्षमा राहदानी बनाउने क्रममा १२ करोड ३४ लाख ७३ हजार ७ सय राजस्व संकलन भएको छ । दुवै आर्थिक वर्षको तथ्यांक हेर्दा विदेशिने पुरुषको संख्या महिलाको तुलनामा बढी पाइन्छ ।
विदेशिनेको संख्यामा वृद्धि भएसंगै वैदेशिक रोजगारीमा जानेहरु ठगिमा पर्ने , अंगभंग हुने, मृत्यु हुने र अलपत्र पर्नेको संख्यामा पनि उत्तिकै वृद्धि हुँदै गएको छ । श्रम स्वकृति नलिई वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको कारण पनि धेरै समस्या आउने गरेको सरोकारवालाहरुको भनाइ छ ।
आर्थिक अवस्था कमजोर भएको कारण घरपरिवार पाल्न नसकी अन्तिम उपायको रुपमा वैदेशिक यात्रा चयन गरेको राहदानी बनाउन आउनेहरु गुनासो गर्छन् । नेपालमा युवाहरुलाइ उचित रोजगारीको व्यवस्था समेत नेपाल सरकारले गर्न नसकेको पछिल्लो समय गुनासोहरु आइरहेका छन् ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईंको भनाइ अनुसार राहदानी बनाउनेमा केही रहरले विदेशिने र धेरैजसो बनाएर राख्नका लागि मात्र पनि राहदानी बनाउने भएको कारण राहदानी बनाउनेको संख्या वृद्धि हुँदै गएको छ । कतिपयलाई आफूले इच्छा लागेको ठाउँमा बस्न पाउने भएको कारण पनि विदेशिने गर्छन् भने कतिपय नेपालमा भन्दा राम्रो रोजगारी आम्दानीका लागि पनि वैदेशिक यात्रा तय गर्ने गरेको पाइन्छ ।
नेपालीहरु विदेश पुगेपछि उच्च देखि तल्लो तह सम्मकै सबै काम गर्न तयार हुने र आफ्नो देशमा कृषि पेशा गर्न पनि कतिपय नरुचाउने भएको कारण पनि धेरैजसो विदेशिने गरेको उनको भनाइ छ । आम्दानीको हिसाबमा पनि विदेशमै राम्रो आम्दानी हुन्छ भन्ने विश्वासले पनि धेरै जसोले नेपालमै केही गर्ने प्रयास नै नगरी विदेशिने गरेको उनको बुझाइ छ ।
कतिपय मानिस आफ्नो स्थानमा काम गर्दा तल परिन्छ भन्ने सोचका कारण जे गरेनी विदेशमै गर्छु भनी पनि वैदेशिक यात्रा तय गर्ने गरेको उनको बुझाइ छ । नेपालबाट श्रम स्वकृति लिएर वैदेशिक रोजगार मा जानेको संख्या ७१ लाख नाघिसकेको छ भने हाल दैनिक सरदर २ हजार २ सय जना वैदेशिक रोजगारमा जाने गरेका छन् । प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application